नेपालमा फेसबुक प्रयोगकर्ता १ करोड ३३ लाख पुगे

|

काठमाडौं : मानव सम्भ्यताको उत्पत्ति ढुङ्गे युगदेखि  २१ औं शताब्दीसम्म आइपुग्दा विज्ञान प्रविधिको विकासले निकै फड्को मारेको छ।

विज्ञान प्रविधिको तीव्र विकासले सिंगो संसारलाई एकैठाउँमा सीमित पनि गरेको छ। विकसित प्रविधिकै एउटा नमुना सामाजिक सञ्जाल पनि हो।

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो प्रयोग नगर्ने नेपालमा सायदै होलान्। विद्यालय उमेरका बालबालिकादेखि अक्षरसम्म नचिन्ने वृद्धवृद्धाले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्।
कखरा एबिसिडी चिन्न नसक्ने प्रौढदेखि भर्खरै अक्षर चिनेका बालबालिका र किशोर किशोरीसमेतले सामाजिक सञ्जालहरुको अत्यधिक प्रयोग गरिरहेका छन्।

प्रौढ उमेरकाले टाढा रहेका सन्तान तथा आफन्तसँग आवाज तथा भिडियो मार्फत नै सँगै भएसरी कुरा गर्न, देशविदेशका जानकारी लिने, सूचना लिने प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ भने बालबालिकाले भिडियोमार्फत सिकाइका लागि अभिभावकले नै समेत प्रविधिमा पहुँच पुग्न दिएका छन्।

कोरोना महामारीमा अनलाइन प्रणालीबाट शिक्षा तथा फुर्सदिला समयका कारण किशोर किशोरीहरुमा अधिकांश समय सामाजिक सञ्जालमा नै रमाइरहेका छन्।
बालबालिका किशोर किशोरी मात्रै होइन कुनै न कुनै पेसा रोजेकाहरू पनि सामाजिक सञ्जालमा नै जोडिएका छन्।

समग्रमा भन्ने हो भने सामाजिक सञ्जाल दैनिक जीवनयापनका लागि अपरिहार्य जस्तै बनेको छ।
नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको तथ्यांक छ।

मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ले पछिल्ला वर्षमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरिएको देखाएको हो।

राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ। 

१६ गुणाले बढ्यो साइबर अपराधको उजुरी

केही दिनअघि एक युवती नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालय भोटाहिटी काठमाडौं पुगिन्। उनले प्रयोग गर्दै आइरहेको मोबाइल हराएको थियो।

सोही मोबाइलमा लग इन भएको आफ्नो सामाजिक सञ्जालमा अश्लील शब्दहरू सार्वजनिक भएपछि उनी साइबर ब्युरो पुगेकी हुन्।

उनको फेसबुकमा अश्लील शब्दहरू राखी आफ्नै दाजुलाई समेत अपरिचित महिला पुरुषको यौनजन्य भिडियो पठाएको पाइएपछि युवती न्याय माग्दै साइबरमा पुगेकी हुन्।

उक्त घटनामा रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २२ वर्षका ओमप्रकाश महरा पक्राउ परिसकेका छन्।

पर्वत मोदी गाउँपालिका-२ का २६ वर्षीय विश्व शर्मा सामाजिक सञ्जालमार्फत नै ६० लाख ठगी गरेको अभियोगमा समातिएका छन्। उनले फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर साथी बनाउँदै प्रेमको नाटक गरे।

उनले विभिन्न बहानामा साथी बनाएका व्यक्तिबाट पटकपटक गरी ६० लाख ठगी गरेका थिए। त्यसपछि पनि रकम माग्ने क्रम नरोकिँदा पीडित साइबर ब्युरो पुगेका थिए।

अनुसन्धानका क्रममा शर्माले आफ्नै सहपाठी महिला साथीको प्रयोग गरी फेक आइडी बनाई पीडितसँग साथी बनेर ठगी गरेको खुलेको थियो।

नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने युवक स्याङ्जा वालिङ घर भई कास्की पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षका सागर ढकाल पक्राउ परे।

गत चैत २३ गते समातिएका उनले विभिन्न समयमा नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउन पटक-पटक साइबर हमला गरेका थिए।

आफ्नो साइबर स्पेशमा विभिन्न समयमा साइबर हमला भएको देखिएपछि नेपाली सेनाले अनुसन्धानका लागि साइबर ब्युरोमा पत्र पठाएको थियो। अनुसन्धानका क्रममा २१ वर्षे युवा समातिएका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्तासँगै सामाजिक सञ्जालबाटै हुने अपराधका गतिविधि पनि ह्वात्तै बढेका छन्।

