|

सुर्खेत : भेरी करिडोरमा ४०० केभी प्रशारण लाइनका साथै सव स्टेशन निर्माण गर्न १५ अर्ब रकम लाग्ने अनुमान गरिएको छ।

जाजरकोट नलगाड नगरपालिका–७ स्थित दानीपिपलमा ४०० केभी र सुर्खेतको भेरी गंगा नगरपालिका–८ मैनतडा  प्रशारण लाइनको सव स्टेशन निर्माणका लागि उक्त रकम लाग्ने भएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डाक्टर नेत्रप्रसाद ज्ञावलीले जानकारी दिए।

 नलगाड नगरपालिका ७ मा दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशन बनाउका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ।

भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजनाहरु, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत र सानीभेरी नदीबाट उत्पादित विद्युत नलगाड नगरपालिकाको दानीपिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सव स्टेशनमा पठाएर राष्ट्रिय प्रशारणमा जोडिने लक्ष्य छ।

भेरी करिडोरमा निर्माण हुने प्रशारण लाइन र सव स्टेशन निर्माण गर्नका लागि भारतीय एक्जिम बैंकले इच्छा जाहेर गरेको अधिकृत ज्ञवालीले बताए।

४०० किलोभोल्ट प्रसारणलाइन परियोजनामा लगानी गर्न  उक्त बैंकले इच्छा जाहेर गरेपछि अहिले आवश्यक कागजात उपलब्ध गराउने काम भइरहेको उनले बताए।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले गरेको प्रस्तावमा एक्जिम बैंकले लगानी गर्न सकारात्मक संकेत दिएपछि भेरी करिडोरमा प्रशारण लाइन निर्माणको लागि आशा पलाएको छ।

अहिले भएको छलफल अनुसार काम भएमा अर्को वर्ष निर्माण चरणमा जाने सम्भावना रहेको उनले बताए। प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ।

करिब ६ महिनाअघि नै स्वदेशी कम्पनी नियुक्त गरेर अध्ययन गरिएको ज्ञवालीले बताए। आन्तरिक स्रोतबाट उक्त रकम जुटाउन नसक्ने अवस्था आएपछि आयोजना निर्माणका लागि ऋण लिनुपर्ने अवस्था आएको हो। 

नलगाड जलविद्युत् आयोजनाको ऊर्जा मन्त्रालयले कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ। चालु वर्षभित्रै अध्ययन सक्ने योजना छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना, करिब ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युतसमेत यही प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा आउनेछ।

जगदुल्ला जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा लैजाने तयारी छ। सरकार आफैंले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआईए अध्ययन चलिरहेको छ।

भेरी करिडोरभित्र ठूलाठूला आयोजनाहरु निर्माण हुन लागेकाले नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानी पिपलमै ल्याइने भएको बताएको छ।

यहाँ २ हजार ५०० मेगावाट विद्युत यस सव स्टेशनबाट बाहिर जाने लक्ष्य रहेको छ। दानी पिपल लगायतका सव स्टेशन निर्माण कार्य सुरु गरेको ४ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ।

डबल सर्किट प्रसारणलाइन भएकोले पनि यो महत्वपुर्ण रहेको छ। सुरुको नलगाड सबस्टेसन दानीपीपल र अन्तिम बिन्दु सुर्खेतको मेनटाडा सबस्टेसनमा रहने छ। प्रसारणलाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्नेछ।

 यो जम्मा   १५० किलोमिटर रहेको छ।  प्रशारण लाइनका लागि जग्गा मूल्यांकनको काम बाँकी रहेको छ।  ६ हजार ९ सय २० रोपनी जग्गा अधिग्रहण गरिनेछ। सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ।

यस क्षेत्रमा ठुला रूख, तथा धेरै जग्गा अधिग्रहण नहुने देखिएको कम्पनीले जनाएको छ। अहिले कर्णालीले नै उर्जामन्त्री पाएकाले काम गर्न थप सहज भएको बताएको छ।

कोहलपुरबाट सुर्खेत सम्म अहिले १३२ केभी प्रशारण लाइनको काम चालु अवस्थामा रहेको छ। निकुन्जभित्र भएकाले केही समय काममा विलम्ब भएपनि अहिले कामले रफ्तार लिएको नेपाल विद्युत प्राद्यिकरण प्रदेश कार्यालयले जनाएको छ।

अहिले ११ र ३३ केभी प्रशारण लाइनको काम जाजरकोट हुँदै डोल्पा सम्मा निर्माण कार्य जारी रहेको छ। जाजरकोटका ३ ठाउँमा सव स्टेशन निर्माण गर्नका लागि ठेक्का लागेर काम हुने चरणमा पुगेको छ भने चौखामा निर्माण कार्य आधा नै भइसकेको छ।

भेरी नदीबाट विद्युत् निकाल्नका लागि ठाउँठाउँमा अध्ययनका कामहरु भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.