|

जुम्ला : केही सञ्चारमाध्यम र पार्टीका भातृ संगठनले फैलाएको अन्तरजातीय बिहे र किशोरीको गोपनीयताप्रति बेपत्ता किशोरी पक्षले खेद प्रकट गरेको छ।

यही असार १२ गतेको घटनाको वास्तविकता नखुलाई समाचार सम्प्रेषण गरिएको र विभिन्न संगठनले किशोरीको नाम राखी लेखिएका प्रेस विज्ञप्तिप्रति पीडित पक्षले आपत्ति प्रकट गरेको हो।

बालिकाकी दिदी निशा गिरीले बिहीवार पत्रकार सम्मेलन गरी वास्तविकता जानकारी गराएकी हुन्। उनीद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बिरामी आमाका लागि औषधि लिन असार १२ गते दिउँसो अन्दाजी ४ बजे घरबाट हिँडेकी बहिनी अवेलासम्म नआएपछि खोजी गर्दा केही थाहा नभएपछि बुवा र अंकल ऐरेनीमा रहेको प्रहरी चौकीमा छोरीको खोजी गरिपाऊँ भनी पुगेको र प्रहरीले भोलि आएर निवेदन दिनु भनेपछि घर आउनु भएको थियो।’

उनले भनिन्,‘भोलिपल्ट १३ गते प्रहरीचौकी पुग्दा जिल्लामा निवेदन गर्नु भने र बुवाले छोरी खोजी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो।’

औषधि लिन हिँडेकी छोरीको खोजी गर्दा स्थानीय मुकेन्द्र नेपालीले अघिल्लो दिन साँझ ७ बजेतिर तातोपानी गाउँपालिका–४ को पाण्डेबाडाको देवदिहारको रूख नजिकै कुटपिट गरी लछारपछार गरेको त्यही खेलिरहेका बच्चाले भनेपछि घटना के हो भनी खोजी गरिएको थियो। ८ दिन बित्दा पनि किशोरीको बारे परिवारलाई पत्तो छैन।

यस्तो घटनालाई अन्तरजातीय बिहे भनेर हल्ला फैलाइएको छ। उनका अनुसार मिडीयाले अन्तरजातीय विवाह भनेर किशोरीको मुद्दा पनि बिहेका लागि वैधानिक बनाउन खोजेको दाबी गरिन्। ‘हामी निमुखाले न्याय नपाउने? गरिब र कमजोर भएका कारण बलात्कृत हुनुपर्ने र बालविवाहका लागि बाटोबाटै अपहरण हुनुपर्ने?’, किशोरीकी दिदीको प्रश्न। 

किशोरीकी दिदीले भनिन्, ‘पत्रकारलाई आवाजविहीनको आवाज भनिन्छ। जुम्लामा बालिकाको मुद्दालाई अन्तरजातीय रूप दिएर वैधानिकता मिडीयाले गरेको छ। हामी जस्ता निमुखाको बारेमा कहिले बुझ्ने ? तपाईंहरूका समाचारले पीडितलाई पीडा थपेको छ। एकपटक कमजोर र गरिबहरूका पीडा पनि बुझिदिन अनुरोध गर्दछौं।’ 

यसै घटनालाई जोडेर घर जलाइएको आरोपमा उनका भाइ प्रहरी हिरासतमा छन्। गल्ती काम गरेका भए भाइलाई कानुनबमोजिमको कारबाही हुनुपर्ने बताएकी छन्। किशोरीको न्याय मार्न अन्तरजातीय विवाहको लेपन पक्कै पनि राम्रो नभएको उनले स्पष्ट पारेकी छन्।

‘एउटा अपराध लुकाउन अरू प्रपञ्च रचिएका छन्। हुँदै नभएको आरोप लगाएर हल्ला फिजाइएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। अधिकांश मिडियाले पीडित को हो भनेर नछुट्याउँदा हामी जस्ता निमुखाको न्याय ओझेलमा परेको छ’, निशाले भनिन्।

राजनीतिक दलका भातृ संगठनले १४ वर्ष ७ महिना १३ दिनकी किशोरीलाई बेपत्ता तथा बन्धक बनाएको कुरा अन्तरजातीय बिहेमा परिभाषित गरेका छन्। यथार्थ कुरा नबुझी पीडित पक्षसँग सम्पर्क नगरी पत्रकारहरूले लाञ्छना लगाएको उनको कथन छ।

त्यस्तै बालिकाकी आमा जयलक्ष्मी गिरीले यो घटनाले परिवारमा गहिरो चोट पुगेको बताइन्। उनले दलका भातृ संगठनहरूले निकालेको विज्ञप्तिमा छोरीको गोपनीयता भंग भएको उल्लेख गरिन्। ‘छोरीलाई कुटपिट गरेर लछारपछार पारेको घटना खेलिरहेका बच्चाले बताएपछि बेहोस भई नदीमा परेकी रहिछु। तर मलाई अन्तरजातीयसँग बिहे गरेकाले नदीमा हाम फालेकी भनी गलत भ्रम फैलाइएको रहिछ’, उनले भनिन्, ‘यो हल्ला जसले फैलाए पनि गलत नियतले फैलाइएको छ।’​

त्यसैगरी किशोरीका परिवारले बेपत्ता बनाइएकी छोरी खोजी गरिदिन प्रहरी प्रशासन लगायत सरोकारवाला सबैलाई पत्रकार भेटघाटमार्फत अनुरोध गरेको छ।  

गोपनीयता भंग गर्नेलाई वर्षसम्म कैद र तीस हजार जरिवाना
कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याई गोपनीयता भंग गरिदिनेलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।

व्यक्तिगत गोपनीयता अतिक्रमण भएको कारण कसैलाई कुनै हानि, नोक्सानी, क्षति पुगेमा पीडितलाई क्षतिपूर्ति समेतको व्यवस्था ल्याउन लागिएको हो। संविधानको धारा ३८ मा रहेको मौलिक हक कार्यान्वयन गर्न बनेको मस्यौदा विधेयकमा कसैले कुनै पनि व्यक्तिको गोपनीयता हनन गरे सजायसहितको व्यवस्था गरिएको हो।

यदि व्यक्तिको अनुमतिबिना सार्वजनिक गर्ने व्यक्तिलाई ३ वर्ष कैद, ३० हजार रुपैयाँ जरिवाना वा दुवै कारबाही हुने व्यवस्था राखिएको छ। कुनै पनि व्यक्तिको चिठीपत्र, पत्राचार, इमेललगायतका पत्राचार अनधिकृत रूपमा पढ्न, अरूलाई दिन, प्रकाशन गर्न प्रशारण गर्न नपाइने भएको छ।

४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था
कसैले पनि गोपनीयताको हक हनन भए ४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ। कुनै प्रकारको हानि नोक्सानी वा क्षति पुगेमा पीडित व्यक्तिले हानि नोक्सानी बापतको क्षतिपूर्ति भराउन जिल्ला अदालतसमक्ष निवेदन दिने व्यवस्था गरिएको छ। जिल्ला अदालतले पीडितबाट क्षतिपूर्ति भराइदिनुपर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.