कोशी प्रदेशका महिलामा सबैभन्दा धेरै उच्च रक्तचापको समस्या

|

काठमाडौं : बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान तथा बढ्दो मोटोपनको समस्याका कारण नेपालमा उच्च रक्तचापका बिरामी बढेको देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलामा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप भएको पाइएको छ। तर पुरुषमा यो भिन्नता धेरै रहेको देखिएको छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।

पाँच वर्षअघि गरिएको यस्तै सर्वेक्षणमा नेपालमा महिलामा १७ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचाप पाइएको थियो। पाँच वर्षपछि हालै सार्वजनिक भएको सन् २०२२ को सर्वेक्षणमा भने महिलामा १८ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ। 'यो अनुपात सन् २०१६ र २०२२ को बीचमा स्थिर रहेको रहेको सर्वेक्षणले देखाएको छ।

‘नेपालमा, १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ एक औसत सिस्टोलिक रक्तचाप (SBP) 140 mmHG वा सो भन्दामाथिको स्तर, औसत diastolic रक्तचाप (DBP) स्तर 90 mmHG वा सो भन्दा माथि वा हाल उनीहरू उच्च रक्तचापको औषधि लिँदैछन् । यो अनुपात सन् २०१६ र २०२२ को बीचमा स्थिर रहेको छ’, सर्वेक्षणमा भनिएको छ।

सन् २०१६ र २०२२ को बीचको अनुपात हेर्दा रक्तचापको समस्यामा स्थिर रहेको देखिए पनि सर्वेक्षणले युवा उमेरमानै रक्तचापको समस्या देखिने गरेको देखाएको छ। जसमा

उमेर अनुसार हेर्ने हो भने ३० देखि ३४ वर्ष उमेर समूहका पुरुषमा १५  प्रतिशत महिलामा ८ प्रतिशत उच्च रक्तचापको समस्या रहेको पाइएको छ। यस्तै  ३५ देखि ३९ वर्षका पुरुषमा २५ र महिलामा १३ प्रतिशत रक्तचापको समस्या रहेको देखाएको छ। ४० देखि ४४ वर्षका २४ प्रतिशत र २२ प्रतिशत महिला उच्च रक्तचापको समस्या झेलिरहेका छन्। यस्तै ४५ देखि ४९ वर्षका ३७ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाले पनि उच्च रक्तचापसम्बन्धी समस्या झेलिरहेका छन भने ५० देखि ५४ वर्ष उमेर समूहका ४१ प्रतिशत पुरुष र  ३५ प्रतिशत महिलाले पनि उच्च रक्तचापसम्बन्धी समस्या झेलिरहेका छन्। यस्तै ६० देखि ६४ वर्षका ४५ प्रतिशत पुरुष र ४३ प्रतिशत पुरुषले पनि उच्च रक्तचापको उपचार गराइरहेको सर्वेक्षणले देखाएको छ।

कोशी प्रदेशका महिलामा सबैभन्दा धेरै उच्चरक्तचापको समस्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ का अनुसार प्रदेश तहमा हेर्दा  कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा (क्रमशः १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा) उच्च रक्तचापको समस्या देखिएको छ।

यस्तै उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको छ; ७० वर्ष र सो भन्दा माथिका महिलामा (५२ प्रतिशत) र ६५ वर्ष र सो भन्दा माथिका पुरुषमा (४५ प्रतिशत) -सबैभन्दा बढी उच्च रक्तचाप रहेको छ। उच्च रक्तचाप ५५-५९ वर्षको उमेर सम्म महिलाको तुलनामा पुरुषमा बढी रहेको र त्यसपछि उच्च रक्तचाप महिलामा पुरुषभन्दा सामान्यतया बढी रहेको देखिएको छ।

उच्चरक्त चापको समस्या भएपनि १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषले उच्च रक्तचाप नियन्त्रणमा राखेका छन। उनीहरुको अर्थात SBP 140 भन्दा कम र DBP 90 mmHg भन्दा कम छ र उच्च रक्तचापको औषधि खाँदैछन्।

