काठमाडौं : कहिलेकाहीँ मन थिरमा रहँदैन। कहाँ जाउँ र कसो गरौं भन्ने पनि लाग्छ। जीवनमा यस्ता किसिमका भाव आउनु स्वाभाविक हो।
यस्तो वेलामा मन भुलाउने र रमाउने मान्छेका आफ्नै तरिका छन्, तपाईँका मेरा अरु कसैका। मान्छे आफ्ना बानीबाट परिचित छ। उसले कहिलेकाहीँ अरूको बानीबारे पनि जिज्ञासा राख्छ।
कतिपय मान्छेहरू न्युजमा, युट्यूबमा आउने मजेदार कमेन्ट पढेर मजा लिन्छन्। ती कमेन्ट गर्नेहरू सिर्जनाशिलता बडो स्वादका हुन्छन्। गायक संगीतकार र एरेन्जर भुपू पाण्डेलाई एक दिन अनौपचारिक रूपमा सोधिहेरेँ, 'तपाईँले युट्युबमा राखेका आफ्ना गीतहरूमा आउने कमेन्ट पढ्ने गर्नु भएको छ?'
उनले फ्याट्ट भनिहाले, 'कहिलेकाहीँ दिक्क लाग्दा म तीनै कमेन्टहरू पढेर मन भुलाउँछु। दर्शकले दिने कमेन्टले ममा उर्जा भरिदिन्छ। केही नयाँ गरौँ न भन्ने उत्प्रेरणा पनि।'
अहिले चर्चामा रहेको गीत 'जाँदा जाँदा बन्दीपुर पुग्यो'मा भरत खालिङ राई नामका एक व्यक्तिले गीतको भिडियोलाई लिएर लेखेका छन्, 'सबै राम्रो छ, यो भिडियोमा बेला बेलामा देखिने जगल्टे मन परेन।'
पाण्डेलाई यो कमेन्ट देखाएपछि उनी आफ्नो ‘सिग्नेचर’ हाँसो हाँसे। 'छैन त कमेन्ट रसिलो?,पाण्डेले आँखा झिम्काए। तीनै 'जगल्टे' हुन् यो गीतका एरेन्जर। अर्थात् पाण्डे।
त्यो कोरोनाको समय थियो। पाण्डेको त्यसबेला 'छोटो छ जिन्दगी' हिट भइसकेको थियो। यस गीतको दृश्य खिच्ने योगेश दाहाल बस्थे काठमाडौंको रानीबारी।
कोरोनाले छरिएको जिन्दगी एउटा बन्द कोठामा थन्काएको थियो। कामहरू बन्द थिए। रेकर्डिङ बन्द थियो। सवारी आवतजावत पनि। बन्द कोठामा दाहाल एक्लै। उता अनामनगर पाण्डे पनि कोठे जिन्दगीले वाक्कदिक्क। मन भुलाउन पुग्थे दाहालको कोठा।
घरबेटी थिइन् नन्दा पन्त। बोलिरहनु पर्ने र हसिलो रसिलो बोली व्यवहार भएकी पन्तले नयाँ मान्छे देखेपछि परिचय सोधिन्। कामबारे पनि सोधिन्।
संगीतकार तथा गायक भएको थाहा पाएपछि मनको कुरा खोलिन्, 'मलाई पनि खुबै गीत गाउन मन छ। एकपटक लोकदोहोरी कार्यक्रम इन्द्रेणी लगिदिनु न बाबु।'
ती आमाको शब्दमा पाण्डेले सुदूर गाउँ दाङमा रहेकी आफ्नै आमाले बोल्ने भाषा भेटे, जसले आफ्नो छोरालाई आफ्ना रुचि र चाहना खुलस्त भनिदिन्छन्। पाण्डेले इन्द्रेणीमा लैजाने कुरा त गरेनन्। तर, ‘कस्ता कस्ता गीत गाउनुहुन्छ, सुनाउनुस्’ भने। पन्तले आफ्ना पालाका गीतहरू जुन मेलापात, घाँस दाउरा गर्दा गाइने गीतहरू एक सासमा सुनाइन्। ‘क्लासिकल जनरा’का पाण्डेले लोक जनराका यस्ता गीत केवल रेकर्डिङमा वा गाउँमा कहिलेकाही आमाले गाएको मात्र सुनेका थिए।
पन्तको स्वरमा पाण्डेले अर्गानिक टोन भेटे। गाउने तीव्र चाहना पनि। पाण्डेले मनमनै सोचे, 'आमाको स्वरमा कुनै गीत रेकर्ड पो गरिदिउँ कि क्या हो?'
