|

लिस्बन : राहदानी विभागले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार ३०० भन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम संकलन गरेको छ।

राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो। 

करिब एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार ३०८ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन संकलन गरेको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले जानकारी दिइन्। उनका अनुसार ७६४ जनाको राहदानी हराएको, एक हजार ४४० जनाको नवीकरण, १८ जनाको क्षतिग्रस्त, १३ जना बालबालिकाको नयाँ राहदानी र ७३ जना बालबालिकाको नवीकरण गरी कुल दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको हो। 

पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेषगरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई राहदानीलगायतका कागजातसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यअनुरूप विभागले शिविर सञ्चालन गरेको शाखा अधिकृत दाहालले बताए।

विभागबाट आएको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो। टोलीमा नेपाली दूतावास पेरिस, फ्रान्सका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। 

पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई समाधान गर्ने योजनाअनुसार पहिलो पटक सञ्चालन गरिएको शिविरबाट धेरै नेपाली लाभान्वित भएको बताए। गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले शिविरले राहदानीलगायतका नेपालीको समस्या सम्बोधन गरेको बताए।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीलगायतका कागजातसम्बन्धी समस्या भोग्दै आएका नेपालीले शिविरमार्फत सेवा पाँउदा राहतको अनुभूति गरेका छन्। लिस्बनबाटै राहदानी सेवा लिन पाउँदा अत्यन्तै सहज भएको विगत लामो समयदेखि पोर्चुगल बस्दै आएका काठमाडौंका अमृत श्रेष्ठले प्रतिक्रिया दिए। ‘छोराको राहदानीको म्याद सकिएको थियो। नवीकरण गर्न कहाँ जाने र कहिले जाने भनेर चिन्तामा थिएँ। शिविर आएको मौकामा यही बाटै छोराको आवेदन दिन पाइयो’, उनले भने।

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली संघ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधिहरूले समेत समन्वय र सहजीकरण गरेका थिए। 

गत चैच १५ गतेदेखि सुरु भएको शिविर मंगलबार सम्पन्न भएको हो। टोलीले  शिविर अवधिभर राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका बालबालिकाका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको थियो। शिविरबाट २०२३ डिसेम्बर ३१ सम्म म्याद भएका राहदानीको नवीकरणका लागि फारम संकलन गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.