|

दाङ : लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री लिला गिरि नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्दै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकांक्षा पूरा गर्न प्रदेश सरकारले रणनीतिक उपलब्धि हासिल गर्न सफल भएको बताए।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उनको भनाइ छ। यस्तै प्रदेश राजधानीको निर्णय कार्यान्वयनका लागि महत्त्वपूर्ण कार्य भएको समेत जनाएको छ। राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माण प्रारम्भ भएको छ।

आगामी ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। यस्तै नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानी शहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले जनाएको छ।

विगतको १७ सदस्यीय ठूलो आकारको मन्त्रिपरिषद्लाई घटाएर १० सदस्यीयमा सीमित गरी राज्यको अनावश्यक खर्च कटौती गर्न वर्तमान सरकार सफल भएको उनको दावी छ। मन्त्रालय घट्दा कर्मचारी दरबन्दी पनि कटौती भएको र ४ हजार ४३६ जनाको दरबन्दी रहेकोमा ४४ वटा दरबन्दी कटौती गर्दा कर्मचारी दरबन्दी हाल ४ हजार ३९२ रहेका छन्।

मन्त्रालयको संख्या घट्दा खर्च कटौती पनि भएको छ। पूर्ववर्ती सरकारको पालामा प्रशासनिक खर्च प्रतिमहिना ६३ करोड ६८ लाख २४ हजार हुने गरेकोमा हाल ६३ करोड २० लाख ३० हजार खर्च रहेको छ। मन्त्रालयको संख्या कटौती गर्दा प्रतिमहिना ४७ लाख ९४ हजार बचत हुने गरेको सरकारको भनाइ छ।

वित्तीय प्रगति १८.४५ प्रतिशत रहेकोमा १०० दिनको अवधिमा ३५.२४ प्रतिशतसम्म पुगेको छ। मुख्यमन्त्री गिरि गत पुस २७ गते नियुक्त भएका थिए। सत्ता साझेदार दल राप्रपा बाहेक अन्य दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। वैशाख ११ मा विश्वासको मत लिने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.