|

काठमाडौं : वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन्। आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा राजनीतिक दलबाट ३३ जना र स्वतन्त्रतर्फ ३६ जनाले उम्मेदवारी दिएका हुन्। 

तनहुँ १ मा ९, चितवन २ मा २४ र बारा २ मा ३६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। निर्वाचनमा होमिएका उम्मेदवार आ–आफ्नो तवरले प्रचारप्रसारमा व्यस्त छन्। साथै उनीहरूलाई जिताउन केन्द्रीय स्तरबाट नेताहरू नर्विाचन क्षेत्रमा खटिरहेका छन्।

पटकको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीविरूद्ध नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दलहरू मोर्चाबन्दीमा देखिएका छन्। शनिबार सत्ता गठबन्धन दलका शीर्ष नेताबीच तीन वटै क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी गराउने समझदारी बन्यो। माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच तीन वटै क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने समझदारी भएको हो। 

यस्तै नेकपा एमाले पनि विपक्षी विरूद्ध मोर्चाबन्दीमा छ। पुराना भनिएका यी दलको तारोमा राष्ट्रिय स्वतन्त्र पार्टी परेको छ। गत मंसिर ४ को उपनिर्वाचनमा प्रत्यक्षमा ८ सहित २० सिट ल्याएको रास्वपाका उम्मेदवारसँग विपक्षी दलमा त्रास देखिएको छ।

तीन वटै क्षेत्रमा सत्ता गठबन्धन आफ्ना उम्मेदवार विजयी गराउने रणनीतिमा लागेको छ। यस्तै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी पनि निर्वाचन जित्ने रणनीतिमा छन्। सत्ता गठबन्धन, एमाले र रास्वपाले केन्द्रीय स्तरका नेताहरूलाई निर्वाचन क्षेत्रमा खटाएका छन्। रास्वपाले तीन वटै क्षेत्रमा चर्चित अनुहार उठाएपछि सत्ता गठबन्धन र एमाले दबाबमा परेका छन्।  

चुनाव जित्नेमा ढुक्क छन् दल
तीन वटा क्षेत्रबाट उम्मेदवार रहेका सबै दल चुनाव जित्नेमा विश्वस्त देखिएका छन्। तनहुँ, चितवन र बारामा दलहरू आफ्ना उम्मेदवारले चुनाव जित्नेमा ढुक्क देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ र चितवनमा चुनाव जित्नेमा ढुक्क छ। रास्वपा सांसद शिशिर खनाल बारा बाहेक दुई क्षेत्रमा चुनाव जित्न आफूहरूलाई सहज अवस्था रहेको बताउँछन्। 

‘माहोल अत्यन्त सकारात्मक छ। अहिलेको अवस्थामा तनहुँमा राम्रो अवस्था छ। किनकी म यहाँ ८/१० दिनदेखि नै यही छु। चितवनमा अवस्था सहज रूपमा अगाडि छ। बारामा त्रिपक्षीय भिडन्त हुने आँकल छ। अहिलेसम्मको अवस्था हेर्दा हामी तीनवटै क्षेत्रमा जित निकाल्नेगरी लागिरहेका छौँ’,खनालले थाहाखबरसँग भने। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा सत्ता गठबन्धनसहित सबै दल एकातिर र एमाले अर्कोतिर हुँदा पनि उनीहरूलाई भारी पर्ने दाबी गर्छन्। 

‘हामी नेपालका सबै पार्टी एकातिर र एमाले अर्कोतिर हुँदा पनि उनीहरूलाई भारी पर्नेछ। सत्ताको झिनाझम्टीमा लागेका दलहरू परिवर्तनको विपक्षमा छन्। यसकारण एमालेलाई जनताले विश्वास गरेर भोट हाल्नुहुन्छ’, उनले भने। 

उनले आफूहरूले डरका कारणले केन्द्रीय स्तरका नेताहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रीत नगराएको जिकिर गरे। नेता थापाले आफूहरूले ‘ग्रास रूट’ अभियान अन्र्तगत नेताहरलाई परिचालन गरेकाले सोही अनुसार निर्वाचन क्षेत्रमा पनि केन्द्रीत भएको बताए। 

