|

जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना मलामी बगाएको घटनाले आलै छ। यो गाउँ अहिले पनि शोकमग्न छ। बाढीपछि विपत्‌का भग्नावशेष राजमार्ग छेउछाउमा अहिले पनि छन्।

बाढीपहिरोले कर्णाली राजमार्गमा पर्ने राँचुली गाउँका १३ जना मलामी बगाएर बेपत्ता बनाएको थियो। खोला उजाड र सुक्खा छ। खोलाको पूर्वतिर सडक माथिपट्टि मलामी गएर बेपत्ता भएका २३ वर्षीय नरेश शाहीको घर छ। एक मात्रै छोरा मलामी जाँदा बेपत्ता भएपछि आमा पारु शाहीका आँखा अहिले पनि ओभाएका छैनन्। उनले भनिन्, ‘छोराले बुहारी ल्याएको थियो। बिहे गर्न नपाउँदै बाढीले बगायो। बुहारीको पेटमा गर्भ रहेछ। अहिले छोरा जन्मिएको छ।’

मलामी गएका छोरा नरेश बाढीले बगाएर बेपत्ता भएपछि आमा पारु घरै छोडेर लामो समय काठमाडौँ गइन्। उनी अहिले फेरि गाउँमा फर्किएकी छन्। 

स्थानीय रजबहादुर शाहीले वास्तविक पीडितले राहत नपाएको बताए। उनले भने ४ वटा घर बगेका थिए। अरूका गाउँमा घर छन्। एकजनाको परिवार सबै घरवारविहीन छ। माथि खोलाबाट आएको बाढीले १ मिनेट ५९ सेकेण्डमा दाहसंस्कार भइरहेको स्थानमा भेटायो र १३ जनालाई एकैपटक बगायो। त्यस घटनामा तिलागुफा गापा–४ का वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रजंग शाही सहित १३ जना बेपत्ता भएका थिए। स्थानीय रजबहादुर शाहीका अनुसार त्यहाँ बगेकामध्ये एकजना धनबहादुर शाहीको मात्रै शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मलामी गएकामध्ये ४७ वर्षीय भीमबहादुर शाही, ३० वर्षीय खगेन्द्र शाही, २१ वर्षीय भेषबहादुर शाही, २१ वर्षीय प्रशान्त शाही, २३ वर्षीय नरेश शाही, १८ वर्षीय खिमबहादुर शाही, ६४ वर्षीय धनबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, ५८ वर्षीय मानबहादुर शाही, ३१ वर्षीय छत्रजंग शाही, ७५ वर्षीय अलिबहादुर शाही, ५८ वर्षीय परबहादुर शाही र ५६ वर्षीय धनबहादुर शाही बेपत्ता भएका थिए। तीमध्ये ५६ वर्षीय धनबहादुर शाहीको मात्रै शव भेटिएको थियो।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रजिअ जोरासिंह माझीका अनुसार उनीहरूमध्ये ५ जनाले राहत पाएका छन्। अरूको अदालतबाट मृत्युको न्यायिक घोषणा भइसकेको खबर प्राप्त भएको र मृत्युदर्ता भएमा राहत वितरण अघि बढाइनेछ।

जिल्ला प्रशासनले राहत मात्रै नभई बेपत्ता भएका मानिसका बालबच्चा समेत भएकाले शिक्षादीक्षा र परिवारलाई आय आर्जनको सहयोग गरिदिए सहज हुने स्थानीयको भनाइ छ।

त्यस्तै स्थानीय तिलागुफा नगरपालिका–९ निवासी तथा पूर्वसांसद नवराज कोइरालाले सरकारले यति धेरै संवेदनशील घटनालाई विशेष तरिकाले हेर्नुपर्ने बताए।

त्यस्तै तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार विपत्‌मा बेपत्ता भएका व्यक्तिको कागजात पुगेकाले प्रदेश सरकारबाट रु. २ लाखको दरले रकम प्राप्त भएको बताए। उनले बाँकी संवेदनशील घटनाको विषयमा नगरपालिका लागिरहेको र आफ्नो योजनानुसार उनीहरूका बालबालिकाको विषयमा योजना बनाइने बताए।

उनले उक्त घटनामा वडाध्यक्ष परबहादुर शाही बेपत्ता भएकाले कार्यवाहक अध्यक्ष हाल तीर्थबहादुर शाहीले समालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.