|

विराटनगर : गत रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारीअनुसार बाढीपहिरोबाट संखुवासभा‚ ताप्लेजुङ र पाँचथरमा एक‚एकजनाको ज्यान गएको हो।

उनका अनुसार हालसम्म २९ जना बेपत्ता रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला संखुवासभा हो। संखुवासभामा २० जना बेपत्ता रहेका छन्। संखुवासभाको हेवाखेलामा गतराति आएको बाढीले सात घर बगाएको छ।

बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन्। १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ। सोही जिल्लाको मकालु गाउँपालिकामा चारजना बेपत्ता भएको प्रहरी प्रमुख बास्तोलाले जानकारी दिए। एकजनाको शव भेटिएको उनले जानकारी दिए।​

यसैगरी पाँचथर पाँचजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एकजना रहेका छन्।​

बाढीपहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ। पुल बगेसँगै राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताए।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता छन्। पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन्।

बेपत्ता परिवारमध्ये एकजनाको शव निकालिएको छ। यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। सोही ठाउँका अर्का एकजना भरत तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो क्षति भएको बाँस्तोलाले जानकारी दिए। तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसा भत्किएका छन्। केही हाइड्रोमा क्षति पुगेको छ। पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुलमा पूर्ण क्षति पुगेको छ।

तमोर करिडोरमा विभिन्न पुल भत्किएका छन्। धनकुटा मूलघाटतिर जाने बाटोको आगमन बन्द भएको डिआइजी बाँस्तोलाले जानकारी दिँदै भने, ‘वर्षा रोकिने र पर्ने क्रम जारी छ। तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारी उक्त ठाउँमा उद्धारमा खटिएका छन्। नेपाली सेना र सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन्।’

कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था रहेको र पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको र जोखिममा भएका मानिसलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको प्रदेश प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.