|

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा ४ जना बुहारीहरू मिलेर अचार उद्योग सञ्चालन गरेका छन्। प्रतिव्यक्ति दश हजार उठाएर उनीहरूले विगत एक वर्षदेखि अचार उद्योग सञ्चालन गरेका उनीहरूले अहिले राम्रो आम्दानी समेत गर्दै आएका छन्।

खाली समयमा दिदी बहिनीहरूसँग भेट भएको वेला कुरा गर्दै जाँदा खाली बस्नुभन्दा समय सदुपयोग गरौँ भनेर आफूहरू मिलेर  अचार उद्योग सञ्चालन गरेको तुलसीपुर-६ बरुवागाउँकी शारदा आचार्यले बताइन्। उनले घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको एकहप्ते अचार बनाउने तालिम लिएकी थिइन्। त्यही सीप अहिले अचार उद्योगमा सदुपयोग गर्दै आएको उनको भनाइ छ।

उनले तालिममा मिक्स अचार बनाउन सिकेको र अहिले ६ प्रकारका अचार बनाउँदै आएको समेत बताइन्। अहिले सिक्मा अचारसहित अदुवालसुन, हलेदो, हरियो  खुर्सानी, अमलाको गुलियो अचार र मासुको अचार पनि बनाउँदै आएको उनको भनाइ छ। उद्योगमा अचार बनाउनुभन्दा अचारलाई बजार व्यवस्थापन गर्न समस्या अलि समस्या रहेको उनले बताइन्।

उनले भनिन्, ‘पहिले त बजार व्यवस्थापनको समस्या छ। त्यसमा पनि बजारमा गएर केमिकल नमिसाएको अचार हो ? स्थानीयले उत्पादन गरेको अचार राखिदिनुस् भन्नुपर्छ।’ यस्तै उनले आफूहरूबाट एकपटक अचार लगेका ग्राहकले फेरि पनि किन्न आउने गरेको समेत बताइन्। अहिले तुलसीपुरसहित घोराही, लमही, नेपालगञ्ज, बुटवल, नारायणघाट‚ काठमाडौंसम्म अचार खपत हुँदै आएको आचार्यले जानकारी दिइन्।

यस्तै तुलसीपुर-६ डुम्रीगाउँ बस्ने ४५ वर्षीया शान्ता पौडेलले पनि अचार उद्योगमा आबद्ध भएसँगै समयको सदुपयोगसँगै आफ्नो सीपको प्रयोग गरेर आम्दानी गर्न थालेपछि दैनिक जीवनयापन गर्न सहज भएको बताइन्। अचार उद्योग सञ्चालन गर्नको लागि परिवारबाट समेत राम्रो साथ पाएको उनको भनाइ छ। अचारमा तोरी, जिरा धनियाँ मुंग्रीलो, ज्वानो सुकेको र हरियो खुर्सानी मिसाएर अर्गानिक अचार बनाउने भएकाले उक्त अचार एक वर्षसम्म राख्न मिल्ने उनको भनाइ छ।

पहिले बुटिकको काम समेत गरेर करिब डेढ वर्ष अमेरिका बसाइपछि उनी नेपाल फर्किएकी थिइन्।  उनले भनिन्, ‘अमेरिकाबाट नेपाल आएसँगै दिनभरि घर बस्दा छटपटी हुन्थ्यो। पछि दिदीबहिनी मिलेर अचार बनाऔँ भनेर सुरु गरेका हौँ। अहिले आम्दानी पनि भएको छ। त्यही पैसाले घरखर्च चलाउँछु, आफूलाई आवश्यक पर्ने सामान किन्छु।’

सबै जनाले राम्रो प्रतिक्रिया दिने गरेको अर्की उद्यमी गोमा भण्डारी रजौरेले बताइन्।  दाङमा अचार उद्योग नभएकाले दिदीबहिनीहरू मिलेर अचार उद्योग सञ्चालन गरेको बताउँदै उनले आफूहरूले अहिले नेपालभित्र मात्रै अचार पठाउने गरेको र विदेशमा आफन्तलाई पठाउन अचार लिन ग्राहकहरू उद्योगसम्म आउने गरेको समेत बताइन्।

बुहारी अचार उद्योगबाट बनाइएको अचार खाद्य तथा गुणस्तर विभागले गरेको ल्याब परीक्षणमा पहिलोपटकमै गुणस्तरीय भएको भन्दै अचार उद्योग सञ्चालनको अनुमति पाएकाले अझ बढी काम गर्न हौसला मिलेको उनीहरूको भनाइ छ।

बुहारी अचार उद्योगमा विभिन्न थरिका अचारसँगै ग्राहकको मागअनुसार निख्ले बरी, सुत्केरी मसला पनि बनाउने गरेको बिना रजौरेले जानकारी दिइन्। अचारलाई २ सयदेखि १२ सयसम्म पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.