|

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका–५काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना गरिएको छ। गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा बनाएका छन्। उनले १८ हेक्टर जमिनमा स्याउ खेती गरेका छन्। त्यो बगैँचामा २२ करोड लगानी भएको छ।

गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोडभन्दा बढी लगानीमा तीनवटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन्। तीमध्ये सबैभन्दा ठूलो ‘गुठिचौर एग्रो फर्म’को बगैँचा हो। जहाँ १८ हेक्टर जमिनमा ४८ हजार बिरुवा रोपिएको छ। भण्डारीले २२ करोड लगानीमा २०७६ सालमा जुम्लामा ठूलो बगैँचा निर्माण गरेका हुन्।

सञ्चालक भण्डारी भने, ‘स्याउबाटै जुम्लाको समृद्धि सम्भव छ भन्ने उद्देश्यले स्याउखेती गरेको हुँ। २०७६ सालमा १ हजार ५ सय बिरुवा रोपेर बगैँचा सुरु गरेँ। विस्तार गर्दै जाँदा अहिले ४८ हजार बिरुवा रोपिएका छन्। यो वर्ष दुई सय टन उत्पादन हुने लक्ष्य छ भने दुई वर्षभित्र ३ लाख बिरुवा रोप्ने योजना बनाएका छौँ।’ हाल फर्ममा फुजी, गाला, किंरड, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भइरहेको छ।

गुठिचौर–३ का टंक गिरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेका छन्। उनले यो बगैँचा बनाएको २ वर्ष भएको बताए। ‘श्री हिमाली टी एण्ड एन एग्रो फर्म’ दर्ता गरी गिरीले बृहत् बगैँचा निर्माण गरेका हुन्। स्याउबाटै रोजगारी सृजना गर्ने र जुम्लालाई कृषि पर्यटन केन्द्र बनाउने लक्ष्य राखेको बताए।

त्यसैगरी गुठिचौर–५ मै सामुदायिक स्याउ उत्पादन समूहले स्याउको बगैँचा निर्माण गरेको छ। यो समूहले ६५ हजार वर्ग मिटर जग्गामा सामूहिक स्याउ खेती गरेको छ। १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २ हजार ८ सय बिरुवा रोपिएको सञ्चालक धर्म भण्डारीले बताए। उनका अनुसार समूहमा ४० जना किसान यसमा आबद्ध छन्।

स्याउ बगैँचामा ५० जना रोजगार 
गुठिचौर एग्रो फर्म र श्री हिमाली टी एण्ड एन एग्रो फर्मले झण्डै ५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

त्यस्तै गुठिचौर एग्रो फर्मले कृषि वैज्ञानिक सहित ३२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। दैनिक ३० देखि ४० जना ज्यालादारीमा काम गरिरहेका छन् भने स्याउ टिप्ने, सिँचाइ गर्ने वेला ज्यालादारी गर्नेको संख्या बढ्ने गरेको भण्डारीले बताए।

उनले भने, ‘यसको मुख्य उद्देश्य भनेकै आम्दानीसँगै रोजगारी सिर्जना भएकाले भविष्यमा स्याउबाटै सयौँलाई रोजगारी दिन सकिन्छ।’ त्यस्तै ‘श्री हिमाली टि एण्ड एन एग्रो फर्म’ले १६ जनालाई रोजगारी दिएको सञ्चालक गिरीले बताए। उनको बगैँचामा स्थायी रूपमा १६ जना र दैनिक ज्यालादारीमा २५–३० जनाले काम गरिरहेका छन्।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकाले गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने बताए।

त्यस्तै ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए। बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मद्देनजर गर्दै स्याउले आर्थिक समृद्धि, रोजगारी सृजना तथा पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ जुम्लाको गुठिचौरमा करोडौँको लगानीमा कर्णाली प्रदेशकै ठूलो स्याउ बगैँचा निर्माण गरिएको हो।

करोडौँको निजी लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठूलो स्याउ बगैँचाले जुम्लाको आर्थिक समृद्धि, कृषि पर्यटन प्रवर्धन तथा रोजगारी सृजनामा पुग्ने देखिएको छ। बुधबार कृषि विकास कार्यालय जुम्लाको आयोजनामा जिल्ला स्थित सरोकारवालाले गुठिचौरमा रहेका तीनवटा बृहत् बगैँचाको अनुगमन गरेका छन्।

त्यस्तै कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि प्रसारलाई एउटै छानामुनि ल्याएर समन्वयात्मक रूपले सञ्चालन गर्न सकेको खण्डमा जुम्ला कृषि क्रान्तिको आधार बन्न सक्ने देखिन्छ। यसले गर्दा देशका कृषिविद्हरूलाई आवश्यक प्रेरणासमेत दिएर दक्ष र सीपयुक्त जनशक्ति किसानको खेत र किसानको माझ पुर्‍याउनुपर्ने आवश्यकता छ।

कृषकलाई आधुनिक कृषि प्रणाली र कृषि प्रविधिमा दक्ष बनाउन र अभ्यास गराउन अभिमुखीकरण, प्रशिक्षण र तालिमको व्यापक अभियान लाई निरन्तरता दिनुपर्ने यहाँका स्याउ किसानको माग छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.