दुई क्याम्पसमा सहमतिमै भागबण्डा

|

धनगढी : ​सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा आगामी चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ।

बुधबार सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका विभिन्न क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठन तथा स्वतन्त्र उम्मेदवारहरुले स्ववियु निर्वाचनमा सहभागी हुनका लागि मनोनयन दर्ता गरेका छन्।

तर, सुदूरपहाडसहित तराइका विभिन्न क्याम्पसहरुमा मनोनयन दर्ता भएर निर्वाचनको तीव्र तयारी भैरहँदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको छ।

क्याम्पसमा तालाबन्दी भएपछि निर्वाचन स्थगित बनेको हो। यस्तै विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित प्रदेशका ५ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको बताइएको छ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको थियो। तर महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी संगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता नभएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले जानकारी दिए।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण तालाबन्दी भएर मनोनयन दर्ता हुन नसकेको उनले बताए।

उनका अनुसार अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्नसक्ने छ। विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको उनको भनाई छ।

दुई क्याम्पसमा सहमतिमै भागबण्डा

अहिलेसम्म सुदूरपश्चिमका २ क्याम्पसमा स्ववियु निर्वाचनमा सहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको छ। दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा सहमतीका आधारमा पदाधिकारी र सदस्यका उम्मेदवारको टुंगो लगाइएको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दानेश्वर बहुमुखी क्याम्पसमा नेविसंघकी विमला जोशी र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नवीन विष्ट सर्वसम्मत उम्मेदवार बनेका छन्।

दानेश्वर क्याम्पसमा सभापति नेविसंघ, सचिव अनेरास्ववियु, कोषाध्यक्ष अखिल क्रान्तिकारी र सदस्यमा समाजवादीनिकट अनेरास्ववियू, राप्रपानिकट विद्यार्थीबिच सहमति भएको हो। 

सुदूरपश्चिम विश्वविद्यालयमातहतको गोकुलेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीका नवीनसिंह विष्ट सर्वसम्मत उम्मेदवार बनेका छन्। उक्त क्याम्पसमा क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघबीच सहमति भएको छ।

तर उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने दिन बाँकी रहेको छ। क्याम्पसले केही दिनमै उनीहरु निर्वाचित भएको औपचारिक घोषणा गरिने जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.