कुकुरले टोकेर जान्छन् दैनिक १५० भन्दा धेरै विरामी

|

काठमाडौँ : कुकुरले टोकेर मानिसको मृत्यु भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत वैशाखयता कुकुरले टोकेर अस्पताल आएका १८ जनाको मृत्यु भएको छ।

कुकुरले टोकेर समयमै रेबिजविरुद्धको खोप नलगाउँदा केही समयपछि रेबिज संक्रमणको लक्षण लिएर अस्पताल आएका १८ जनामा रेबिज पुष्टि भई उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार यसरी मृत्यु हुनेमा ११ जना महिला र सातजना पुरुष रहेका छन्।

‘कुकुरले टोकेपछि एक हप्तासम्म रेबिजविरुद्धको खोप नलगाउँदा त्यसपछि रेबिजको लक्षण लिएर इमर्जेन्सीमा आउनु हुन्छ। परीक्षण गर्दा रेबिज पुष्टि हुन्छ र केही समयमा मृत्यु हुन्छ। यो वर्ष मात्रै हाम्रोमा १७ जनाको मृत्यु भइसकेको छ’‚ भण्डारीले भने।

यसरी मृत्यु हुने धेरै उपत्यका बाहिरका रहेको समेत भण्डारीले बताए। ‘२० वर्षका युवादेखि ७८ वर्षका वृद्धसम्मको रेबिज संक्रमणले मृत्यु भएको छ’‚ भण्डारीले भने।​

रेबिजका विरामीलाई गम्भीर रूपमा लिइन्छ तर यो वर्ष अलि धेरै रेबिज संक्रमण देखिएको बिरामी आएको समेत भण्डारीले बताए। ‘रेबिज प्राणघातक रोग हो, यसको पुष्टि भएपछि विरामी बाँच्ने सम्भावना हुँदैन तर कुकुर तथा अन्य जनावरले तोकेको छ भने तत्काल रेबिजविरुद्धको खोप लगाउन सकियो भने पूर्ण ठिक हुन्छ।’

३ महिनामा ११ हजारभन्दा बढी कुकुरले टोकेका विरामी पुगे

यस्तै टेकु अस्पतालमा हाल कुकुरले टोकेर उपचारका लागि दैनिक आउने विरामीको संख्या बढ्दो छ। अस्पतालका अनुसार अहिले दैनिक १५० जना रेबिजविरुद्ध खोप लगाउन आउने गरेका छन्।

अस्पतालको तीन महिनाको विवरण हेर्ने हो भने पनि कुकुर तथा अन्य जनावरले टोकेर अस्पताल आउने विरामी ११ हजारभन्दा बढी रहेका छन्।

टेकु अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेका अनुसार गत मंसिरमा ८ हजार ४६८ जना कुकुरले टोकेर अस्पताल पुगेका थिए। तीमध्ये ३ हजार १५ जना कुकुरले टोकेका विरामी पुगेका थिए।

यसैगरी पुसमा ९ हजार ३०४ जनाले रेबिजविरुद्धको खोप लगाए। पुसमा मात्रै तीन हजार ८५१ जना नयाँ विरामी अस्पताल पुगेका थिए। जसअन्तर्गत मासु (आइएम)मा ७३२ जनाले खोप लगाए । छाला (आइडी) मा ८ हजार ५७२ जनाले खोप लगाए।

रेबिजविरुद्धको खोप आइडी चारपटक लगाउनुपर्छ। पुसमा रेबिज इमिनोग्लोबिन ५१८ जनालाई लगाइएको पाण्डेले बताए।

ओपीडी इन्चार्ज पाण्डेका अनुसार माघमा १० हजार ४४५ जना विरामी पुगेका थिए। माघमा चार हजार १३२ जना नयाँ विरामी अस्पताल पुगेका थिए। जसअन्तर्गत मासु (आइएम) मा ९२१ जनाले रेबिजविरुद्ध खोप लगाए।

छालामा(आइडी) ९ हजार ५२४ जनाले खोप लगाए। माघ महिनामा रेबिज इमिनोग्लोबिन खोप ५४६ जनाले लगाएको तथ्यांक छ। यसरी आउने धेरै विरामी काठमाडौं आसपासकै रहेका छन्।

टेकु अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेका अनुसार अब गर्मी बढेसँगै झन् धेरै विरामी आउने सम्भावना रहेको बताए। ‘अब गर्मी बढ्दै छ। यस्तो समयमा मानिसहरू घर बाहिर धेरै हिँड्छन्। यस्तो समयमा कुकुरले टोक्ने सम्भावना धेरै हुन्छ अनि विरामी बढ्छन्’‚ पाण्डेले भने।

यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने हुन्छ। तर मानिसहरूले कुकुरले टोकेको घाउ सानो भएको भन्दै मानिसहरू रेबिजविरुद्धको खोप नलाउँदा समस्या देखिने गरेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘कुकुरले टोकेको घाउ पनि सानो रहेको भन्दै मानिसहरू हेलचेक्राइँ गरेर बस्दा रेबिज संक्रमण भएर मृत्यु हुन्छ, रेबिजको लक्षण देखिएको एक हप्तामा मानिसको मृत्यु भइसक्छ। त्यसैले कुकुरको टोकाइबाट घाउ सानो भए पनि खोप लगाइ हाल्नुपर्छ’‚ डा. पुनले भने।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक सयजनाको रेबिजको कारण मृत्यु हुने गरेको छ। महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाका अनुसार नेपालमा वार्षिक १०० जनामा रेबिज संक्रमण देखिने बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल मंसिरदेखि रेबिजविरुद्ध दिइने एन्टीबडी सेवा सातै प्रदेशमा विस्तार गरिसकेको छ। कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन पाइने गर्छ।

त्यसैगरी बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने गरेको छ।

काठमाडौँ उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्थामार्फत रेबिजविरुद्धको इम्युनोग्लोबुलिन एन्टीबडी नि:शुल्क लिन सकिन्छ। काठमाडौँमा भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको छ।

के हो रेबिज?

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। प्राय: रेबिज कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट डराउने रोग वा हाइड्रोफोबिया पनि भनिन्छ। रेबिज रोग लागेको कुकुरको चटाइबाट मात्र पनि यो रोग सर्न सक्छ। रोगी जनावरको र्‍यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्छन् भनेर सन् १८०४ मा जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए।

चिकित्सकका अनुसार रेबिजका लक्षणहरू ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोच्ने पोल्नेजस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसा सुन्निने हुन्छ।

मान्छेको क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मृत्यु हुने सम्भावना रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.