|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मधेसका जनता निर्वाचनको पक्षमा रहेको बताएका छन्। तराईका विभिन्न जिल्लाको भ्रमण गरेर फकेका उनले मंगलबार काठमाडौंमा पत्रकारहरुसँग मधेसका जनता पूर्ण रुपमा निर्वाचनको पक्षमा रहेको दावी गरे। यादवले अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने आशंका नगर्न पनि आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त यादवले केही ठाउँमा सुरक्षा चुनौती देखिएको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह पनि गरे। उनले केही ठाउँमा राजनीतिक वातावरण बनाउन सरकारले नसकेका कारण सुरक्षा चुनौती देखिएको पनि स्मरण गरे।

उनले स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुलाई सहयोग गर्न पनि आह्वान गरे। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गर्न निर्वाचन आयोग दृढतापूर्वक लागि परेको पनि उल्लेख गरे।

निर्वाचन आयोगले निर्वाचनको अनुगमनका लागि जिल्ला, जिल्लामा अनुगमन टोली परिचालन गर्ने तयारी पनि गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले बुधबारदेखि सहसचिव नेतृत्वको टोलीलाई चुनावको अनुगमनका लागि जिल्ला जिल्लामा पठाउने निर्णय लिइएको जानकारी दिए।

टोलीले ४ सय ६१ वटै स्थानीय तहमा पुगेर निर्वाचन आचारसंहिता र निर्वाचनसम्बन्धी विवादको अनुगमन गर्नेछ। निर्वाचन आयोगले उम्मेदवारको मनोनयन भएलगत्तै सबै मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक सामग्री पुर्‍याउनेछ।

असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ नम्बरमा स्थानीय तह दोस्रो चरणको निर्वाचन हुँदैछ।  निर्वाचनका लागि राजनीतिक दलहरुले असार २ गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ। स्थानीय तह पहिलो चरणको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.