|

दाङ : बबई गाउँपालिका–१ भाङबारीकी बिमी कँवरको घरसामु तारसहित विद्युत्‌को पोल छ। तार भए पनि त्यसमा बिजुली भने छैन।

३ वर्षअघि गाउँमा विद्युत् उद्घाटन भएपछि बत्ती बाल्न पाइने भयो भनेर त्यहाँका बासिन्दा निकै खुशी थिए तर अहिलेसम्म पोलमा बिजुलीको तार टाँगिएको छ।

उनले भनिन्, ‘यो ठाउँ सबै कुराले विकट छ। बल्लतल्ल विद्युत् आयो, अहिलेसम्म हामीले बाल्न पाएनौँ। पोलमा तार टाँगिएको छ। त्यसमा बिजुली छैन। लहरो मात्र बाल्न भएन। करेन्ट आएको छैन रे?’

उनले आफूहरूले धेरै समस्या भोग्दै आएको पनि गुनासो गरिन्। उनले यहाँका बासिन्दा विद्युत्, सडक, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका सेवाबाट वञ्चित भएको सुनाइन्।

उनले भनिन्, ‘हाम्रो ठाउँमा ७ कक्षासम्म मात्र पढाइ हुने विद्यालय छ। त्यसपछि पढ्न गंगटे जानुपर्छ। त्यसपछि कि हापुरे कि तुलसीपुर जानुपर्छ। फोन पनि राम्ररी चल्दैन। विरामी भएपछि तुलसीपुर जानुपर्छ। अहिले त जेनतेन गाडी चलेका छन्। बर्खा लागेपछि त्यो पनि बन्द हुन्छ।’

उनले आफूहरू जंगली जनावरबाट पनि पीडित हुने गरेको बताइन्। उनले खेतबारीको अन्नपात जंगली जनावरले खाइदिने गरेको बताइन्।

स्थानीय लालबहादुर बोहराको पनि समस्या उस्तै छ। उनले बोइलर कुखुरा पाल्दै आएका छन्। कुखुरालाई पनि राति न्यानो बनाउन सोलार प्रयोग गर्दै आएको बताए। उनले भने, ‘गाउँमा विद्युत् आएको ३ वर्ष हुन लाग्यो। उद्घाटन गर्ने वेला वडा कार्यालयमा बलेको थियो। त्यो पनि एकदुई महिना जति बल्यो। अहिले त्यहाँ पनि बल्दैन।’

उनले गाउँमा कतैकतै लाइन सहितका पोल रहे पनि कतै पोल मात्रै गाडिएको बताए। २०७८ साल पुस १० गते गंगटेमा विद्युत् सेवा उद्घाटन भएको थियो। त्यो देखेर गाउँलेले घरमा वायरिङ गरेका थिए।​

हापुरेसम्म पैदल

अहिले गंगटेसम्म सवारीसाधन चले पनि बर्खाका वेला सडक राम्रो नहुँदा र खोलामा पुल नहुँदा घन्टौँ हिँडेर जानुपर्ने बाध्यता रहेको उनले बताए।

उनले भने, ‘मैले स–सानो व्यवसाय गर्छु। बर्खामा घोडामा सामान बोकाएर ल्याउनुपर्छ। घोडामा सामान ल्याउँदा एउटा घोडाको ३ हजार रुपैयाँ भाडा दिनुपर्छ। विरामी हुँदा पनि बोकेर लैजानुपर्छ। हामीले धेरै समस्या भोगेका छौँ।’

उनले फोनको टावरले काम नगर्दा पनि उत्तिकै समस्या भएको गुनासो गरे। केही ठाउँमा मात्र टावरले काम गर्छ। आकाशमा बादल लागेपछि त्यसले पनि काम नगर्ने उनको भनाइ छ।​

तीनतलेमा फोनको टावर बनेपछि त्यसले केही राहत भए पनि अझै सबै ठाउँमा फोन सहज छैन। बर्खाका वेला कोही विरामी भए हिँडेर कि हापुरे पुग्नुपर्छ कि कोहलपुर जान बाँकेको शमशेरगन्ज जानुपर्छ। बीचमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले जंगली जनावरको उत्तिकै डर हुने उनीहरूको भनाइ छ। गाउँमा उपचार नपाएर अकालमै मृत्यु हुने गरेको छ।

विद्युत् विस्तार छिटै : गापा अध्यक्ष खत्री

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री गंगटेको लाइन मर्मत र लाइन विस्तारको काम छिटै हुने बताए। उनका अनुसार करिब ३ वर्षअघि बबई–१ को वडा कार्यालय गंगटेमा विद्युत्‌को उद्घाटन भएको थियो। त्यतिखेर बर्खाको समय हुँदा हावाहुरीले रूख ढल्दा विद्युत् अवरुद्ध भएको उनको भनाइ छ।

उनले भने, ‘हामी आएपछि धेरै प्रयास गर्दा सफल नभएपछि मर्मत गर्न ढिलाइ भएको हो। अहिलेसम्म त्यहाँका बासिन्दाले विद्युत् बाल्न पाएका छैनन्। करिब २ महिनाअघि मर्मतका लागि विद्युत्‌सँग हामीले सम्झौता गरेका छौँ। अब छिटै विद्युत्‌को काम हुन्छ।’

उनले विद्युत् विस्तारका लागि गाउँपालिकाले १० लाख बजेट छुट्याएको समेत बताए। उनका अनुसार लाइन प्रसारण भएको ठाउँमा बत्ती बाल्ने बताए।

उनले भने, ‘विद्युत् मर्मत र लाइन विस्तार गर्न गर्ने हाम्रो योजना छ। हामीले उपभोक्ता समितिबाट गर्दा थोरै काम हुने र विद्युत् बाल्न नसकिने भएपछि विद्युत्‌सँग साझेदारी गरेका हौँ। अब कामका लागि हामीले विद्युत्‌लाई ताकेता गर्छौँ।’

समस्या समाधान हुन्छन् : मन्त्री मास्की

लुम्बिनीका विनाविभागीय मन्त्री धनबहादुर मास्कीले यहाँको समस्याबारे आफू चिन्तित रहेको बताए। यहाँका समस्या यथाशीघ्र समाधान गर्ने र विद्युत् विस्तार प्रक्रिया अघि बढेको समेत बताए। यस्तै गंगटेसम्म आउन सडकका लागि पहल गरेको भन्दै उनले हापुरेदेखि गंगटे पुग्ने सडकको स्तरोन्नति भइरहेको समेत बताए।

उनका अनुसार अहिले ५ किलोमिटर सडक कालोपत्रे हुँदै गरेको र करिब १७ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। उनले गंगटेसम्म कालोपत्रे गर्ने र त्यसभित्रका गाउँमा सडक पुर्‍याउने आफूहरूको उद्देश्य रहेको बताए।

उनले यो क्षेत्रमा टावर निर्माण भइरहेको बताए। यो उनको निर्वाचन क्षेत्र हो। उनले खानेपानी, शिक्षा लगायतको समस्या पनि छिटै समाधान हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.