‘गठबन्धनको असर स्वभाविक रूपमा निर्वाचनमा पर्ने भयो। हामीले नेताहरूलाई चुनाव हार्ने डरले खटाएको होइन। पार्टी निर्माण र संगठन सुदृढिकरण गर्ने, पार्टीमा जनतालाई गोलबन्द गर्ने, ५१ प्रतिशत जनताको पार्टी बनाउने राष्ट्रिय अभियानमा छौँ। सत्ताको ‘छिना झपटी’मा लागेका दलहरूबाट परिवर्तन सम्भव छैन। त्यसैले एमाले देश बनाउने अभियानमा लागेको छ,’ थापाले भने।

जसपाका प्रवक्ता मनिषकुमार सुमनले बारा– २ मा आफूहरूको जित निश्चित रहेको बताए। उनले जनमत पार्टी असभ्य तवरले चुनावमा होमिएकाले लोकतन्त्रमा  सभ्य र मर्यादित भएर चुनाव लड्न पनि आग्रह गरे।

‘बारा–२ मा हाम्रो जित निश्चित छ। किनकी हामीलाई गठबन्धनका सबै साथीहरूको साथ र समर्थन छ। लोकतन्त्र हो प्रतिस्पर्धा गर्ने अधिकार सबैको हो। उहाँहरूको पनि अधिकार छ। तर, सभ्य रूपमा चुनाव लडिदिए हुन्थ्यो। केही साथीहरू असभ्य रूपमा चुनावी मैदानमा आउनुभएको छ। त्यसमा दुःख लाग्छ’,उनले भने। 

सहमहामन्त्री जीवन परियार यो उपनिर्वाचनमा प्रतिस्पर्धा नै नभएको तर्क गर्छन्। मिडिया र यूट्युबरले हल्ला फैलाएका कारण बाहिर गलत ‘म्यासेज’ गएको उनको भनाइ छ। 

‘यो उपनिर्वाचनमा प्रतिस्पर्धा खासै छ जस्तो लाग्दैन। सामाजिक सञ्जाल, मिडिया र यूट्युबरले हल्ला फैलाएका हुन्। चुनावी क्षेत्रमा गएपछि वास्तविकता थाहा हुन्छ,’ उनले भने।  सहमहामन्त्री परियार तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवार विजयी हुने ठोकुवा गर्छन्। 

‘कांग्रेसका दुई जना उम्मदवार छन्। तनहुँ १ मा गोविन्दि भट्टराईले चुनाव जित्छन्। किनकी उक्त क्षेत्र रामचन्द्रले समेत जितेको हो,’ उनले भने, ‘चितवनमा पनि हामीले सहज रूपमा चुनाव जित्छौँ। किनकी यसपटक हामीले चितवनको भूमिपुत्र, युवा नेतालाई उम्मेदवार बनाएका छौँ।’ उनले दोस्रो पटक चुनाव उठेका रास्वपा सभापति रवि लामिछानेलाई यसपटक चितवनका जनताले चिनिसकेकाले पराजित गर्ने दाबी गरे। 

‘अघिल्ले पटक चुनाव जित्दा रवि लामिछानेले नेपाली नागरिकता लिएकै रहेनछन्। उनी नेपाली नागरिक होइन रहेछ भन्ने देखियो। जिम्मेवार व्यक्तिले नागरिकता लिने विषयमा ज्ञान लिन सकेको रहेछन्। यसपटक चितवनका जनताले बुझेका छन्’,उनले भने। 

कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला चितवनमा आफुहरूको पक्षमा माहोल बनिरहेकी दाबी गर्छिन्। मंसिर ४ मा कांग्रेसभित्र बिग्रिएको माहोल बन्दै गइरहेको बताउँदै उनले रविको पक्षमा हौवा फैलाइएको बताइन्। 

