|

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठकमा सांसदहरूको पुरानै प्रवृत्ति दोहोरिएको छ।

प्रतिनिधिसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा पनि सदनकै बीचमै बाहिरिने प्रवृत्ति देखा परेको हो। संसद्‌मा कोरम नपुग्दा सदन चलाउन समस्या भएको यसअघिका सभामुखहरूले गुनासो गर्दै आएका थिए। 

आइतबारको प्रतिनिधिसभा बैठक चलिरहँदा अधिकांश कुर्सी खाली भएपछि वक्ता सांसदले खाली कुर्सीलाई नै सलाम गरेका छन्। 

गत शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि संघीय संसद्‌मा छलफल चलिरहेको छ तर महत्वपूर्ण छलफलमा सांसदहरू बीचैबाट हराउने प्रवृत्ति पुरानै देखिएको छ। पुरानै प्रवृत्ति दोहोरिदा सांसद महेन्द्रबहादुर शाहीले खाली कुर्सीलाई सलाम गर्दै आफ्नो सम्बोधन शुरु गरेका छन्।

‘सभामुख महोदय, हामी फेरि पनि परम्परागत शैलीमा  छौं’‚ उनले सम्बोधन शुरु गर्दै भने, ‘पूरै अगाडिका चियर खाली छन्। म खाली चियरलाई सलाम गर्न चाहन्छु। यस्तै खाली चियर हुँदा पनि क्यामेरा खिच्ने मान्छेसम्म पनि यहाँ नहुँदा पनि सभामुखले धैर्यपूर्वक सदन चलाइराख्नुभा छ। यसका लागि म उच्च सम्मान गर्न चाहन्छु, उहाँलाई पनि सलाम गर्न चाहन्छु।’

‘यदि हामीले स्मार्ट ढंगबाट बढ्न सकेनौं, चलाउन सकेनौं भने शायद हामी यही अहिलेकै हविगतमा सधैं रहिरहनेछौं’, उनले भने, ‘यसका लागि मेरो आग्रह छ, नियमावली संशोधन गरौं, कम्तीमा पनि ५१ प्रतिशत सांसद अनिवार्य सभामा उपस्थित हुने अनि त्यसपछि सदन चलाउने गर्दा अझै राम्रो र प्रभावकारी होला।’

सांसद शाहीले यस्तो हविगतमा परिवर्तन ल्याउन नियमावली संशोधन गरी कम्तीमा पनि ५१ प्रतिशत सांसदको उपस्थितिमा मात्रै सदन चल्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

अर्की सांसद रञ्जुकुमारी झाले स्वअनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै हिन्दी कविता नै सुनाएकी छिन्। नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिसकेपछि सांसद झाले अन्त्यमा कविर दासको भनाइ उल्लेख गरेकी छन्।

‘सिट जति खाली भए पनि यहाँ रेकर्ड त हुन्छ नै’, उनले थपिन्, ‘कविर दासले भन्नुभएछ, बुरा जो खोजन माइ चला, बुरा न मिलिया कोही, जो मन खोजन आप मे मुझसे बुरा ना कोइ।’

सांसद झाले थप अर्थ्याइन्, ‘सबभन्दा पहिला हामी स्व-अनुशासित हौं, आफूलाई पहिला समीक्षा गरौं अनि अर्कोतिर औंला उठाऊँ।’

यही अधिवेशनबाट सांसदहरूको डिजिटल हाजिरी गर्ने निर्णय भएको दुई साता बितिसक्दा समेत कार्यान्वयनमा ल्याइएको छैन। सांसदहरू बैठकको भत्ता पचाउन मात्रै सदनमा उपस्थित हुने गरेको भन्दै चर्को आलोचना भएपछि गत वैशाख २४ गते बसेको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सांसदहरूको डिजिटल हाजिरी गर्ने व्यवस्था गरिने निर्णय गरेको थियो। 

यद्यपि हालसम्म कार्यान्वयनमा आइनसकेको प्रतिनिधि सभाका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए। थाहाखबरसँग कुरा गर्दै उनले डिजिटल हाजिरी यथाशीघ्र कार्यान्वयनमा ल्याउने गरी सचिवालयले तयारी गरिरहेको बताएका छन्।​

‘मेसिनहरू कहाँ कहाँ राख्ने, कतिवटा चाहिने र कसरी त्यसको व्यवस्थापन गर्ने भनेर त्यसको कार्यविधिगत पक्षमा सचिवालयले वर्कआउट गरिरा’छ, इएचएमएसमा जाने कुरा चाहिँ अब छिटै हुन्छ’, उनले थपे, ‘अहिले बजारमा  उपलब्ध अत्याधुनिक इएचएमएस के कस्तो रैछ‚ प्रविधि सचिवालयले त्यो पनि हेरिरा’छ र कार्यविधिगत पक्षमा पनि काम गरिरहेका छौँ।’

सांसदहरूको डिजिटल हाजिरी हुने र हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक गरिने घोषणा सभामुख घिमिरेले गरिसकेका छन् तर कार्यान्वयनको पक्ष निकै फितलो हुँदा सदनमा सांसदहरूको उपस्थित मनपरी छ।

आइतबार बिहान ११ बजेदेखि शुरु भएको बैठक साढे ७ घण्टासम्म निरन्तर चलेको थियो। नीति तथा कार्यक्रममाथि सांसदहरूको धारणा राख्ने क्रम नसकिएपछि बैठक भोलि सोमबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.