तुरुन्तै भाडादर घटाउन उपभोक्ताको माग

|

काठमाडौं : यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडा दर घटाएको छ। नेपाल आयल निगमले गत मंगलबार रातिदेखि कायम हुनेगरि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएसँगै भाडा दर घटेको हो। 

डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँबाट १५५ रूपैयाँ प्रतिलिटरमा झरेको छ। विभागले सार्वजनिक यातायातमा ३ दशमलव २० प्रतिशतले घटाएको छ। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४ दशमल १९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४ दशमलव ६५ प्रतिशत भाडा दर घटेको छ। 

विभागले सूचनामा हिजो (बुधबार) बाट लागू हुने भने पनि आज (बिहिबार)देखि नयाँ भाडा दर कायम भएको जनाएको छ। तर काठमाडौं उपत्यकाभित्र भने अहिलेसम्म भाडा घटाउनेबारे केही निर्णय भएको छैन।

यस विषयमा यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले प्रदेशले हेर्ने भएकाले प्रदेशबाटै निर्णय आउनुपर्ने बताए। उनले भने, ‘हामीले भाडा दर घटाइसक्यो, कार्यक्षेत्रभित्रको काम गरिसक्यौ, प्रदेशभित्रको अब प्रदेशले नै तोक्छ, हामीले गर्ने होइन।’

‘यो व्यवसायीको दादागिरी हो, तुरून्तै घटाउनुपर्छ’

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन सरकार र यातायात व्यवसायीहरूले मिलेर उपभोक्ताहरूलाई लुटिरहेको भन्दै आक्रोस पोखे।

उनले भने, ‘झण्डै एक वर्षअगाडि यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य बढ्दा अटोक्राइसिस सिस्टममा जान्छौँ भने, सार्वजनिक यातायातमा भाडा बढाए। अहिले डिजेलको मूल्य घटेको २ दिन भइसक्यो, उपत्यकामा भाडा दर घटेको छैन।’

उनले लामो तथा छोटो दुरीको एकमुस्ट भाडा दर कायम हुनुपर्ने बताए। ‘वास्तवमा हाम्रो मार्केटमा दादागिरीले साह्रै हदै पार गरिसक्यो, हुन त राज्य प्रणाली नै भ्रष्टाचारजन्य क्रियाकलाप गरिराखेको बेला यस्ता सानातिना घटना अब सामान्य भयो, भाडादरको निर्णय पनि पार्ट पार्टमा हुन्छ र? अरू ठाउँमा हुने उपत्यकामा नहुने यस्तो पनि हुन्छ ? एकमुष्ट गर्नुपर्थ्याे,’ उनले भने।

उनले अघिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि भाडा दर समायोजन नभएको बताए। नेपाल आयल निगम सञ्चालक समिति बैठकले गत चैत २० मा डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३  रूपैयाँ घटाउने निर्णय गरेको थियो। त्यसपछि मूल्य घटेको भोलिपल्टै आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीले ‘फ्युल सरचार्ज’ ५.९ प्रतिशतले घटाउने निर्णय गर्‍याे। तर सार्वजनिक बसमा भाडा घटेन। 

त्यसबेला यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरूले १३ वटा सूचकसहित भाडाको लागि मापदण्ड बनाइएको र डिजेलको मूल्य घटे पनि सूचक नछोएकाले अर्कोपटक डिजेलको मूल्य घटेपछि स्वचालित वैज्ञानिक भाडा घट्ने बताएका थिए। तर पुनः अर्को पटक डिजेलको मूल्य घटे पनि भाडा भने घटेको छैन।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले तुरून्त काठमाडौं,भक्तपुर र ललितपुरमा चल्ने सार्वजनिक यातायातमा पनि भाडा घटाउन माग गरे। ‘यसरी हामीलाई लुट्न पाइँदैन,’ उनले भने, ‘यसमा राज्यको पनि गम्भीर ध्यानाकर्षण होस्।’ 

मन्त्रालय भन्छ : एक १/२ दिनमा भाडा घट्छ

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाका उपसचिव शंकरराज पाठकले अबको १/२ दिनमा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घट्ने बताए।

उनले थाहाखबरसँग भने, ‘अहिले हामी कति भाडा दर राख्ने भनेर होमवर्क गरिरहेका छौँ, इन्डिकेटरमा हाल्ने काम भइरहेको छ। १/२ दिनमा नयाँ भाडा दर कायम गरि लागू हुन्छ।’

सार्वजनिक यातायातको भाडामा ५ प्रतिशत वा सोभन्दा बढीले पेट्रोलियम पदार्थ बढेमा वा घटेमा समायोजन गर्नुपर्छ। २०७८ सालमाा वैज्ञानिक भाडा दर समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा दर समायोजन हुने व्यवस्था गरिएको छ।

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.