|

विराटनगर : ‘नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जवाफ एउटै थियो, पानी। यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचनताका धरानवासीलाई सोधिएको थियो।

त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात् (हर्क साम्पाङ) चुनावी अभियानमा एक्लो यात्रा तय गरिरहेका थिए। उनका वरिपरि न झण्डा बोक्ने हुल थियो, न चुनाव प्रचारप्रसारका लागि सारथि।
उनीसँग पानीको एजेण्डा र धरानवासीलाई पानीको अभावबाट मुक्त गर्ने प्रतिबद्धता मात्रै थियो। त्यही प्रतिबद्धता पूरा गर्ने हुटहुटीले स्थानीय तहको निर्वाचनमा होमिएका साम्पाङले धरानवासीको मत पाउँछ भन्नेमा धेरै मानिस विश्वस्त थिएनन्।

पार्टीका नेता कार्यकर्ताको अपेक्षाविपरीत उनलाई अत्यधिक मतका साथ धरान उपमहानगरपालिकाको बागडोर सम्हाल्न जनताले नगरप्रमुखका रूपमा चुनेका थिए।

दशकौंदेखि पानीको हाहाकार भोग्दै आएका धरानवासीलाई शपथग्रहणका दिनदेखि पानी खुवाउने जोडमा लागेका उनका लागि चुनौती र आलोचनाका चाङ नथोपरिएका होइनन्।

उनले आफ्नै नेतृत्वमा रहेका जनप्रतिनिधिबाट सहयोग पनि पाएनन्। तैपनि त्यही आलोचना र असहयोगलाई सफलताको खुड्किला सम्झेर अघि बढेका साम्पाङ कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भए।

विविध उत्तारचढाव, आलोचना र संघर्षका बीच नथाकी नधकाई जनतासमक्ष राखेको प्रतिबद्धता पूरा गर्न अघि बढेका साम्पाङ सोमबार मध्यरातमा निकै भावुक बनेका थिए। पुलकित मन आँखामा पुगेर छचल्किएको देख्न सकिन्थ्यो। केही समय गम्भीर भएर उभिएका उनी आफूसँगै पुगेका सहयात्री (धरानवासी) र उपप्रमुखसँग पानीसँगै खुशी साट्न भ्याएका थिए।

उनको भावुकता, खुशी र आँखाका डिलमा छचल्किएको हर्षका आँसु धरानवासीको साथ र उनले दिनरात नभनी खोलाको बगर र पानीको पाइपमा बगाएको पसिनाको उपज हो भन्दा फरक पर्दैन। त्यसो त उनको सफलतामा साथ दिन धरानवासीलो पनि निद्रा समर्पण नै गरेका थिए। उनले कोकाहाको पानी पकुवा खोलासम्म नलगी घर नजाने प्रतिबद्धता गरेका थिए।

पछिल्लो समय खडेरीका कारण उनै साम्पाङको नेतृत्वमा बनेको सानोतिनो पानीको स्रोत सुकेर धरानमा खानेपानीको अभाव उत्तिकै खड्किएको थियो। त्यही अभाव र जनताको गुनासोलाई मद्देनजर गर्दै उनी दिनरात नभनी धरानसम्म पानी ल्याउने अभियानमा लागेका थिए। शुक्रवार कार्यालय सकेर कोकाहा खानेपानी परियोजनातर्फ लागेका उनी आइतबार र सोमबार श्रम अभियानमै खटिएका थिए।

सोहीअनुसार सोमवार राति १२ः०३ बजे कोकाहाको पानी धरानको पकुवा खोलामा आइपुगेको थियो। लामो संघर्ष र परिश्रमले पानी ल्याउन सफल भएका उनी आफ्नो भावुकता, आँसु त्यही पानीमा पखाल्दै खुशी बाँडेका थिए। आफ्नो अभियान सफलताका साथ अवतरण गराएसँगै घर फर्किएका साम्पाङ आलोचनाको प्रहारले थप बलियो बनेको धरानवासीको बुझाइ छ।

खानेपानी अभियानकै लागि देशविदेशबाट सहयोग आएको छ भने धरान लगायत अरू ठाउँबाट पनि श्रमदानका लागि मानिस आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.