काठमाडौं : मातृभाषा साहित्य प्रतिष्ठानले नेपाल भाषी साहित्यकार अपर्णा प्रधानलाई सम्मानित गरेको छ।
अन्तरराष्ट्रिय मातृभाषा दिवस २०२३ को अवसरमा प्रतिष्ठानले काठमाडौंमा आयोजित समारोहमा नेपाल भाषामा विभिन्न विधाका २९ वटा पुस्तक लेखेर भाषा उत्थानमा सेवा गरेकोमा उनको सम्मान गरेको हो। हास्य कलाकार मदनकृष्ण श्रेष्ठले साहित्यकार प्रधानलाई २५ हजार नगदसहित सम्मानपत्र अर्पण गरे।
हास्य कलाकार श्रेष्ठले मातृभाषामा प्रधानले गरेको सेवाको बयान गर्न नसकिने भन्दै महिलालाई आफूले जहिले पनि पूजा गर्ने बताए। मातृभाषा आफैंमा आमा भएकोले आमालाई सम्मान अर्पण गर्न पाउँदा खुशीले गदगद भएको उनले उल्लेख गरे।
मातृभाषा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुलोचना मानन्धर धितालले राज्यले बेवास्ता गरेका मातृभाषी साहित्यकारहरू ओझेल परिरहेको अवस्थामा संस्थाले सम्मानका शब्दमात्रै अर्पण गर्न पाउँदा पनि गर्वले छाती फुलेको बताइन्।
स्वास्थ्यमा आएको गम्भीर समस्याका कारण ६ महिनासम्म कोमामा पुगेकी साहित्यकार प्रधानले दोस्रो जीवन प्राप्त गरेपछि लगातार नेपाल भाषामा साहित्यका विभिन्न विधामा पुस्तक लेखेकी छन्।
हाल ७६ वर्षमा हिँडिरहेकी प्रधानले कविता, कथा, उपन्यास, समालोचनालगायत विभिन्न विधामा कलम चलाएकी छन्। उनले आफूले भोगेका जीवनसंघर्ष, महिलामाथि हुने सामाजिक विभेद, नेपाली समाजमा रहेका भेदभावलगायत विविध विषयमा पुस्तक लेखेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।