पूर्वतयारीमा चरम लापरबाही

|

विराटनगर : कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।

 २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १र १ जना पुरुषको मृत्यु भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन्। जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ।

यस्तै, हालसम्म पहिरोले पुरेर वेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर वेपत्ता हुनेको संख्या २१ जना रहेको छ। जसमा संखुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई  छन्।

भौतिक संरचनादेखि पशुपक्षीसमेत क्षति

मन्त्रालयका अनुसार १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ। यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको  छ।

यस्तै, ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ। आंशीक रुपमा २२ घरमा क्षति पुगेको छ।

यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशु्पंक्षीको मृत्यु भएको छ। हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ।

पूर्वतयारीमा चरम लापरबाही

प्रत्येक वर्ष विपद्का यस्ता घटना बढ्दै गए पनि तीनै तहका सरकारले पूर्वतयारीमा चरम लापरबाही गर्दा क्षतिका घटना बढ्दै गएको सरोकारवालाहरुको बुझाइ छ।

संखुवासभा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका जिल्लामा त्रिपाल, कम्मल लगायतका सामग्रीहरू मन्त्रालयले पठाएको मन्त्रालयले जनाएको छ।

 आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीलाई प्राथमिकता राखेका छैनन्।

यद्यपि  विपद् व्यवस्थापन कार्य योजना विषयमा छिट्टै बैठक बसेर टुङ्गग्याउने  मन्त्रालयले जनाएको छ।

सरकारले पूर्वतयारी स्वरूप ‘क्विक रेस्पोन्स टिम’ बनाउने तथा उद्धार गर्न चाहिने ट्युब, डोरी, बोटजस्ता सामग्री तयारी अवस्थामा राख्नुपर्ने भए पनि अहिलेसम्म सामग्री मन्त्रालयमा आइपुगेको छैन।

जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि सुरक्षित वासस्थानका लागि कुनै तयारी समेत सरकारले गरेको छैन। बाढी पहिरोबाट विस्थापित बनेपछि सरकार चाउचाउ, बिस्कुट, नुन, तेलजस्ता खाद्यान्नका सामग्री बोकेर जाने भन्दा केही गर्न सकेको छैन।

उद्धार तथा राहतका लागि कोशी प्रदेशका १४ जिल्लाका लागि झापाको चन्द्रगढीस्थित गुल्ममा प्रहरी राखिएको छ। तर उद्धार तथा राहतमा तुरुन्तै पुग्ने अवस्था भने नरहेको प्रहरीको भनाइ रहेको छ।

१२५ जनाको दरबन्दी भए पनि १०७ जना हाल कार्यरत रहेका छन्। तत्काल ५० जना मात्रै उद्धार तथा राहतमा खट्न सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.