|

जनकपुरधाम : पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा टोली सोमवार जनकपुरधाम आइपुगेर मंगलवार अन्तरगृह परिक्रमा भएसँगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ। योसँगै अब तराई मधेश र मिथिलामा आज र भोलि होली मनाइनेछ।

नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गर्दै आएको परिक्रमा टोली आज मंगलबार अन्तरगृह परिक्रमा गरेको हो।

परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहारका सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिकस्थलहरूको १०७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १३३ किलोमिटर दूरी पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालु जनकपुरधाम आउँछन्।

परिक्रमामा सहभागी साधुसन्त तथा भक्तजनहरू जनकपुरधाममा आइतबार विश्राम गरी आज बिहान नगरपरिक्रमा गरेको छ। जनकपुरधाममा हुने परिक्रमालाई अन्तगृह परिक्रमा भनिन्छ। १५ दिने परिक्रमामा सहभागी हुन नसेकाहरू पनि छोटो दूरीको अन्तरगृह परिक्रमामा सहभागिता जनाउँछन्। यसमा सहभागी हुनेले समेत सोही बराबरको फल पाउने जनविश्वास छ।

प्रारम्भमा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भगवान् सीताराम मिथिला बिहारीको डोला निस्किएको थियो। परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्।

परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विषौल र पुन: कल्याणेश्वर पुगेर पुन: जनकपुर फर्किएर फागूपूर्णिमाका दिन नगरको पाँचकोशे अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.