‘पहिला कांग्रेस छोड्नु भएका साथीहरू घर फर्किरहेका छन्। गठबन्धनको माहोल बनेको छ। प्रतिस्पर्धामा पहिलो नम्बरमा कांग्रेस, दोस्रोमा रास्वपा र तेस्रोमा एमाले हुन्। कांग्रेसभित्र एकता छन्। चितवनमा रविको पहिले जस्तो लोकप्रियता छैन्। यहाँ चितवनका कतिपय नेतालाई पार्टीमा फर्काउने प्रयास भइरहेको छ भने र कतिपय फर्किसकेका छन्। सुधारको संकेत देखिएको छ। अहिले जुन हौवा फैलिएका छन् ती यहाँका वास्तविक मतदाता होइनन्। रियल मतदाताले कांग्रेसलाई जिताउने संकल्प गरिसक्नु भएको छ’, उनले भनिन्। 

निर्वाचन क्षेत्रमा केन्द्रीय नेताकाे भिड
पछिल्लो समय सत्ता गठबन्धन दल, नेकपा एमाले र रास्वपाका केन्द्रीय स्तरका नेताहरू तीनवटै निर्वाचन क्षेत्रमा केन्द्रीत भएका छन्। मुख्य तीन दलका नयाँ अनुहारबीच हुन लागेको प्रतिष्पर्धालाई थप रोचक बनाउन केन्द्रीय स्तरका नेताहरू नै लागि परेका छन्। तनहुँ– १ मा एमालेका सर्वेन्द्र खनालाई जिताउन एमाले नेताहरू लालबाबु पण्डित लगायत प्रचारप्रसारमा जुटेका छन्। कांग्रेसका गोविन्द भट्टराईलाई विजयी गराउन नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेताहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन्।  

उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू मिनेन्द्र रिजालसहितका नेता प्रचारप्रसारमा जुटेका छन्। उनीहरू रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्न कम्मर कसेर लागिपरेका छन्। 

रास्वपाले पनि केन्द्रीय स्तरका नेताहरूलाई चुनावमा खटाएको छ। सभापति रवि लामिछानेले पनि डा.स्वर्णिम वाग्लेलाई प्रचारप्रसारमा सघाइरहेका छन्। उनले हिजो मात्रै तनहुँ पुगेर सम्बोधन गरेका थिए। रास्वपाका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरू मतदातासँग घरदैलो अभियानमा छन्। महामन्त्री डा. मुकुल ढकाल, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, केन्द्रीय सदस्यहरू रमेश प्रसाईंलगायतका नेताहरू चुनावी अभियानमा छन्।

यस्तै चितवन–२ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ। चितवनमा केन्द्रीय स्तरबाट नेताहरू चुनावी प्रचारप्रसारमा खटिएका छन्। कांग्रेस, एमाले र रास्वपाका नेताहरू चितवन केन्द्रित छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको छ। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्न उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्। रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापतिसहितका शीर्ष नेता केन्द्रित भएका छन्।

दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताए। उनका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो ।

उपनिर्वाचन लक्षित गरी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन पुगे। उनी फेरि जाने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा पनि पुगेका छन्। सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्किइसकेका छन्। केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अब्दुल सतार पनि चितवनमा खटिएका छन्। 

एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा एक महिनाभन्दा बढी समयदेखि जिल्लामा छन्। ‘मिसन ग्रास रूट’को जिल्लाको नेतृत्व गरेर पुगेका उनी चुनावी अभियानका क्रममा टोलटोलमा पुगेका छन्। एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतका नेता खटिएका छन्। 

रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता पनि चुनावी अभियानमा चितवनमा छन्। सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता चुनावी अभियानमा जुटेका छन्। 

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ। सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन्। 

बारा–२ मा पनि रोचक भिडन्त हुँदैछ। जसमध्ये जसपाबाट उपेन्द्र यादव, नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन्। पौडेल कुशवाह सोही क्षेत्रमा रहेर राजनीति गर्दै आएका छन् भने यादव र खरेल आयातीत उम्मेदवार हुन्। 

यादवलाई सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी लगायतको समर्थन छ भने एमाले, जनमत र रास्वपा एकल रूपमा भिड्दैछन्। उक्त क्षेत्रमा पनि सबै दलले केन्द्रीय स्तरबाट नेताहरू खटाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.