|

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन्। 

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। 

‘संसदीय छानबिन समिति गठन गरौँ। त्यो सुन कसले खायो? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ। तर, व्यक्तिगत हिसाबले किटान गरिएको थिएन,’ उनले भने, ‘उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हो। मैले कहीँ संसदीय मर्यादा उल्लंघन गरेको छैन। मेरो बोल्न पाउने अधिकार मसँग सुरक्षित छ नि। मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ। कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन।’

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधिसभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद् बैठक चल्ने धारणा राखे। उनले संसद् नचलाउने नियत देखिएको बताए। 

उनले भने, ‘सभामुखले सुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरू आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन सुरुमै चल्थ्यो। सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन? किन नियत देखियो थाहा छैन। भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरूलाई ल्याउनुपर्ने जरुरी छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे। उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए। 

‘त्यो सुन हो कि पित्तल हो भन्ने कुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ। र सरकारले आजै जवाफ दिनुपर्छ । हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्‍यो । यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तब मात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ। समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्था माथिको प्रहार पनि हो। सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ । प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ,’ शाहीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.