|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१५ डुरुवाका मित्रलाल गिरीले डुरुवा-कोठरी जोड्ने हापुर खोलामा निर्माणाधीन पुल समयमा नबन्दा आफूहरूले धेरै सास्ती भोग्दै आएको बताए।

खोलामा पुल बनाउन लागेको ७ वर्ष हुँदा पनि अहिलेसम्म पुल नबन्नुमा राज्यको लापरबाही भएको बताए।

उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको पुल हो। शुरुमा यहाँ पुल बन्न लाग्दा हामी धेरै खुशी भएका थियौँ। ७ वर्षसम्म पुल निर्माण हुन नसक्दा यहाँका बासिन्दाले बर्खामा निकै सास्ती भोग्नुपर्छ। हाम्रो वडा कार्यालय कोठरीमा छ। बर्खामा पुल नहुँदा यहाँका बासिन्दा वडामा ज्यान जोखिममा पारेर जानुपर्ने बाध्यता छ।’

यस्तै उनले ३ वर्षमा बनिसक्ने पुल नबन्दा सबैलाई समस्या भएको भन्दै यो वर्ष पनि पुल बन्नेमा शंका गरे। उनका अनुसार यो पुलभन्दा पछि शुरु भएका पुल सबै सञ्चालनमा आएका छन्। ठेकेदारहरू परिवर्तन भइरहने हुँदा पनि निर्माणको ढिला भएको छ।

‘यहाँ अहिलेसम्म हामीले ठेकेदारलाई देखेका छैनौँ। गत वर्षसम्म एउटा स्ल्याब बनाएको थियो। अहिले २ वटा बनेका छन्। अहिले एउटा बनाउन बाँकी छ। यो वर्ष पनि बन्ने अवस्था छैन। यो पुल बन्न १० वर्ष लाग्छ। एउटा पुल बन्न १० वर्ष समय लाग्छ भने अनि कसरी होला हाम्रो देशको विकास ?’, उनले भने।

यस्तै उनले स्थानीय तहका जनप्रतिनिधिले पनि पुल निर्माणका लागि पहल नगर्दा ढिलाइ भइरहेको बताए। पुल निर्माणका कारण यहाँका बासिन्दाले धेरै सास्ती भोगेको भन्दै ठेकेदारलाई मोसो दल्ने तयारी गरे पनि पछिल्लो समय काम गरेका हुनाले त्यसो नगरेको पनि उनको भनाइ छ।

‘हामीले कति पीडा भोगेका छौँ भन्ने हामीलाई थाहा होला। अहिलेसम्म ठेकेदारलाई देखेका छौँ। राज्यले काम नगर्ने कम्पनीलाई कारबाही गर्नुको साटो म्याद थप्दै जाँदा पनि यस्तो समस्या हुने गरेको छ’‚ उनले थपे।

यस्तै अटोचालक सुरेश परियारले पनि समयमा पुल नबन्दा आफूहरूले सास्ती भोग्दै आएको बताए। उनले डुरुवाबाट कोठरी जान बर्खामा यात्रुलाई खोलाको किनारसम्म ल्याएर छोड्ने गरेको बताए। यस्तै उनले विद्यार्थीहरूलाई समेत खोला पुल नबन्दा समस्या हुने गरेको बताए। उनले यथाशीघ्र पुल निर्माण गर्नका लागि राज्यले ध्यान दिनुपर्ने माग गरे।

‘हाम्रो वडा कार्यालय कोठरीमा पर्छ। कुनै पनि कामका लागि जाँदा यो खोला तर्नुपर्छ’, उनले भने, ‘खोलामा पुल नहुँदा हामीले समस्या भोग्दै आएका छौँ। अन्य समयमा भन्दा वर्षायाममा पुल नहुँदा धेरै भोग्नुपर्छ।’

उनले डुरुवा र कोठरी दुवै ठाउँका बासिन्दाले पनि सास्ती भोग्दै आएको बताए। डुरुवाका बासिन्दा कोठरी आउँदा र कोठरीका बासिन्दा डुरुवातिर जाँदा समस्या भोग्दै आएको समेत उनको भनाइ छ।

हाम्रा तर्फबाट हुने सबै सहयोग गरेका छौँ : कार्यवाहक वडाध्यक्ष

तुलसीपुर उपमहानगरपालिका-१५ का कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले आफूहरूले पुल निर्माणका लागि गर्नुपर्ने सबै सहयोग गर्दै आएको बताए। उनका अनुसार निर्माण कम्पनीले यही असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने जानकारी दिए पनि आर्थिक अभावका कारण समस्या हुने भएको छ।

उनले भने, ‘अहिले पुलको निर्माण भइरहेको थियो। मलाई ठेकेदारले भन्नुभयो। अहिले कुनै पनि सडक विभागमा बजेट रहेनछ। बजेट नहुँदा तपाईँहरूले आफ्नो निकायबाट पलह गरिदिनुहोस्। बजेट आएमा असार मसान्तभित्र पुल निर्माण हुन्छ।’

यस्तै आफूहरूले पुल निर्माणका लागि कुनै पनि हुने बाधा अवरोध भएमा सहजीकरण गर्दै आएको पनि उनको भनाइ छ। उनले पैसाका अभावमा योपटक पनि पुल निर्माण गर्न नसक्ने भनेर ठेकेदारले आफूहरूलाई जानकारी गराएको र आफूहरूले पनि आफ्ना तर्फबाट बजेटका लागि पहल गरेको बताए।

३ वर्षमा निर्माण सक्ने सम्झौता
डुरुवा-कोठरी जोड्ने हापुर खोलामा पुल निर्माण हुन लागेको करिब ८ वर्ष हुन लाग्यो। २०७५ चैत्र १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याट बाहेक १० करोड ५० लाख २१ हजार ४ सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।

शुरुका दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। शुरुमा सम्झौता भएको मितिदेखि १ वर्षसम्म उक्त पुलको काम भए पनि त्यसपछि भने लामो समय पुल निर्माणको काम रोकिएको थियो। निर्माण कम्पनीले बारम्बार विविध कारण देखाउँदै म्याद थप्दै आएको छ। पछिल्लो पटक २०७७ साल पुस २८ गतेसम्म काम सम्पन्न गरी सक्नुपर्ने भन्दै म्याद थप गरिएको थियो। त्यसपछि फेरि २०८० असार मसान्तसम्मका लागि म्याद थप भएको छ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विकेश लाखेका अनुसार स्थानीय सडकअन्तर्गत हापुर खोलामा पुल निर्माण कार्य भएको हो। अहिले निर्माण कम्पनीले काम तीव्र रूपमा गरेका कारण समयमै निर्माण हुनसक्ने उनको भनाइ छ।

यस्तै उनले तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई जरिवाना हुने समेत बताए। तोकिएको समयमा काम सम्पन्न नभएमा शुरुको ठेक्का सम्झौताको रकम अनुसार ३ प्रतिशत दरले जरिवाना हुने पनि उनको भनाइ छ।

यस्तै उनले अहिले बजेट अभाव रहेको पनि बताए। उनले थप बजेटका लागि माग गर्ने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.