|

ललितपुर : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी क्लबहरूले उत्कृष्ट सुरुवात गरेका छन्।

आइतबार सबै १४ वटै क्लबले आ–आफ्ना पहिलो खेल खेलिसक्दा नवप्रवेशी क्लबहरू पुराना र विभागीय क्लबमाथि हाबी देखीएका छन्। पहिलो चरणका खेलहरु सकिँदा जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र खुमलटार युथ क्लबले पहिलो खेलमा विजय सुरुवात गरेका छन्। अरु दुई खेल भने बराबरीमा सकिएको छ।

लिगमा सहभागी ललितपुरका ६ क्लबमध्ये भर्खरै मात्र ए डिभिजनमा बढुवा भएर आएका खुमलटार र चर्च ब्वाइजले पहिलो खेलमा शतप्रतिशत नतिजा निकाले। सातदोबाटो पनि अघिल्लो संस्करणदेखी मात्र ए डिभिजनमा पुगेको हो। अघिल्लो साता सम्पन्न केपीओली कपमा उपविजेता बनेको सातदोबाटो गत संस्करणको लिगमा चौथो भएको टोली हो। जारी लिगको पहिलो खेलमा विभागीय टोली एपीएफ विजेता बन्दा अर्को खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।

त्रिभुवन आर्मी क्लबले भने बराबरी खेल्दै अंक बाँढेको छ। जावलाखेल , सातदोबाटो , एपीएफ, चर्च ब्वाइज र खुमलटारले ३–३ अंक बटुल्दा त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले एक एक अंक बटुलेका छन्। सातदोबाटोका दीपक राज ठकुरी  प्रतियोगितामा एक खेल सकिँदा २ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

आइतबार 
ए डिभिजन लिगमा आइतबार ३ वटा खेल भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको छ। जावलाखेलको जितमा हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक एक गोल गरे। यस्तै, मछिन्द्रका लागि एक मात्र गोल देवेन्द्र तामाङले गरे। सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मछिन्द्रले हार्न बाध्य भयो।  

आइतबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले गोलरहित बराबरी खेले। यसैगरी आइतबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हरायो। सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे भने  एनआरटीका निकोलस सङले एक गोल फर्काए। प्रतियोगितामा एक खेल सकिँदा दीपक २ गोल गर्ने पहिलो खेलाडी बने। 

शनिबार 
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरीमा रोकियो। प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता खेलको १४ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले लियो। खेलको ८५ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए। 

शनिबार नै दशरथ रंगशालामा विभागीय टोली एपीएफ क्लबले ललितपुरे क्लब थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हरायो। ३ पटकको च्यम्पियन थ्रिस्टारलाई हराउन एपीएफका मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे।

यस्तै, शनिबारै च्यासल मैदानमा भएको खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै नवप्रवेशी टिम पनि कम छैनन् भन्ने उदाहरण प्रस्तुत गर्‍यो। चर्च ब्वाइजको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे भने पुलिसका रबि पासवानले एक गोल गरे। सुरुवाती अग्रता पुलिसले लिए पनि त्यसलाई जोगाउन सकेन। 

शुक्रबार 
शुक्रबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भर्खरै ए डिभिजनमा बढुवा भएको खुमलटारले कुपन्डोलको फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हरायो। खेलको अन्तिम समयसम्म पनि दुवै पक्षबाट गोल नभएर बराबरीमा जानै लाग्दा८९ औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउले निर्णायक गोल गरे। २०३२ देखि माथिल्लो डिभिजन लिग खेलिरहेको फ्रेण्ड्स अघिल्लो संस्करणमा भने रेलिगेसन जोगाउन संघर्ष गरिरहेको थियो। 

४६ औं संस्करणको यो ए डिभिजन लिगमा कुल १८२ खेल हुनेछ। लिग विजेताले ७५ लाख  जित्दा उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख नगद  पाउने छन्। प्रतियोगितामा फेयर प्ले टोलीले ३ लाख पाउने छ। यसैगरी प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने खेल बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

यसैगरी लिगका हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकले २ लाख तथा उदीयमान इमर्जिङ खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.