|

काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषणले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भनेर देखाउन १५ दिनअघि स्वास्थ्य मन्त्रालयमा राखिएको एक जोडी कृत्रिम फोक्सो १५ औँ दिनमा झिकिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा उच्च स्तरको प्रदूषणका कारणले मन्त्रालयको मूलगेटमा राखिएको फोक्सो १५ दिनमै कालो भएपछि झिकिएको बताए। 

‘काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणका कारणले उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ। यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ। छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ। यसका लागि आज काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थीहरूले वायु प्रदूषणले फोक्सोमा पार्ने असरबारे जानकारी दिन र परीक्षणद्वारा उनीहरूको फोक्सोको जाँच गरी सचेतनासम्बन्धी कार्यक्रम आयोजना गरी उक्त कृत्रिम फोक्सो जडान गरिएको स्थानबाट निकालिएको छ’‚ डा. अधिकारीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। 

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुराँ तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन्।

प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन्। वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.