|

विराटनगर : पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको माग राख्दै आन्दोलन गरेपछि सांसदहरूको कार्यक्रम स्थगित भएको छ।

विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरसंवाद कार्यशालामा सहभागी हुन सांसदहरू आउने भएपछि पहिचानवादी पक्षधरले होटल घेराउ गरेर नाराजुलुस गरेपछि कार्यक्रम स्थगित भएको हो।

ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने उनीहरूको माग रहेको छ।

यूएनडिपीको आयोजनामा दुई दिनका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको नेपालइरिका होटलमा राखिएको थियो। त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटल बिगमा राखिएको हो। उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदलाई निमन्त्रणा गरिएको थियो।

कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू (लाजेहाङ)को गत १० गते मृत्यु भएको थियो। धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको उनको शव अझै उठ्न सकेको छैन।

गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’को रूपमा पारित भएको थियो। 

आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले १२ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेका छन्। घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.