|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नाम कसैको विपक्षमा नभएको दाबी गरेका छन्।

शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार एकाइको १३ औं कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

‘नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला, त्यो नभएर साझा भएको छ। यसलाई सबैले आत्मसात गरेर जाऊँ’, उनले भने। उनले समय क्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने समेत उल्लेख गरे।

प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नुपरेको दृष्टान्त प्रस्तुत गर्दै योपटक प्रदेशसभाको १३ औ बैठकले नामकरण गरेको बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेशसभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने समेत उल्लेख गरे।

वर्तमान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६-१७ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नु दुःखद कुरा रहेको बताए।

प्रदेश संरचना अनावश्यक, अत्यधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गरे।

विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्रे सडक, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संरचना निर्माण गरेको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.