|

काठमाडौँ : उपनिर्वाचनको प्रारम्भिक परिणामले नेपालका परम्परागत दलहरूलाई धक्का लागेको छ। आम चुनावमा अप्रत्यासित नतिजा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनावमा थपेको मतले पुराना दलको राजनीतिक भविष्यमा संकट परेको देखिएको छ।

ठूला दलहरू आत्मसमीक्षा गर्नेभन्दा पनि दम्भ देखाउने र अरूमाथि आरोप लगाउन छोडेका छैनन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी एक दुईवटा क्षेत्र हार्दैमा कांग्रेसलाई फरक नपर्ने दाबी गर्छन्। ‘कांग्रेस भनेको कांग्रेस हो। एक दुई क्षेत्र हार्दैमा हार खानु पर्दैन तर हामीमा भएका कमी कमजोरी स्वीकार गरेर गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ’‚ उनले थाहा खबरसँग भने।

मंसिर ४ को चुनावबाट पहिलो दल बनेको कांग्रेसले अहिलेसम्म पनि समीक्षा गरेको छैन। सभापति शेरबहादुर देउवा छैटौँपटक प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागेर केन्द्रीय समितिको बैठक टार्दै आएका छन्।

अहिले कांग्रेसको नेतृत्वमा दश दलीय सत्ता गठबन्धन हुँदा पनि चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले नमिठो हार व्यहोर्नु पर्‍यो। त्यस्तै अवस्था रह्यो नेकपा एमालेको पनि।

एमालेले पनि चुनाव हार्नुमा चितवनका जनताको अन्धविश्वास रहेको प्रतिक्रिया दिएको छ। एमाले नेता रघुवीर महासेठले यो चुनावबाट पाठ सिकेको बताएका छन्।

‘रविले गर्छ रविले गर्छ भन्ने छ तर के गर्छ भन्ने छैन। चितवनबाट उहाँ पुनः निर्वाचित हुनुभएको छ। जितेर दुई महिनामा के गर्नुभयो‚ त्यो जनताले बुझेनन्’‚ महासेठले भने, ‘तनहुँमा चाहिँ पार्टीमै मतभिन्नता थियो। त्यहाँको परिणामले हामी दुखी छैनौँ। बारा २ मा त हामीले पहिलोपटक उम्मेदवारी दिएका हौँ।’

उम्मेदवार बदलेर भोट लिने परम्परागत दलहरूको योजना राष्ट्रिय स्वतन्त्र पार्टीले ध्वस्त बनाइदिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँमा उम्मेदवार बदलिए पनि भोट कायम रहन सकेन। चितवनमा कांग्रेस र एमालेले भोट पाँच महिनाअघिको भन्दा कम पाएका छन्।

दलहरूले निराशावादी हुनुपर्ने परिस्थिति सिर्जना गरेका कारण संकटमा पुग्नुपर्ने अवस्था आएको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको तर्क छ।

‘आम नागरिकको निराशा एकातिर छ। नयाँ मानिसप्रतिको विश्वास र सम्भावनाको खोजी अर्कोतिर छ’‚ उनले भने, ‘पुराना दलप्रतिको विश्वास घट्दै गएको छ। अब उनीहरूका विचार काम लाग्दैनन् भन्ने स्पष्ट भएको छ।’

स्वतन्त्र पार्टीले अहिले जनतालाई उत्तेजित पारिरहेको बताउँदै दाहालले अहिले समाज अराजकतातिर अघि बढेको पनि दाबी गरे। ‘समाज अराजकतातर्फ धकेलिएको छ। त्यसको प्रभाव के हुन्छ । राजनीतिक प्रभाव कस्तो हुन्छ भन्ने नै खोजिएको छैन’‚ उनले थपे।

परम्परागत दलहरूका कारण जागेको जन उत्तेजनालाई स्वतन्त्र पार्टीले वैकल्पिक शक्तिमा बदलेको छ। कार्यशैलीमा परिवर्तन नगर्ने र भोट भनेको अधिकार भनेर बसिरहँदा परम्परागत दलहरूले धक्का खानु परेको अर्का राजनीतिक विश्लेषक डा. समृद्ध घिमिरे बताउँछन्। लोकरुझान हेरेर गठबन्धन नबन्दा कांग्रेस र एमालेको भोट स्वतन्त्र पार्टीले पाएको घिमिरेको विश्लेषण छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.