|

भारतले नेपालको नक्सालाई एक दिग्भ्रमित अखण्ड भारतको नक्सामा जोडेर सर्वकालिक स्वतन्त्र देश नेपालको स्वतन्त्र अस्तित्वमाथि ज्यादै चोटिलो प्रहार गरेको छ। यद्यपि, यो कृत्य भारत सहितले शुरुवात गरेको असंलग्न परराष्ट्र नीति, पञ्चशिलको सिद्धान्तको अनाक्रमण, अहस्तक्षेप, सहअस्तित्वको सम्मान जस्ता भावनाको प्रतिकुल छ।

भारत प्रधान मन्त्री विभिन्न अन्र्तराष्ट्रिय मञ्चमा भारतले अरुको जमिन लिन चाहादैन, हामी बिस्तारवादी होइनौ भनी भाषण गरेको हामी सबैले सुनेका छौ।

यहाँसम्मकि भारतको आधिकारिक सरकारी दस्तावेजमा रुसले युक्रेनमाथि गरेको सैनिक आक्रमणको विरोध गरिएको छ। राष्ट्र राष्ट्रियताको बिषयमा विश्व नै सचेत भएको आजको समयमा नेपाल जस्तो विश्वको अपराजित, अविचलित राष्ट नेपालको नक्सा  अखण्ड भारतको रुपमा राख्नुले भारतको छिमेकी प्रतिको दृष्टिमा ठूलो सन्देह पैदा गरेको छ।

भारतको २८ मार्च २०२३ मा उद्घाटनको गरिएको संसद भवनमा नेपालको नक्सा राख्नु, लुम्बिनी र कपिलबस्तु स्पष्ट लेख्नुको भित्री मनसाय बिशेष गरी शाक्यमुनी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् तर अखण्ड भारतको हिस्सामा जन्मिएका हुन् भन्ने भ्रम विश्व भरमा फैलाउनु पनि हुन सक्छ।

भारत नेपालभन्दा क्षेत्रफलमा ठूलो होला, केही जनसंख्या बढी होला तर नेपाल र भारत स्पष्ट रुपमा २ अलक सार्वभौमशत्ता भएका देशहरु हुन्। विश्वमञ्चमा व्यापारिक दृष्टिकोणले भारत रणनीतिक महत्वमा चर्चित होला तर बुद्ध जन्मभूमिको नाता र सगरमाथाको देशको रुपमा नेपालको विश्वव्यापि मान्यता पनि कम छैन।

यस्तो देशको जमीनलाई भारतको नाम दिएर अपवित्र बनाउनु भारतको गल्ती हो। नेपालको आफ्नो पहिचान छ स्पष्ट रुपमा सत्य, त्रेता द्धापर र कलि युग युगान्तर देखि अखण्डित अपराजित छ। यसमा भारत लगाएको गिद्धे नजरले प्रत्येक नेपालीको आत्मालाई घायल बनाएको छ।

यसविषयमा भारतका प्रधानमन्त्रीले जसिक्दो छिटो त्यो नक्साबाट नेपाललाई हटाउनुपर्छ। संसद भित्र राखिने राजनैतिक नक्साले केवल त्यो देशको आधिकारिक भूमि मात्र देखाउन पाउँछ। अर्को अखण्ड, स्वतन्त्र देशलाई छुने अधिकार हुँदैन। यो घटनाबाट प्रत्येक नेपाली  पीडित र  आहात भएका छन्। यो घटनाक्रममा पिडित प्रत्येक नेपाली हुन् तर पिडक प्रत्येक भारतीय होइनन्। त्यसैले यो घटनामा भारतको शासक बर्गले छिटोभन्दा छिटो गल्ती स्वीकार्न जरुरी छ। 

राष्ट्रिय सिमाना त्यस्तो मजाकको बिविय होइन यस्तो हल्कामा राष्ट्रिय सीमालाई लिने काम गर्नु हुँदैन। नेपालीले भारतको सीमाको सम्मान गर्छौ तर नेपालको सीमा र अस्तित्वमाथि अनर्गल खेलवाड गरिए त्यसलाई सहेर बस्न सक्ने नेपालीको धैर्यताको बाँध टुट्न सक्छ।

असहमतिको अन्तिम उपचार लडाइँ मात्र होइन र शक्तिको भारमा मात्र जे मन लाग्यो त्यो गर्न पनि पाइँदैन।  भारतले त्यो नक्सा राख्नुभन्दा पहिला आफ्नो इतिहास पढ्नुपर्छ। कहिले कुन मितिमा नेपालमाथि भारतको शासकले राज गरेको हो त्यसको प्रमाण दिन सक्नुपर्छ।

सम्राट् अशोकको शासन कालमा नेपाल स्वतन्त्र छ। गुप्तवंशको शासनमा नेपाल स्वतन्त्र छ, मुगल शासक औरंगजेवको पालामा नेपाल स्वतन्त्र छ भने कहिले यो भारतको बन्यो र तँपाईहरुले यो नक्सा राख्नु भयो। हामी नेपालीको सोँच स्पष्ट छ नेपालसँग भारतको कुनै पनि शासक लडाइँ गरेका होइनन्। 

