|

 जुम्ला : जुम्लाका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन्। स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने नीतिअनुसार योपटक बजेट सहित नीति तथा कार्यक्रम ल्याएका हुन्।

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले कुल ३ अर्ब ३८ करोड १९ लाख बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन्।

त्यस्तै चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ मा ५५ करोड १० लाख ८० हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख रामदेवी खड्काले बताइन्। उनले भनिन्, ‘मूलभूत नीति तथा कार्यक्रमसहित बजेट ल्याएको हो।’

भौतिक विकास, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, बायो इन्जिनियरिङ, फोहरमैला व्यवस्थापन र खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ।​

यसैगरी महिला तथा बालबालिका, स्वास्थ्य शिक्षा युवा तथा खेलकुद, कृषि, संस्कृति तथा पर्यटन र सूचना सञ्चार प्रविधि नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति बनाई विस्तृत एवं एकीकृत कार्ययोजना बनाएर लागू गरिने नगरप्रमुख राजुसिंह कठायतले बताए।

त्यस्तै तिला गापाले आर्थिक वर्ष २०८०।८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको बजेट ल्याएको छ। गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गोरीकला बुढाले आर्थिक वर्ष २०८०।०८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

नीति तथा कार्यक्रममा कृषि पशु विकास, लघु उद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत्, सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले बताइन्।

त्यस्तै गुठीचौर गापाले ३२ करोड ५८ लाख २५ हजार ७ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शान्तिकुमारी मल्ल भण्डारीले बताइन्।

शिक्षामा लगानी गरौँ, पढाऊँ लेखाऊँ बालबालिका र सामूहिक संकल्प गरौँ, बनाऊँ सुरक्षित गाउँपालिका भन्ने मूल नारासहित आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेट ल्याएको गुठीचौर गापा अध्यक्ष दानबहादुर बुढाले बताए।

दशौँ गाउँसभाबाट मदिरा नियन्त्रण कार्यविधि, आर्थिक ऐन, निर्माणजन्य ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन र विक्री वितरण सम्बन्धी कार्यविधि र वडा विभाजन सम्बन्धी निर्णय पनि पारित भएको हो। वडा नम्बर ४ र ५ वडालाई विभाजन गर्ने निर्णय पारित भएको हो।

त्यसैगरी कनकासुन्दरी गापाले ४८ करोड २९ लाख ४३ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार संयोजक हंसराज न्यौपानेले बताए।

उनले भने, ‘गापाले कोटघरमा बेलिब्रिज पुल निर्माण र नाग्म गमगढी सडकअन्तर्गत हाडसिंजा सडक खण्डदेखि कनकासुन्दरी मन्दिर जाने झोलुङ्गे पुल निर्माण गर्ने महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको हो।’

त्यस्तै सिंजा गापाले ३७ करोड ३९ लाख २० हजार ३ सय रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शीतली रोकायाले बताइन्।

त्यसैगरी पातारासी गापाले ४० करोड ४५ लाख ३७ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख जनमाया रोकायाले बताइन्।

तातोपानी गापाले ४० लाख २५ हजार ८२ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख रेवती रावलले बताइन्। हिमा गापाले ३९ करोड ९७ लाख ४८ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष लक्ष्मण शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.