|

धनुषा  : मिथिला परिक्रमाअन्तर्गतश्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन्।

१५ दिने परिक्रमा फागुन प्रतिपदामा सुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने प्रक्रियलाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

परिक्रमाका क्रममा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ। परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत विहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ। भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बाँस बस्ने र अन्य दिन झै भक्तिभावमा लीन हुने चलन छ। प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ।

गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ। मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो। मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाट समेत श्रद्धालु आउने गर्छन्। मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ। उक्त ठाउँमा भगवान् शंकर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ। पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ। उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानका रूपमा प्रख्यात छ।

यहाँबाट ध्रुवको तपोभूमि ध्रुवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ। उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गंगाको सङ्गमस्थल रहेको छ। इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो। कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ। यो स्थान पाँच पर्वतको संगमस्थल रहेको छ। पर्वताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकुल अवसर प्राप्त हुन्छ।

दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन्। यो स्थल सप्तऋषिको तपोभूमि रहेको बताइन्छ। त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ। यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ।

चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुन्छ। 

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो। हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्त्व रहेको इतिहासविद् बताउँछन्। परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ। प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ। यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ। वैदिक कालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको पण्डित लालबाबु झाले बताए।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुन्छ।  नेपाल र भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन्। परिक्रमामा सहभागी यात्रीहरुले नेपालका एक सय सात  एवं भारतको २६ गरी १३३ किलोमिटर पैदलयात्रा तय गर्छन्। यो परिक्रमा मेलामा सहभागि  भएमा पापबाट मुक्ति पाउने, रोगव्याधि निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने विश्वास छ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ। मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ।

यही विश्वासका कारण हजारौँ श्रद्धालु मिथिला क्षेत्रका यात्रामा सामेल हुन्छन्। ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गर्छन्।

परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द भएकोमा वि.सं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरित्रमा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.