भारतलाई बेलायतको एउटा  इष्टइण्डिया कम्पनीले हराएर पूरै ३०० वर्ष शासन गरेको हो तर नेपाललाई कहिल्यै कुनै शासकले हराएको छैन। इष्ट इण्डिया कम्पनीसँग नेपालको लडाइँ भएको हो। केही जमीन हामीले बि.स. १८७२ सुगौली सन्धि गर्दा गुमाएका छौँ सत्य त्यो हो। परन्तु आज जसरी भारतले नेपाल पनि अखण्ड भारतको अंश हो भनेर दाबी गर्छ भने त्यो कुनै नेपालीले मान्ने सहन गर्ने विषय त होइन नै स्वयं भारतको विश्वस्नीयताको समेत जबर्जस्त क्षयीकरणको संकेत हो ।

यो लेखको मूल आसय भारतलाई अर्ति दिनु होइन। गलत जुनसुकै अवस्थामा गलत हुन्छ तर त्यो गल्ती हो भन्ने वर्षौंपछि धेरैले बिर्सिन सक्छन्। त्यसैकारले आम नेपाली जनताको अनुरोध छ कि भारतले संसद भवनमा गरेको इतिहासको छेडखानीलाई सच्च्याएर यथार्थमा परिणत गरोस्।

नेपालको स्वतन्त्रतामाथि प्रश्न उठाउने ठाऊँ र छिद्र कहीँ पनि छैन। भारतले त्यो नक्सा सत्ताको मदहोषी तथा बेहोशीमा टाँगेको छ। यस्तो झुठो आत्मरतिले उसलाई जहिले पनि आजभन्दा कमजोर बनाउनेछ। नेपाललाई पनि यो पीडा सधैँभर रहनेछ। त्यसैले यसमा कुनैप्रकारको अबेर नगरी भारतले संसदमा वास्तविक भारतको नक्सा राखोस्।

आजको विज्ञानको युगमा झूठो कुरालाई सही भनेर राख्ने कार्यबाट सचेत भारतीय नागरिक पक्कै पनि खुशी छैनन् होला। केही बर्ष अघि अफ्रिकाको एक देशकी  महिलाले खानेकुरा केही नभए पछि आफ्नो बच्चालाई केही पाकेको छ भनी भ्रममा पार्न डेप्चीमा ढुंङ्गा राखेर पतिलाले ढाकेर आगो बालिन बच्चा बेहोस भयो।

अखण्ड भारतको नक्साले पनि अनजान भारतीयहरुलाई त्यस्तै भ्रममा पारेको छ। आजको युग  यसरी १०० प्रतिशत गलत बिषयलाई उठाएर  चुनावमा भोट तान्ने राजनीतिबाट मुक्त हुनुपर्छ।

नेपालको आफ्नो पहिचान छ विश्वका सानो बच्चलाई विद्यालयहरुले हाजिर जवाफ प्रतियोगिता विश्वको कहिल्यै दास नभएको देश कुन हो भनी प्रश्न सोधिएमा जवाफ आउँछ नेपाल। बुद्धको जन्मस्थल कहाँ हो भनी प्रश्न गरिएमा जवाफ आउछ – नेपाल। त्यसैगरी विश्वको सबैभन्दा अग्लो हिमालय कहाँ छ भन्ने प्रश्न गरिएमा जवाफ छ नेपाल।  यस्ता प्रश्न भारतमा पनि प्रत्येक दिन सोधिन्छ। यस्तो प्रमाणित इतिहास माथि अविश्वास जलप लगाउने काम भारतबाट भएको कारणले आम नेपालीहरुको स्वाभिमानमा अति नै आघात भएको छ।

वास्तविकताको कसीमा आफ्नो आत्म चिन्तन गर्दै भारतले यो नक्साबाट नेपालको नक्सा हटाएर इतिहासको सम्मान गरोस। अरु देशले के भन्छन् भन्नेभन्दा पनि भारतको कुनै सचेत नागरिकले सोचोस त के यस्तो भ्रमपूर्ण नक्साले भारतको गरिमा बढाउछ वा डुवाउँछ।

अहिले भारतले गरेको व्यवहार त्यो सैनिकको जस्तो भएको छ जसले लडाँइमा अर्को शत्रुलाई मारे भनेर चिच्याउदै हिड्छ। राजाले मारेको भए उसको काटिएको शिर खोइ त भन्दा त्यो त अरू कसैले लग्यो भन्छ। अन्य देशको नक्सा टाँसेर नक्कली गदगदमा रमाउनु शोभनीय विषय होइन। नेपाल कहिल्यै कुनै देशको शासनको अंश नभएको तथ्यलाई नबंग्याइयोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.