किन बढ्दै छ त उच्चरक्तचाप सम्बन्धी समस्या नेपालमा

महिलामा देखिने रक्तचापसम्बन्धी समस्यालाई दुई तरिकाले हेर्नु पर्ने बताउँछन्, वरिष्ठ स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदी। उनका अनुसार गर्भावस्था र गर्भावस्था पछिको जीवनशैलीलाई लिएर महिलामा देखिने रक्तचापसम्बन्धी समस्यालाई हेर्नु पर्छ। ‘एकदमै कम उमेर (२० वर्षमुनि) र ३० वर्षपछिको गर्भावस्थामा महिलामा रक्तचापसम्बन्धी धेरै समस्या देखिन्छ। यो समस्या धेरैमा गर्भावस्थापछिको समयमा कम हुँदै पनि जानसक्छ  तर गर्भावस्थाबाहेकको समयमा महिलामा देखिने रक्तचापसम्बन्धी समस्या भने धेरै जीवनशैलीसँग सम्बन्धित हुन्छ’ डा सुवेदीले भने।

 गर्भावस्था बाहेकको समयमा महिलामा देखिने रक्तचापसम्बन्धी समस्या भने मोटोपन, निष्क्रिय जीवनशैली, जंकफूडको सेवन तथा वंशाणुगत कारणमा निर्भर रहने डा.सुवेदीले बताए।

यस्तै ४० वर्षमुनि देखिने उच्चरक्तचाप सम्बन्धी समस्या जीवनशैलीको कारण भए पनि ४० वर्ष माथिको उमेर समूहमा देखिने ९० प्रतिशत उच्चरक्तचापसम्बन्धी समस्या व‌शाणुगत कारणले हुने बताउँछन्, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमी। उनका अनुसार यदी जीवनशैलीकै कारण ४० वर्षभन्दा कम उमेरमा रक्तचापसम्बन्धी समस्या देखिए भविष्यमा ती आमाबाबुबाट जन्मेका सन्तानमा रक्तचापसम्बन्धी समस्या हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ।

‘४० बर्ष माथि देखिने ९० प्रतिशत उच्च रक्तचापसम्बन्धी समस्या वंशाणुगत कारण हो भने १० प्रतिशत जीवनशैली सम्बन्धी कारण तर बुझ्नु पर्ने कुरा केहो भने अहिले जीवनशैलीको कारण देखिने उच्च रक्तचापसम्बन्धी समस्याबाट भोलि त्यस्ता व्यक्तिबाट जन्मेमा सन्तानमा समेत यो समस्या देखिन सक्ने सम्भावना रहेको हुँदा विशेष सावधानी अपनाउनु पर्छ’, डा सायमीले भने।

यस्तै हाल धेरैले उच्च रक्तचाप समस्या देखिए पनि बिचमा औषधी सेवन गर्न छाड्ने समस्या रहेको हुँदा यो समस्या मानव स्वास्थ्यको लागि जटिल समस्यामा परिणत हुँदै गएको समेत डा. सायमी बताउँछन्। ‘उच्च रक्ताचापको समस्या जति बढ्दै गएको छ, त्यस्तै बिचैमा औषधी छाड्ने समस्या पनि बढेको छ’, उनले भने, ‘शुरुमा औषधी खाए पनि केही समय पछि छाड्ने गर्नु हुन्छ जसले गर्दा मुटु मिर्गौला र आँखासम्बन्धी समस्या देखिन्छ भने ‘स्ट्रोक’ हुने समस्या पनि उस्तै हुन्छ।’ उनका अनुसार उच्च रक्तचापको समस्या देखिए पछि ९० प्रतिशत बिरामीले जीवनभर औषधी खाइरहनु पर्छ।

नेपाल मात्रै होइन विश्वभर र डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रमा हृदयाघात रोगबाट हुने मृत्युको एक मात्र प्रमुख कारण उच्च रक्तचाप हो। यस क्षेत्रका करिब आधा उच्च रक्तचाप भएकाहरू आफ्नो अवस्थाबारे अनभिज्ञ भएको बताइन्छ। यो समस्या पत्ता लगाउन र नियन्त्रण गर्न उच्च रक्तचाप सेवा बढाउन आवश्यक छ।

तथ्यांकअनुसार ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिँदैन। तर यो रोगका कारण धेरै जनाको हृदयाघात र मस्तिष्काघात भएर आकस्मिक मृत्यु भइरहेको छ। यो रोगको समयमै उपचार गरे हृदयाघात र मस्तिष्काघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.