बैतडीमा ६४ हजार पशु संक्रमित, नौ हजार मरे

|

बैतडी : बैतडीमा लम्पी स्कीन रोग नियन्त्रणबाहिर गए पनि पर्याप्त खोप छैन। यो रोग नियन्त्रणबाहिर गए पनि जिल्लामा हालसम्म खोप उपलब्ध हुन नसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुविकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डाक्टर विशाल पाठकले जानकारी दिए। 

महामारीका रुपमा फैलिएको यो रोगबाट हालसम्म ६४ हजार १९७  घरपालुवा पशु संक्रमित छन्। रोगका कारण  नौ हजार २९८ पशुचौपाया मरिसकेका डाक्टर पाठकले बताए।  लम्पी स्कीनका कारण बाच्छाबाच्छी,गाई,गोरु र भैसी बढी प्रभावित भएका छन्। ‘लम्पी स्किनको संक्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोप उपलब्ध हुन सकेको छैन’, उनले भने, ‘प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ।’

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। यो रोग फैलिएको छ।लेकाली चिसो हुने गाउँहरूमा कम छ। अन्य गाउँमा  महामारीकै रूपमा फैलिएको छ’, उनले भने।

सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको छ। ‘सामान्य औषधोउपचार बाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ।’

यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्त जोड दिन्छन्।  ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन’, उनले भने, ‘अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ। साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ।’

बैतडीमा गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गीर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्। 

यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। 
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाई, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.