|
फाइल तस्वीर

बैतडी : सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किँदै गएको छ।  सरकारी (सामुदायिक) विद्यालयहरुमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि एसइईको नतिजामा पनि प्रभाव देखिएको हो।

हालै सार्वजनिक एसईई परीक्षाफलमा सुदूरपश्चिममा ३.६ भन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको संख्या न्यून रहेको छ।  शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि ४२२ जनाको मात्रै ३.६ भन्दा माथि जिपिए आएको जनाएको छ।  

जसमा बैतडीमा ३.६ भन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए। 

उनले भने, ‘बैतडीबाट ५ हजार ३३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि ३.६ भन्दा माथि जिपिए आएको छैन। गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन।’

सुदूरपश्चिमका ९ ओटा जिल्लामध्ये ३.६ भन्दा माथि जिपिए ल्याउन नसक्ने जिल्ला बैतडी मात्रै रहेको छ।

बैतडीबाहेक  प्रदेशमा सबैभन्दा बढी कैलालीबाट २२७ जनाले ३.६ भन्दा माथि जिपिए ल्याएका छन्। डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट ९ जनाले, बाजुराबाट ५ जना र बझाङबाट एक जनाले ३.६ भन्दा माथि जिपिए ल्याएका छन्। 

माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि  शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो। निरन्तर रुपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरुले शैक्षिक सुधारमा चासो देखाएका छैनन्। 

स्थानीय सरकारहरुले विद्यालयहरुको शैक्षिक सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले बताए। अहिले माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ। 

उनले भने, ‘स्थानीय तहहरुको ध्यान शिक्षातिर कम गएको छ। गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो। स्थानीय सरकारले नै शैक्षिक सुधारमा ध्यान दिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.