पन्तले गाएका ती ७-८ वटा गीतमध्ये पाण्डेलाई यो गीत मन पर्यो :
सालको पात टिपेर पानी खाऊँ
यो नानीको कहाँ छ र जाने ठाउँ।
आकाशमा जूनको भाइ तारालाई
नबोलाऊ न मै कर्महारालाई।
करिमले छेउ लाएपछि त
हितको साथी बोल्दैन मसित।
पानी खाँदा सुपारी खस्यो
जान्नँ घर माइतैमा दिल बस्यो।
जे गरे नि पाइनँ नि जस
जाने मान्छे गइहाल नबस।
काटे खरु पलाउला बरु
तै नि मन पलाइन के गरूँ।
यो मनमा जतिको भा’होला
दिनमा लाग्ने सूर्जेलाई थाहा होला।
जाँदाजाँदै बन्दीपुर पुग्यो
रुँदारुँदै कलिलो जिउ सुक्यो।
यो गीत पन्तले संकलन गरेकी हुन्। यो मौलिक सिर्जना पन्तले गाउँमा मेलापात घाँस दाउरा गर्दा सुनेकी थिइन्। जसलाई टपक्क टिपेर पाण्डेको हातमा सुम्पिन्।
पहिले यो अलिक ‘स्लो मोसन’मा थियो। शब्दहरू पनि केही काँटछाँट भएका छन्। शब्द बोकेर हिँडेपछि यस गीतलाई कसरी अगाडि बढाउने भन्ने कुरामा पाण्डेलाई झकझकाइरह्यो। हरेक पटक दाहालको घरमा जाँदा पन्त भन्थिन्, 'अनि बाबु गीत तयार भएन?' पाण्डेले अनेक बहाना लगाइरहे। पन्तले सोध्न छोडिनन्। यता एरेन्जको काम हुँदै थियो र सन्तुष्ट हुने मेसो थिएन।
एकदिन पन्तले सुनाइन्। 'अब म अष्ट्रेलिया जानुपर्ने भयो, गीत रेकर्ड नहुने भयो।' पन्तको स्वरमा भावुकता मिसिएको पाण्डेले अनुभव गरे। त्यसपछि भने पाण्डेले गीतमा मिहिनेत गरे। एकदिन पाण्डेले पन्तलाई लिएर अनामनगरस्थित वेभ स्टुडियोमा पुगे। रहर हुँदैमा गीत गाइने कुरा थिएन। यसका लागि स्टुडियोमा म्युजिकसँग र माइकसँगको अनुभव चाहिन्थ्यो।
जुन कुराको अनुभव पन्तलाई थिएन। जति गर्दा पनि ट्र्याकमा उनको गीतको लय मिलेन। तर, पन्तको हिम्मतले भने घटेको थिएन। 'गीत गाउने उहाँको त्यो तीव्र इच्छाले मलाई साच्चै भावुक बनायो', पाण्डे भन्छन्। त्यसको केही दिन पछि पाण्डेले रेकर्डर बोकेर पन्तको निवास पुगे। अनि पन्तको स्वरमा गीत रेकर्ड गरे। 'पन्तको स्वरमा मैले कुनै सम्पादन गरेको छैन। किनभने उहाँको स्वरमा अर्गानिकपन मैले भेटेँ', पाण्डेले भने।
