|

काठमाडौं : नेपालमा हाल जन्मेका मध्ये नेपालमा १८ प्रतिशत जीवित बालबालिकाको  जन्म अपरेशन (सी-सेक्शन) गरेको पाइएको छ।

सरकारीभन्दा निजी स्वास्थ्य संस्थामा जन्मने आधाभन्दा बढी शिशुहरु अपरेशनबाट जन्मने गरेका छन्। यसरी अपरेशन गरेर शिशु जन्माउनेमध्ये सबैभन्दा बढी माध्यमिक शिक्षाभन्दा माथि अध्ययन गरेका ४८ प्रतिशत छन् भने सम्पन्न घरपरिवारका ३८ प्रतिशत र सहरी क्षेत्रका २२ प्रतिशत महिलाहरू भएको पाइएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले देखाएको छ।

नेपालमा ७९ प्रतिशत जीवित शिशुहरू स्वास्थ्य संस्थामा जन्मिने गरेका छन्। तीमध्ये ६२ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा जन्मने गरेका छन्। अझै पनि १९ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन्।

प्रदेशअनुसार घरमा जन्मने सबैभन्दा धेरै शिशु मधेश प्रदेशमा ३२ प्रतिशत, त्यसपछि कर्णाली प्रदेशमा २४ प्रतिशत र कोशी प्रदेशमा १८ प्रतिशत रहेको पाइएको छ।

पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको संख्या बढे पनि अपरेशनको माध्यमबाट शिशु जन्माउने क्रम पनि बढेको हो।

सर्वेक्षणअनुसार स्वास्थ्य संस्थामा शिशु जन्माउनेको प्रतिशत उल्लेख्य रूपमा बढेको छ, जुन सन् १९९६ मा ८ प्रतिशत थियो भने सन् २०२२ मा ७९ प्रतिशत पुगेको छ र घरमा शिशु जन्माउने महिला ९१ प्रतिशतबाट १९ प्रतिशतमा झरेको छ।

नेपालमा ५ मध्ये ४ शिशुको जन्म दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको छ। दक्ष स्वास्थ्यकर्मीबाट हुने जन्म घरपरिवारको सम्पन्नतासँगै बढ्दै गएको सर्वेक्षणले देखाएको छ।

२ वर्षयता जीवित शिशु जन्माएका १५-४९ वर्ष उमेर समूहका ९४ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती/प्रसूति सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ। दक्ष स्वास्थ्यकर्मीमा डाक्टर, नर्स र अनमि पर्ने गर्छन्।

गर्भवती/प्रसूति सेवा पाउने समय र सेवाको गुणस्तर गर्भवती महिलाको लागि धेरै महत्वपूर्ण हुन्छ। समग्रमा ८१ प्रतिशत महिलाले आफूले जन्माएको सबैभन्दा पछिल्लो जीवित शिशुको लागि ४ वा सोभन्दा बढी पटक गर्भवती जाँच गराएका थिए र ७३ प्रतिशतले गर्भावस्थाको पहिलो ३ महिना भित्रमा पहिलो जाँच गराएका थिए।

सबैभन्दा पछिल्लो जीवित जन्मको लागि गर्भवती जाँच गराएका महिलामध्ये ९५ प्रतिशतको रक्तचाप मापन गरिएको थियो, ९० प्रतिशतको पिसाबको नमूना परीक्षण गरिएको थियो र ८६ प्रतिशतको रगत परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.