|

जुम्ला : जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लामा जटिल अवस्था भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाएको छ। जुम्लाको प्रतिष्ठानमा सुत्केरी हुनुपूर्व जाँचका लागि आएका गर्भवती महिलामा जटिल खालको समस्या देखिएको अवस्थामा डाक्टरको सल्लाहअनुसार बस्नका लागि आवास बनाइएको हो। 

जुम्लाका अधिकांश गाउँपालिकामा भरपर्दो प्रसूति सेवा छैन। धेरै गर्भवती महिला कर्णाली स्वास्थ्य विज्ञानको प्रसूतिगृहमा आउने गरेका छन्। जटिल खालका गर्भवती महिला र सुत्केरी भइसकेपछि पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका सुत्केरीलाई जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आवासको व्यवस्था गरेको हो।

अकालमै उनीहरूले ज्यान गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रमकी सम्पर्क व्यक्ति मोर्चा शाहीले बताइन्। उनले भनिन्, ‘यसले गर्दा जटिल खालका गर्भवती महिलालाई निकै सजिलो हुनेछ।’

हिमाली तथा पहाडी जिल्लाका गर्भवती महिला घरमै सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यका साथ संघीय सरकारले यस्तो कार्यक्रम लागू गरेको हो। उनका अनुसार अहिले चारवटा कोठा तत्कालका लागि भाडामा लिइएको छ। उनले थपिन्, ‘संघीय सरकारको पहिलो कार्यक्रम हो। यसको उद्देश्य संस्थागत सुत्केरी हुने दर बढाउने हो।’

योपटक सामग्री सहित खानाको व्यवस्थापन गरेको छ। अर्को सालमा कोठा भाडा र खाना खर्च मात्रै पठाउने देखिन्छ। उनका अनुसार यो कार्यक्रम लागू भएपछि होम डेलिभरी (घरमा सुत्केरी हुने) सुत्केरी महिलाको दर घट्ने देखिन्छ।

यो कार्यले जटिल समस्या भएको सबै महिला गर्भ जाँचदेखि लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउने देखिन्छ। उनीहरूलाई बस्ने आवासगृहमा तातो चिसो पानीको व्यवस्था, भान्सालगायत आधारभूत आवश्यकताका सामग्री राखिएको छ।

उनले भनिन्, ‘अब जटिल खालका समस्या भएका सुत्केरीले सेवा नपाएर ज्यान गुमाउनु पर्दैन।’ सुत्केरी हुने क्रममा आमा, बच्चा अथवा दुवैको ज्यान जोखिममा पर्छ। यो कार्यक्रमले उनीहरूका लागि सहज हुनेछ।

जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको ज्यान जाने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.