|

काठमाडौं : साहित्यकार वसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ सार्वजनिक गरिएको छ। ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आइतबार गरिएको कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले कवितासंग्रह ‘आहाना’को संयुक्त रुपमा विमोचन गरेका थिए।

कृति कवि चौधरीले नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको थियो। आकर्षक साजसज्जासहित रंगीन कलेवरमा प्रकाशित बाल कवितासंग्रह नेपाली र अंग्रेजी दुवै भाषामा छापिएको छ। 

साहित्यकार चौधरीले बाल साहित्यमा यो आफ्नो पहिलो प्रयास भएको बताए। बाल साहित्यलाई व्यापारभन्दा पनि आन्दोलनका रूपमा लिनुपर्ने उनको मन्तव्य थियो। उनले बालबालिकामा यस्ता बाल साहित्यमार्फत अथाह ज्ञान बाँड्न सकिने बताए।

प्रिमियर इन्टरनेसनल स्कुलकी प्राचार्य पवित्रा सुब्बाले आफ्नी नातिनीलाई कवि चौधरीले जन्मदिनमा विशेष उपहार दिएको उल्लेख गरिन्। उक्त उपहार आहानाले आफ्ना साथीदेखि अन्य धेरै बालबालिकासँग बाँड्न मिल्ने रहेको प्राचार्य सुब्बाको भनाइ थियो।

बालसाहित्यका पुस्तक सबै विद्यालयसम्म पुग्नुपर्नेमा जोड दिएकी थिइन्। कार्यक्रममा ​जोया महर्जन, सुहाना यादव, दृष्टि महर्जन, हिमा महर्जन, आहाना शाक्य चौधरीले कवितासंग्रहमा समेटिएका कविता सुनाएका थिए। पुस्तक कोपिला किताबले प्रकाशन गरेको हो।

यसअघि कवि चौधरीका २० भन्दा बढी कविता तथा गीत संग्रह प्रकाशित भइसकेका छन्। उनका दर्जनौं चर्चित नेपाली गीतहरु छन्‚ जसमा चर्चित नेपाली र भारतीय गायक गायीकाले स्वर दिएका छन्।

‘कोपिला किताब’ले प्रकाशन गरेको ‘आहाना’मा चौधरीका ५६ वटा बाल कविता समेटिएका छन्। प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रसमेत समावेश भएकाले कवितासंग्रह आकर्षक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.