प्रभावकारी उपचार अभाव

|

सुर्खेत : कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, दैलेख र सुर्खेतमा देखिएको लम्पी स्किन रोगबाट सयौँ पशुचौपाया मरे पनि प्रभावकारी उपचार हुन सकेको छैन।

स्थानीय सरकारले बजेट अभाव भयो भन्दै प्रदेश सरकारसँग माग गरे पनि प्रदेश सरकारबाट समेत औषधिका लागि प्रभावकारी पहल नभएको पीडित कृषकले बताएका छन्। यो सरुवा रोग भएकाले दैनिक पशुचौपायामा अधिक मात्रामा सर्ने गरेको पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटका डाक्टर सुशील ऐरीले बताए।

एक पशुबाट अर्को पशुमा विभिन्न माध्यमबाट लम्पी सर्दा पशुचौपाया जोगाउनै मुस्किल भएको उनले बताए। जाजरकोटको जुनिचाँदे, भेरी, शिवालय‚ छेडागाड, नलगाड लगायतका पालिकामा अत्यधिक मात्रामा यो रोग देखिएको छ।

जाजरकोटमा मात्र १०० भन्दा बढी पशुचौपाया मरिसकेको कार्यालयले जनाएको छ। आफूसँग भएको थोरै बजेटबाट रोकथामका केही काम भए पनि अहिलेसम्म सफल नभएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटले जनाएको छ। गाईगोरुमा बढी देखिएको अस्पतालका तिलक रानाले बताए।

यो रोग लाग्नेबित्तिकै ९० प्रतिशत दूध घट्ने, गर्भवती पशु तुहिने लगायतका समस्या देखा पर्ने उनले बताए। यो रोगलाई नियन्त्रण गर्न सकिने तर उपचार चाहिँ नहुने गरेको उनको भनाइ छ। दुई महिनादेखि फैलिएको रोगले गर्दा किसान हैरान छन्।

जाजरकोट भेरी नगरपालिका-१३ बाट नमुना संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाएर लम्पी रोग भएको प्रमाणित भइसकेको छ।

अहिले पालिकाले प्रदेशको पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई उपचारमा सहयोग गर्न चिठी लेख्छ। पशु सेवाले प्रदेशलाई चिठी लेख्ने काम हुन्छ तर बजेट कतै नहुँदा उपचारमा समस्या देखिएको सरोकारवाला निकायले बताएका छन्। पशुमा लम्पी स्किन देखिएपछि ज्वरो आउने, काँप्ने, खान छोड्ने, आँसु झार्ने‚ सिँगान र र्‍याल निकाल्ने, शरीरमा गिर्खा आउने, शरीरको तल्लो भाग सुन्निने लगायतका लक्षण देखिन्छ।

सरुवा रोग भएकाले आहार, सिधा सम्पर्कबाट, विरामीमा लगाएको सुई अर्कोमा लगाएमा रोग सर्ने गरेको डाक्टर ऐरीले बताए। कर्णाली प्रदेशसभामा समेत यो विषयले प्रवेश पाएको छ। प्रदेशसभा सदस्य विजया बुढाले प्रदेशसभाको बैठकमा बोल्दै लम्पी रोगले पशुचौपाया मरे पनि प्रदेश सरकारले यो विषयमा चासो नदेखाएको बताइन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विज्ञ टोली फिल्डमा गएको बताए। अनुगमन तथा निरीक्षणका लागि टोली फिल्डमा भएकाले बाँकी विवरण आउँदै गर्ने बताए।

मन्त्रालयको पहलमा भ्याक्सिन ल्याउने पहल भइरहेको उनले बताए। सल्यानमा मात्र आएर अनुगमन टोली फर्केको टोलीका संयोजक प्रचण्ड खड्काले बताए। फैलावट धेरै देखियो, नियन्त्रण उन्मुख रहेको खड्काले बताए।

यो भ्याक्सिन महँगो भएकाले समस्या भएको उनले बताए। रोग प्रभावित क्षेत्रमा कति पशु मरे भन्ने यकिन तथ्याङ्क नभएको प्रवक्ता कठायतले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डाक्टर नरहरिप्रसाद घिमिरेले ५ लाख रुपैयाँको भ्याक्सिन किन्ने तयारीमा रहेको बताए।

जिल्ला तथा स्थानीय तहमा समेत प्रचारप्रसारलाई व्यापक बनाएको र खर्च नहुने बजेटबाट भ्याक्सिन थप्ने तयारी भएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.