|

विराटनगर : धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रणलाई सफल बनाउन  जनस्तरबाट प्रतिबद्ध भएर लागि पर्नुपर्ने धारणा सरकोकारवालाहरुले राखेका छन्।

बुधबार विराटनगरस्थित कोशी अस्पतालमा राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चार केन्द्रको सहयोगमा  विराटनगर महानगरपालिका वडा नं. ७,  हेल्थ आवाज र आउटरिच मिडिया प्रालिको संयुक्त आयोजनमा भएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमसम्बन्धी सरकोकारवालासँगको छलफल कार्यक्रममा  सरोकारवालाहरुले यस्तो सुझावसहितको धारणा राखेका हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन विश्वको सबैभन्दा उत्कृष्ट नेपालको रहे पनि कार्यान्वयनमा चुनौती हुँदा नियन्त्रणको सन्दर्भमा असहज भएको उनीहरुको भनाई थियो।

विराटनगर महानगरपालिकाका उप्रमुख शिल्पा निराला कार्कीले निर्माण गरिएका ऐनकानुन महानगरले मात्रै कार्यान्वयन गर्ने नभएर सबैले  मिलेर गर्नुपर्ने बताइन्। उनले महानगरले ल्याएका कतिपय ऐननियमलाई कमजोरी खोज्दै खिसिट्युरी गर्ने गरिएकाले सकारात्मकभन्दा पनि नकारात्मक ऊर्जा मिल्ने गरेको बताईन्।

‘हामीले गरेर मात्रै विराटनगर बन्दैन सबै ठाँउबाट आउनुपर्‍यो,’ उनले भनिन्, ‘हामी हातेमालो गरेर तपाईंहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तयार छौँ।’

प्याब्सन मोरङका कोषाध्यक्ष उत्तम डंगोलका अनुसार धुम्रपानको उद्धगमस्थल स्कुल नै हो। अभिभावकबाट सिकेको कुरालाई नै बच्चाहरुले ग्रहण गर्ने हुँदा त्यसको बढी असर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पर्ने गरेको उनले बताए।

‘कक्षा ७ पढ्दासम्म त पढाईमा तेज हुन्छन् सबै ठिक हुन्छ सबै कुरामा अब्बल नै हुन्छन्,’ उनले भने, ‘कक्षा ८ मा पुगेपछि उनीहरुले ट्र्याक नै मोड्छन्, त्यहाँदेखि धुम्रपान लागुऔषध जस्तामा फस्न सुरु गर्छन्।’ यसलाई न्यूनीकरण गर्न अभिभावकस्तरबाट नै सुधार गर्नु जरुरी रहेको उनको भनाई थियो।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक सिडिओ प्रदिप शाहले नियमन गरिएका कुराहरुमा जनता आफैं पनि सचेत हुनुपर्नेमा जोड दिए। यस्तै वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठले प्रहरी प्रशासनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलिरहेको बताए।

सुर्तीजन्य पदार्थ १५ देखि २८ वर्ष उमेर समूहले बढी सेवन गर्ने गरेको प्रदेश स्वास्थ्य अधिकृत कृष्णदेवले जानकारी दिए। अरुले गरेको धुम्रपानले पनि सँगै बसेकालाई असर  गर्ने बताउँदै उनले १८ वर्षमुनिका बालबालिका र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रि वितरण गराउन नहुने बताए। यसमा खासगरी स्थानीय तहको भूमिका रहने समेत उनले बताए।

कोशी अस्पतालका दन्त तथा अनुहार रोग विशेषज्ञ डाक्टर सुधीर श्रेष्ठले सरुवा रोगभन्दा मुखको क्यान्सरका बिरामी दैनिक २ देखि ३ जना ओपिडीमा आउने गरेको जानकारी दिए।

उनले कोशी प्रदेशका विभिन्न जिल्ला र छिमेकी देश भारतको बिहारदेखि समेत मुखको क्यान्सरका बिरामी उपचारका लागि कोशी अस्पताल आउने गरेको बताए। ‘यहाँ सरुवा रोगभन्दा पनि धेरै मुखको क्यान्सरका बिरामीहरु आउने गर्छन्,’ उनले भने, ‘कोशी प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउनुहुन्छ‚ भारतको बिहारबाट पनि आउनुहुन्छ, हालसम्म माडेर खाने सुर्तीका कारण क्यान्सर लाग्ने गरेको पाइएको छ।’

विसं २०७९ चैत २८ गते विराटनगर महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनले महानगर क्षेत्रभित्रका कार्यालय शिक्षण संस्था, स्वास्थ्य संस्था बालकल्याण गृहलगायत सार्वजनिक स्थलहरुमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न निषेध गरिने निर्णय गरेको थियो।

महानगरका अनुसार वैशाख १ गतेदेखि लागू गर्ने भनिए तापनि पूर्ण रुपमा साउन १ गतेदेखि नियम लागू गरिनेछ। उक्त नियमका विषयमा पनि कतिपय नगरवासीले विरोध जनाएका छन् भने धेरैले समर्थन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.