कोशी प्रदेशको तीन लाख दिने निर्णयप्रति परिवार असन्तुष्ट

|

विराटनगर : ‘दाइ ढलेको दश दिन भयो, अझै लास घर ल्याउन सकेका छैनौँ।’ पदम लिम्बू (लाजेहाङ)की बहिनी पवित्रा लिम्बू लामो सास तान्दै सुनाउँछिन्। राज्यले सहिद घोषणा नगरेसम्म लिम्बूको लास नउठाउने परिवारको अडान छ।

लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा  लड्ने क्रममा देहत्याग गरेकाले दाइलाई राज्यका तर्फबाट सहिद घोषणा नगरेसम्म दाहसंस्कार नगर्ने उनी बताउँछिन्।

गत चैत ५ गते कोशी प्रदेश नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा पदम घाइते भएका थिए। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो।

घरको जेठा छोराको मृत्यु हुँदा परिवारको जिम्मेवारीको बलियो खम्बा ढले झैँ भएको छ। परिवारको रेखदेख, जिम्मेवारी सबै पदमको काँधमा रहेछ, उनको मृत्यु भएसँगै परिवारको जिम्मेवारी बहिनी पवित्राको काँधमा आएको छ।

आन्दोलनले एउटा योद्धा मात्रै गुमाएन, परिवारले एक्लो छोरा, चारजना चेलीले एक्लो माइती गुमाउन परेको पवित्रा सुनाउँछिन्।

‘कान्छी आमाका दुईजना मात्रै बहिनी हामी दुई दिदिबहिनी र दाइ मात्रै हो’, उनले भनिन्, ‘परिवारको जिम्मेवारी दाइको काँधमा थियो, अहिले म सम्हाल्दै छु, हामीले एक्लो माइती गुमाएका छौँ।’

दाइको लास घर ल्याउने सन्दर्भमा उनी आफ्नो दाइको कोशी खारेजी मागको आन्दोलनमा ज्यान गुमाएका कारण पार्टीको धारणा र राज्यको घोषणाले निर्धारित गर्ने उनी बताउँछिन्।

‘पहिचानका लागि दाइले आन्दोलनका क्रममा ज्यान गुमाएको हो। दाइको इच्छाको कुरा पनि रहन्छ र पार्टीको धारणा पनि आउनुपर्ने हुन्छ’, उनी सुनाउँछिन्, ‘राज्यले सहिद घोषणा नगर्दासम्म हामी उहाँको लास उठाउँदैनौँ।’

यतिका दिनसम्म एक्लो माइतीको लास शवगृहमा आइसमा राख्ने रहरभन्दा पनि बाध्यता रहेको बताउने उनी राज्यको सकारात्मक घोषणाको पर्खाइमा रहेको सुनाउँछिन्। उनको परिवारका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर रहेका मोरङ लालभित्तीका ४२ वर्षीय लिम्बू झण्डै दुई दशकदेखि यही पार्टीमा आबद्ध छन्।

‘दाइको  करिब २० वर्षको ऊर्जाशील उमेर र बचेको समय यही पार्टीमा लगानी भएको छ। उहाँको मृत्यु आन्दोलनकै क्रममा भयो रहर कसलाई हुन्छ एक्लो मइतीको लास घरको न घाटको बनाउने? उनले भनिन्, ‘पार्टीले हामी छौँ भनेका छन्, अब सरकारको सकारात्मक घोषणाको पर्खाइमा छौँ। त्यसपछि हाम्रो संस्कार, संस्कृति अनुसार सद्गत गर्छौँ।’

त्यसो त कोशी प्रदेश सरकारले लिम्बूको परिवालाई तीन लाख राहत दिने निर्णय गरेको पनि छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३ गते बसेको बैठकले तत्कालका लागि तीन लाख दिने घोषणा गरेको छ। तर प्रदेश सरकारको निर्णयप्रति उनको परिवारले असन्तुष्टि व्यक्त गरेका छन्।

उमेरले नेटो काटेको बुवाआमा हुर्किदै गरेको चेलीहरूलाई एक्लो बनाएर  पहिचानका लागि कहिल्यै नउठ्ने गरी ढल्दै गर्दा दाइको मूल्य तीन लाख मात्रै नभएको पवित्राले दुखेसो सुनाइन्।

दाइको वियोगले विक्षिप्त बनेकी उनी आफू सम्हालिदै र परिवारलाई समेट्दै घरीघरी राज्यप्रति आक्रोश व्यक्त गर्दै एकै सासमा भन्छिन्, ‘मेरो दाइ कुखुराको चल्ला हो र? दाइको तीन लाखको ज्यान हो? चल्लाको पनि बजारमा महँगो भाउ छ। दाइले त अधिकारको युद्धमा ज्यान गुमाएको हो।’

आफूहरू सरकारको निर्णयप्रति असहमति रहेको बताउँदै उनी कि दाइको ज्यान फिर्ता दिनुपर्‍यो या सहिद घोषणा गर्नुेपर्नेमा जोड दिन्छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.