सामाजिक सञ्जालको प्रयोगले सिंगो विश्वलाई नियाल्न सकिन्छ। तथापि यसको दुरुपयोगले आपराधिक गतिविधि पनि भइरहेका छन्।

पछिल्लो घटनाक्रमले सामाजिक सञ्जालमार्फत् विभिन्न अवाञ्छित गतिविधि भइरहेको देखाएको छ। जसकारण नेपाल प्रहरीको साइबर ब्युरोमा पीडितका उजुरी पर्ने क्रम समेत बढ्दो दरमा छ।

पछिल्लो पाँच वर्षमा साइबर ब्युरोमा परेका निवेदन-उजुरीको तथ्यांक हेर्ने हो भने पाँच वर्ष अघिको तुलनामा हाल झण्डै १६ गुणा बढी देखिन्छ।

साइबर ब्युरोमा आर्थिक वर्ष २०७५-०७६ मा अपराधका ३५७ वटा निवेदन परेका थिए। यो क्रम पाँचवर्षपछि हालको चालु आर्थिक वर्ष २०७९-८० सम्म आइपुग्दा १६ गुणाले बढेर ५ हजार ५ सय २८ को संख्यामा पुगेको ब्युरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।

उनका अनुसार गत पाँच आर्थिक वर्षमा प्रत्येक वर्ष अघिल्लो वर्षको तुलनामा एक हजारभन्दा बढी निवेदन आएको छ। 

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा साइबर अपराधका २ हजार ३०१ निवेदन, आ.व. ०७७-०७८ मा ३ हजार ९०६ र गत आर्थिक वर्ष २०७८-०७९ मा ४ हजार ६ सय ८६ वटा निवेदन परेको छ।

पीडितले दिएका यी निवेदनहरु सतहमा आएका अपराधका घटनाहरु हुन्। सामाजिक परिवेश, कानुनका अज्ञानताका कारण पनि कतिपय आपराधिक गतिविधिहरु प्रहरीसम्म पुगेको पाइँदैन।

बालबालिकाहरूसमेत साइबर अपराधको चपेटामा परेका छन्। पाँच आर्थिक वर्षमा साइबर अपराधका चपेटामा ५ सय ४३ बालबालिका परेका छन्।

जसमध्ये १५१ बालक र ३९२ बालिकाले सामाजिक सञ्जालमार्फत दुःख खेपेका छन्। त्यस्तै, ८ हजार ४ सय ४५ महिला, ६ हजार ९ सय २८ पुरुष र अन्य ६ सय ७२ जना साइबर आक्रमणबाट पीडित भएका छन्। 

चालु आर्थिक वर्षमा ब्युरोमा परेको ५ हजार ५२८ निवेदनमा ३० जना बालक, ९० बालिका, २ हजार ७०१ महिला, २ हजार ४ सय ४९ जना पुरुष र २ सय ५० जना लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिले सामाजिक सञ्जालबाट हैरानी ब्यहोरेका छन्।

जसमध्ये अनुसन्धानका क्रममा अपराध पुष्टि भएपछि चालु आर्थिक वर्षमा ९० वटामा मुद्दा चलाईएको छ। गत पाँच आर्थिक वर्षमा ब्युरोमा परेको जम्मा निवेदन १६ हजार ७७८ मध्ये ३ सय ४८ वटा मात्रै मुद्दा दर्ता भएका छन् । 

साइबर अपराधका प्रकृति

साइबर अपराधमा अधिकांश फोटो तथा भिडियोको दुरुपयोग हुने गरेको प्रहरीले जनाएको छ। हालको प्रवृत्ति हेर्दा फोटो विकृति अर्थात् विभिन्न किसिमका नग्न तस्विरमा व्यक्तिको अनुहार जोडेर अनलाइन (सामाजिक सञ्जाल) माध्यममा राखिने गरेको ब्युरोका उपनिर्देशन रायले बताए। 

साथै रिभेञ्ज पोर्न अर्थात् अश्लील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सामाजिक सञ्जालमार्फत नै सम्पूर्ण सूचना जानकारी नियन्त्रणमा लिएर फिरौती रकम माग गर्ने जस्ता आपराधिक गतिविधि हुने गरेको ब्युरोले जनाएको छ। 

यसैगरी, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरी प्रोफाइल-खाता बनाएर वा सामाजिक सञ्जालमा पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने, ह्याकिङ, अनअर्थराइज्ड एसेस, वेभसाइट डिफेस (सरकारी तथा अन्य संघसंस्थाहरुको वेभसाइट ह्याक गर्ने) र अनलाइनमार्फत नै ठगी गर्ने गरेको घटनाहरु भएका छन्।

