|

काठमाडौं :  नेपाल भ्रमणमा आउने पर्यटकले चालू आर्थिक वर्षको दस महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँ खर्च गरेका छन्।  नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले पर्यटकबाट भ्रमण आयका रूपमा ४७ करोड ९० लाख डलर अर्थात् ४९ अर्ब ३३ करोड रुपैयाँ प्राप्त गरेको हो।  

भूकम्प र दक्षिणतर्फको सीमा अवरोधका कारण गत वर्ष पर्यटक आगमन घट्दा भ्रमण आय घटे पनि चालू आर्थिक वर्षमा केही सुधार देखिएको हो। आव २०७१\७२ को दश महिनाको तुलनामा चालू आर्थिक वर्षको भ्रमण आयमा भने व्यापक अन्तर छैन। 

राष्ट्र बैङ्कका अनुसार सो आर्थिक वर्षको दश महिनामा भ्रमण आयबापत नेपालले ४५ करोड ९७ लाख डलर अर्थात् ४७ अर्ब ३४ करोड रुपैयाँ प्राप्त गरेको थियो।  सोही आर्थिक वर्षभर भ्रमणबापतको आय ५३ करोड ३७ लाख डलर थियो ।  

नेपाल भ्रमणमा आउने पर्यटकले व्यक्तिगत रूपमा गर्ने खर्चको तथ्याङ्क राख्ने प्रणाली नभएका कारण पनि विगतका वर्षको तुलनामा खर्चको वृद्धिदर धेरै नदेखिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यको भनाइ छ।  पर्यटकले बजारमा गएर आफै गर्ने खर्च राख्न नसक्दा पनि सरकारले प्राप्त गर्ने आय कम भएको हो, उनले भने।  

पर्यटकका लागि आवश्यक पूर्वाधार संरचना नबन्नु र पर्यटकको बसाइ अवधि पनि घट्दैजानुले भ्रमण आयमा प्रभाव पारेको उनको बुझाइ छ।  अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्भेक्षणले पनि पर्यटन लेखाप्रणालीको अभावमा कुल गार्हस्थ उत्पादनमा पर्यटनको वास्तविक प्रभावको जानकारी हासिल गर्न समस्या रहेको उल्लेख गरेको छ।  

सर्भेक्षण अनुसार सन् २०१६ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३.४ दिन छ।  विश्व पर्यटन परिषद्का अनुसार नेपाल आउने विदेशी पर्यटकले सन् २०१६ भर ४८ अर्ब ६० करोड रुपैयाँखर्च गरेका थिए।  यो आम्दानी नौ प्रतिशतले बढेर सन् २०१७ मा ५३ अर्ब पुग्ने परिषद्को प्रक्षेपण छ। त्यस्तै, सन् २०१७ मा आन्तरिक पर्यटकको खर्च ६.१ प्रतिशतले बढेर ९८ अर्ब २० करोड पुग्ने अनुमान परिषद्ले गरेको छ।  

परिषद्का अनुसार नेपालमा व्यावसायिक रूपमा घुमघाम गर्ने पर्यटकले गर्ने खर्च पर्यटन क्षेत्रको जीडीपीको योगदानमा १३.३ प्रतिशत रहेको छ।  सन् २०१६ भर व्यावसायिक कामका लागि भ्रमण गर्ने पर्यटकले १८ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् भने फुर्सदमा घुमघाम गर्नेको खर्च एक खर्ब २२ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  यो रकम पर्यटन क्षेत्रबाट जीडीपीमा हुने योगदान मध्ये ८६.७ प्रतिशत हो।  

सन् २०१६मा सात लाख ५३ हजार दुईजना पर्यटक हवाइ मार्गबाट पाँच लाख ७२ हजार ५६३  र  स्थलमार्गबाट एक लाख ३१ हजार ५५८ पर्यटक नेपाल प्रवेश गरेको सरकारी तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.