|

म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। 

गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।

आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ।

म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार दुई नम्बर क्याम्पमा पुगेको टोलीले अनुकुल मौसम भए अबको १५ दिनभित्र अन्नपूर्ण हिमालको आरोहण गर्ने छ।

‘अनुकुल मौसम भएमा अबको १५ दिनभित्र हिमाल आरोहण गर्न टोली सफल हुनेछ।’ पर्यटन व्यवसायी शेरचनले भने ‘अहिलेसम्म मौसम अनुकुल नै छ।’ 
हिमाल आरोहण गर्न राजकुमारी, पुर्जा र आरोहण टोलीसहितलाई एक हप्ताअघि दानावासीले बिदा गरेका थिए। अल्थानी इलाइट ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्।

राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालको आरोहण गरिसकेका छन्।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए। अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो।

कसरी आइपुगिन् कतारकी राजकुमारी?

कतारकी राजकुमारी आश्मा अल्थानी गत साता सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंबाट म्याग्दीको अन्नपूर्ण–३ दानामा आएकी थिइन्। आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।

राजकुमारी अल्थानीको यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंघा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छिन्। कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका थिए।

नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए। ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो।’

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए। ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने छ।

नारच्याङका अगुवाले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए। फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.