|

जाजरकोट : स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट-९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन सुरु गरिएको छ।

नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन सुरु भएको छ। टोलीले पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माेणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन दिएको हो।

अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादुर बटाला, वडा सदस्य र पालिकाका ईन्जिनियर राजेश गौतमसहित सहभागी टोलीले आइतबार र सोमबार अनुगमन गरेका थियो। नगरपालिकाले गुणस्तर नभएको पाइएपछि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट प्राविधिक राजबहादुर विष्ट लगायतको टोलीले सोमबार अनुगमन गरिएको थियो।

अनुगमन गर्दा काम गुणस्तरहिन भएको प्रमाणित भएपछि भत्काएर पुनःनिर्माण गर्ने सहमति भएको छ। नगरपालिकामा भएको छलफलबाट गुणस्तरहिन काम भएको निर्माण व्यवसायीले स्वीकार गरेपछि भत्काएर पुनः काम गर्ने सहमति भएको थियो।

गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालीले लिएको सडकको ठेक्का अनुगमनका क्रममा मापदन्डविपरीत भएको पाईएको हो। गौरीशंकर कन्ट्रक्सन र शहरी विकास मन्त्रालयबीच राडी बजारदेखि खारखारासम्म ग्रावेल, मेसनरी वाल र नालासहित १४ करोडमा ठेक्का सम्झौता भएको थियो।

शुभारम्भ कम्पनीसँग ६२ लाखमा ठेक्का सम्झौता भएको हो। गौरीशंकर हिमालयन कम्पनी र शुभारम्भ कम्पनीले निर्माण गरिरहेको सडक तथा नालाहरु निर्माण गर्दा गिट्टी र ढुङ्गाको मात्रा ६०/४० हुनुपर्नेमा ढुंङ्गा मात्रै राखेर निर्माण गरिएको पाइएको छ।

निरीक्षणमा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको नगरप्रमुख केसीले बताए। उनले भने, ‘यि दुई निर्माण कम्पनीले सडक निर्माणमा गरेको लापरवाहीका कारण निर्माण रोकेर भत्काउन सुरु गरिएको हो। तीन दिनअघि मात्र ठेकेदार कम्पनीलाई गलत काम भएको ठाउँमा सच्याउन आग्रह गरिएको भए पनि निर्माण व्यवसायीले अटेर गरेपछि आज भत्काउन सुरु गरिएको हो।’

सडकको नाला निर्माण भएको एक हप्ता नपुग्दै भत्किन थालेपछी नगरपालिकाले काम रोकेर यो एक्सन लिनु परेको नगरप्रमुख केसीले बताए। स्थानीयले सडक निर्माणका क्रममै गडबड गरिएको शंका गरेका छन्।

स्थानीय बासिन्दाले निर्माण व्यवसायी र शहरी विकास मन्त्रालयका इन्जिनियरको लापरवाहीले यस्तो अवस्था आएको बताएका छन्। नगरपालिकाका इन्जिनियर राजेश गौतमले बसपार्क र क्याम्पस नजिकको ढलानमा निर्माण सामग्री नमिलेको कारणले केही कमजोरी भएको बताए।

सडकमा ढलान गरेकै बेलामा बालुवा, सिमेन्ट र गिट्टीको मात्रा नमिलेको कारण ढलानमाथि फाटेर चिरा परेको उनले बताए। एकातिर भत्किन सुरु भैसक्दा सोही योजनाको सडक मर्मत भने अझै सकिएको छैन।

बसपार्कदेखि एक सय मिटर क्याम्पस गेट अगाडिसम्मको भागमा कालोपत्रे नगरि अलपत्र छाडिएको छ। नाली खनेर त्यत्तिकै अलपत्र पारिएको छ। छेउछेउमा खनेर त्यत्तिकै राख्दा धुलो उडेर स्थानीय व्यापारीसमेत हैरानीमा परेका छन्। शहीद स्मृति नमुना स्कुलको ठेक्का लिएको जनचाहना थापा जेवि निर्माण कम्पनीलाई पनि चेतावनी दिइएको छ।

स्कुलको पर्खाल निर्माणमा लापरवाही देखिएपछि मापदण्डअनुसार काम गर्न निर्देशन दिएका छन्। शक्ति केन्द्रको भरमा ठेक्का लिइ गुणस्तरहीन काम गरि रकम कुम्ल्याउन बानी परेको भन्दै आफ्नो पालिकाभित्र त्यस्ता गलत काम हुन नदिने नगरप्रमुख केसीले दावी गरे। धेरै पटक सुझाव दिँदा पनि अटेर गरेपछि भत्काउन सुरु गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.