अहिले हरेक गीतमा भिडियो बनाउनु अति आवश्यक जस्तो बनिसकेको अवस्था छ। किनभने जमाना शब्द र स्वरको मात्र होइन दृश्यको पनि हो। त्यसपश्चात् पाण्डेले पन्तलाई भिडियोको लागि बोलाए। पन्तसँग कोरसमा गाउने रमेश कडरिया, श्याम ढकाल, नरेन्द्र वियोगी, भुवन खत्री, तिलस्मी खड्का र लक्ष्मी कार्कीले साथ दिए। अनि करिब पाँच घण्टाको समयमा उक्त भिडियो छायाङ्कन गरियो।
भिडियो छायाङ्कनको समय सम्झिँदै पाण्डे सुनाउँछन्, ‘उहाँले छायांकनको समयमा एकदमै उत्साहित बनेर नाच्नुभयो। उहाँको रहर पूरा जो हुँदै थियो।'
गीत रेकर्ड भएर बजारमा गएको केही दिनमा खासै उक्त गीतको चर्चा भएन। तर, विस्तारै विस्तारै उक्त गीत टिकटकमा हिट हुँदै गयो। गीत सुन्ने स्रोताले गीतलाई आफ्नो फेसबुकको भित्तामा सजाउन थाले।
हालसम्म उक्त गीतलाई २० लाख पटक हेरिएको छ। गीतमा आएका अधिकांश कमेन्ट पन्तको स्वर र नृत्यलाई खुबै मन पराएका छन्।
फरक फरक जनरामा गीत निकाल्ने विशेषता बोकेका पाण्डेले यस पटक भने लोक जनरामा गीत लिएर बजारमा आए। जहाँ उनी सफल देखिएका छन्। 'बुबा आमालाई पनि लोकगीत मन पर्ने तर, आफूले अहिलेसम्म बनाउन सकिरहेको थिइन्। यसपालि यो हिम्मत गरेँ', उनले भने, 'गीत चर्चामा आएर मात्र मलाई सन्तुष्टि मिलेको होइन। उमेरले ६७ वसन्त पार गरेकी पन्तको मात्र हैन, छोराले एउटा लोकगीत निकालोस् भन्ने आफ्नी आमाको चाहना पनि पूरा गर्न पाएको यो अवसरले पनि म सन्तुष्ट भएको हो।'
यो क्लिकको जमाना हो। यहाँ भ्युज धेरै भएपछि हिट भन्ने चलन छ। मान्छेले कुनै पनि गीत पूरा सुन्छ कि सुन्दैनन्? वा फिल गर्छन् कि गर्दैनन् सँग मतलब छैन। गीतमा आफूलाई कति डुबाउँछ भन्ने कुरा एकादेशको कहानी भइसक्यो। तर, गीतले बजार पाउँदा मनमा पनि बास पाओस् भन्ने सोच्छन् पाण्डे। 'मान्छेले गीत सुनेपछि लागोस् कि यो मेरो गीत हो। गीत बाँचोस् र त्यो गीतले सर्जक पनि बचाओस्। दर्शकलाई आफ्नोपनको महसुस गराउन आवश्यक छ', उनी सुनाउँछन्।
यसअघि पनि पाण्डेले निकालेको 'छोटो छ जिन्दगी' गीतले खुबै चर्चा पाएको थियो। उनी अब भने गाउँबेसीमा रहेका गीत जो बजारमा आइपुगेका छैनन्, त्यस्ता गीतको खोजीमा छन्। उनी अबको योजना सुनाउँछन्, 'अबको केही समयमा देशका विभिन्न भूगोलमा पुग्छु। जहाँ ऐतिहासिक तथा मौलिक गीतको अध्ययन र अनुसन्धान गरेर बजारमा ल्याउने कोशिश गर्दैछु।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।