महानगर भन्छ : विद्यालय तहमै केही न केही सिप सिक्ने छन्

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले सरकारी विद्यालयका विद्यार्थीहरूलाई पढाइसँगै अब सिपमूलक तालिम दिने भएको छ। महानगरपालिकाका अनुसार कक्षा ९ मा ९० घण्टाको छोटो अवधिको सिपमूलक तालिम १० वटा मोड्युलमा सञ्चालन हुनेछ।

काठमाडौं महानगरपालिकाले यही तालिम सञ्चालनका लागि हाल कक्षा ८ मा अध्ययनरत छात्रछात्राहरू कुन–कुन मोड्युलको सिप हासिल गर्न इच्छुक छन् भनी आज (बिहीबार) महानगरभित्रका सबै सरकारी विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर छलफल पनि गरेको छ।

सिपमूलक तालिमको लागि एक समूहमा ३० जना विद्यार्थी रहने महानगरपालिकाले जनाएको छ। 

यी हुन १० मोड्युलका नाम

महानगरपालिकाको शिक्षा विभागका अनुसार एग्रिकल्चर एण्ड अर्बन फार्मिङ, ब्युटिसियन एण्ड हेयर स्टायल, कार्पेन्ट्री एण्ड उड कार्भिङ, कुलिनरी आर्टस, फेशन डिजाइन एण्ड क्लोथिङ कन्स्ट्रक्सनमा तालिम दिइनेछ।

त्यस्तै, हाउस वायरिङ एण्ड इलेक्ट्रिकल, इन्डिजिनियस एण्ड कन्टेम्पोररी मेसोनोरी (डिजास्टर रेडिनेस), मोबाइल एण्ड इलेक्ट्रोनिक्स, प्लम्बिङ र आर्ट एण्ड स्कप्चर मोड्युलमा तालिम दिइनेछ।

महानगर भन्छ : केही न केही विद्यालय तहमै सिप जान्ने छन्

काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी विद्यालय तहमै विद्यार्थीहरू पढाइसँगै सिप पनि सिकुन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँछन्।

अहिलेको शिक्षण सिकाइ व्यावहारिक छैन भन्ने जुन आम मानसिकतामा बसेको छ र विज्ञहरूले पनि घोक्ने पाठ्यक्रम होइन, गरिखान सक्ने विद्यार्थी बनाऔँ : विज्ञ ‍भनिरहेका छन्। त्यसैले आम बुझाइ परिवर्तन गर्न महानगरपालिकाले तालिमको व्यवस्था गर्न लागेको उनको भनाइ छ।

‘पढेर, लेखेर मात्रै ज्ञान हासिल गर्नु ठूलो कुरा होइन, त्यसलाई कसरी प्रयोगात्मक, व्यावहारिक रूपमा उपयोग र जान्नुपर्ने हो यो आवश्यक छ। घोकन्ते शिक्षाभन्दा पनि अब सिपमूलक शिक्षा आवश्यक छ, त्यसैले विद्यालय तहमै केही न केही सिप जानेर पछि आफैँ विद्यार्थीहरू आत्मनिर्भर बन्न सकोस् भन्ने हाम्रो उद्देश्य छ,’ उनले भने। 

पछिल्लो समय उच्च शिक्षासँगै रोजगारीका लागि विदेशिने विद्यार्थीहरूको संख्या उल्लेख्य छ। त्यसैले अब विद्यालय तहमा विभिन्न सिपमूलक तालिम लिएर विदेश जानेमा यही रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।

उनका अनुसार यो तालिम आगामी नयाँ शैक्षिक सत्र २०८० बाट विद्यालय तहमा सिप सिकाइनेछ।

‘महानगरपालिकाले पहिलो पटक पढाउने समयमा अलिक समय छुट्याएर सिपमूलक तालिम दिने भन्ने हाम्रो योजना छ, महानगरका मेयर बालेन शाहज्युको पनि यही सपना थियो,’ उनले भने, ‘हेरौँ अब यो कत्तिको प्रभावकारी हुन्छ।’

यी तालिम सञ्चालन भएपछि महानगरपालिकाबाट निरन्तर अनुगमन र विद्यार्थीहरूकाे क्षमताप्रति जानकारी लिइराख्ने उनको भनाइ छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति ल्याएको थियो।

‘माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सिपसहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सिपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरूलाई प्रविधिमैत्री सिप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदानप्रदानका कार्यक्रम सञ्चालन गरिनेछ।’ 

त्यस्तै, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गर्ने महानगरपालिकाको योजना छ।

सरकारी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि महानगरपालिका शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने पनि महानगरपालिकाको योजना छ।

महानगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने नीति पनि लिएको थियो। महानगरपालिकाका शिक्षा विभागका प्रमुख सुवेदीले ०७७ सालबाटै पाठ्यक्रम तयार गरि सरकारी विद्यालयहरूमा वितरण गरेर पढाइ भइरहेको जानकारी दिए।

आर्थिक सर्वेक्षण ०७८/७९ अनुसार देशभर २६ हजार ४ सय ५४ सरकारी विद्यालय छन्। महानगरपालिकाभित्र भने ८९ वटा सरकारी विद्यालय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.