केही समयअघि मात्रै नेपालका सरकारी वेभसाइटहरु समेत ह्याक भएको अनुमान गरिएको थियो।

ब्युरोका उपनिर्देशक रायले भने, ‘सहमतिमा वा थाहा नदिईकन खिचेका फोटो भिडियो सामाजिक सञ्जालमा राख्दिएर ब्ल्याक मेलिङ, फेक अकाउण्टहरुको धेरै आउँछ उजुरी, ह्याकिङसम्बन्धी केसहरु पनि छन्।’

उनले समाजमा अपाच्य हुने गतिविधि समाजमा गर्न नसकिने गतिविधि अनलाइनमार्फत पनि गर्न नहुने बताए।

उनले थपे, ‘जे कुरा सामाजिक रुपमा गर्न सकिँदैन, व्यावहारिक रूपमा गर्न सकिँदैन, हामीले त्यस कुरालाई सामाजिक सञ्जालमा पनि त्यसलाई ध्यान दिए अपराधबाट धेरै हदसम्म जोगिन सकिन्छ।’

फिसिङबाट जोगिन ब्युरोको अनुरोध

प्रहरीले पछिल्लो समय फिसिङ आक्रमणका घटनाहरुको उजुरी बढ्दै गएको भन्दै सतर्कता अपनाउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

विभिन्न सामाजिक सञ्जाल अनलाइन लगायतका प्रविधिको दुरुपयोग गरी इमेल, म्यासेज, फोन कलगरेर प्रलोभनमा पारी वा आकर्षण गराई व्यक्ति वा संस्थाको गोप्य जानकारी खुलासा गर्न अपराधीले बैंक वा ई कमर्स साइटजस्ता वैध संस्थाको प्रतिनिधिको रूपमा आफुलाई चिनाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले त्यस्ता शंकास्पद तथा अवाञ्छित लिंक वा अट्याचमेन्टहरु क्लिक गर्नु अगाडि सजग हुन भनेको छ। साथै त्यस्ता लिंकहरूमा दोहोरो संवाद वा अन्य व्यक्तिलाई फरवार्डसमेत नगर्न साइबर ब्युरोले आग्रह गरेको छ।

फिसिङ आक्रमणमा सामाजिक प्रयोगकर्तालाई आकर्षित गर्ने किसिमका लिंक वा अन्य अट्याचमेन्ट पनि समावेश हुने भएकाले त्यसमा फस्ने गरेको ब्युरोका उपनिर्देशक रायको भनाइ छ। 

‘आफूले नचिनेको, कहीँ कतै कनेक्ट नै नहुने आएका लिंकहरुलाई क्लिक गरिहाल्नु हुँदैन। विचार गरेर के हो भन्ने कुरा आइडेन्टीफाई गरेर मात्रै क्लिक गर्नुपर्दछ।’

उनले भने, ‘अथवा आफूसँग सम्बन्धित नै नभएका कुरालाई डिलिट गर्दिए नि भो। यसबाट चाहिँ बच्नुपर्छ किनभने यस्ता घटनाहरुको कुरा धेरै आइरहेको छ।’

त्यस्ता लिंक आएमा, अपरिचित व्यक्तिले पठाएका म्यासेज तथा लिंकहरुलाई नखोल्न उनले सुझाएका छन्। त्यसरी आएका म्यासेज वा लिंकहरु नखोलेरै डिलिट गर्नु बुद्धिमानी हुने उनको भनाइ छ। 

फिसिङ साइबर आक्रमणको एक प्रकार हो। जसमा अपराधीले व्यक्ति तथा संस्थालगायतका निकायहरुको लगइन विवरण, क्रेडिट कार्ड नम्बर वा व्यक्तिगत जानकारी जस्ता संवेदनशील विवरणहरु छल गरेर प्राप्त गर्ने गर्दछन्।

आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेष्ट पठाइ फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर इमो आदिमा भिडियो कल गरी अपरिचित व्यक्ति आफैँले अश्लील क्रियाकलाप देखाई व्यक्तिलाई झुक्याउने गरेको र कल गर्ने व्यक्तिले नै अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाउने गरेको प्रहरीको दाबी छ।

यस्ता क्रियाकलापपछि साइबर अपराधमा फसाइदिने, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराउने धाकधम्की दिएर फिरौती रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको प्रहरी उपरीक्षक रायले बताए।

उनले सामाजिक सञ्जाल प्रयोग गर्दा अवाञ्छित क्रियाकलापप्रति सजक रहन तथा अपरिचित आइडी वा नम्बरबाट कुनै पनि कल आउँदा यकिन गरेरमात्रै कुराकानी गर्न तथा अवाञ्छित गतिविधिमा संलग्न नहुने अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.