|

बैतडी : बैतडीको मेलौली नगरबजारक्षेत्रको विद्युत् सेवा दुई हप्तादेखि अवरुद्ध रहेको छ। सुर्नयागाड चौथो लघु जलविद्युत् परियोजनाबाट आउने बिजुली जेठ दोस्रो हप्तादेखि बन्द भएको हो। 

विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक अन्धकारमा बस्नुपरेको स्थानीय सुरत पार्कीले बताए। उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको छ, विद्युतबाट सञ्चालन हुने विद्युतीय उपकरण पनि पनि बन्द छन्।’

साथै विद्युत् नहुँदा मेलौलीमा सामुदायिक रेडियो मेलौली एफएमको प्रसारण सेवा पनि अवरुद्ध बनेको रेडियोका स्टेशन म्यानेजर लक्ष्मण विकले बताए। उनले भने, ‘विद्युत् सेवा दुई सातादेखि अवरुद्ध छ। विद्युत् नहुँदा रेडियोको प्रसारण पनि बन्द भएको छ।’ 

मेलौली क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा स्थानीय लघु जलविद्युत्‌को भरमा बासिन्दा बस्ने गरेका छन् तर लघु जलविद्युत् पनि वेलावेला बिग्रिने भएकाले सास्ती हुने गरेको छ।

परियोजना कोषाध्यक्ष जगतसिंह विष्टले हावाहुरी तथा चट्याङले ट्रान्सफर्मरमा आगलागी हुँदा विद्युत् अवरुद्ध भएको बताए। उनले भने, ‘चट्याङबाट ट्रान्सफर्मरमा आगलागी भएको हो। आगलागीबाट बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि धनगढी पठाएको छौं। केही दिनमा विद्युत् सञ्चालन हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.