|

भोजपुर : परम्परागत खुकुरी बनाउने पेशा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण गर्न थालेको छ। आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेशा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो।

पेशा छाड्नेको संख्या बढ्न थालेपछि उनीहरूलाई आवश्यक सहयोग गर्दै प्रोत्साहन अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। लोपोन्मुख पेशाको संरक्षणमा जुटेको उनको भनाइ छ।

‘पछिल्लो समय कालिगड पलायन हुँदै गएको अवस्था छ’‚ अध्यक्ष राईले भने, ‘अहिले गाउँघरमा व्यावसायिक रूपमा यो पेशा गर्ने मान्छे पाउनै मुस्किल छ। औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ। यो पेशा व्यवसायमा लागेकाहरूको तथ्यांक संकलन गरेर आवश्यक सहयोग गर्दै आएको छौँ।’

खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेशा संकटमा पर्दै गएकाले यसको संरक्षणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष राईको भनाइ छ। ‘जिल्लाभर नै कालिगड पेशा छोड्ने संख्या बढ्दो छ’, अध्यक्ष राईले भने, ‘यो पेशाको संरक्षण आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’

पेशा छोड्ने संख्या बढेसँगै गाउँघरमा औजार उपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। पेशामा लागेकाहरूलाई प्रोत्साहन गर्दै आधुनिक उपकरण प्रयोगमा जोड दिएको उनको भनाइ छ।

यो पेशामा लागेका दुई परिवारलाई पौवादुङमा–१ श्यामशिलाले आवश्यक सहयोग गरेको उनले जानकारी दिए। ‘पराम्परात रूपमा काम गर्दा उहाँहरूलाई धेरै कठिन छ’, वडाध्यक्ष तामाङले भने, ‘विद्युतीय औजार उपकरणको प्रयोग गर्दा केही सहज हुने देखेर आवश्यक सहयोग गरेका हौँ।’

खुकुरी बनाउने आरन सञ्चालकहरूलाई रु. ८० हजार बराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। पराम्परागत पेशा संरक्षणका लागि गापाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ।

सामग्री बनाउन आवश्यक कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहज रूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा–१ श्यामशिलाका कालिगड कृष्णबहादुर विकले बताए। विभिन्न कारणले संकटमा परेको अवस्थामा स्थानीय सरकारबाट पाएको सहयोगले पेशामा लाग्न थप टेवा मिलेको उनको भनाइ छ।

राज्यका तर्फबाट आवश्यक सहयोग नभएमा कालिगड पेशा लोप हुने अवस्था रहेको विकको भनाइ छ। नयाँ पुस्ताको रोजाइमा नपर्दा पेशा संकटमा पर्दै गएको उनको भनाइ छ।

‘अत्यावश्यक औजार उपकरण बनाउने भए पनि यो पेशालाई मान्छेले अझै पनि हेलाका रूपमा लिने चलन छ’, उहाँले भने, ‘नयाँ पुस्ता यो काम गर्नै चाहँदैनन्। व्यवसाय सञ्चालन गर्न पनि कोइला, दाप, बिँडका लागि काठ पाउनै मुस्किल छ। विविध कारणले पेशा छाड्नेको संख्या बढ्दो छ।’

विभिन्न समस्याका कारण मेहनत गरेअनुसारको प्रतिफल पाउन समस्या रहेको कालिगड खड्गबहादुर विकले बताए। राज्यले विभिन्न समयमा गर्ने सहयोगले पेशालाई जीवन्त राख्न केही टेवा मिलेको उनको भनाइ छ। राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउने कालिगड पेशा छोडेर अन्य पेशातिर लाग्ने गरेको उनको भनाइ छ।

‘सहज काम खोज्ने कारणले धेरैले कालिगड पेशा छाड्दै गएको अवस्था छ’, उनले भने, ‘पेशा छोड्दै मानिसहरू अन्य पेशा व्यवसायमा लागेको अवस्था छ। मैले गरेको काम मेरो छोरानातिले गर्छन् भन्ने आशा छैन।’

राज्यले यही पेशा गरेर जीवनयापन गर्न सक्ने वातारण सिर्जना गरिदिए पेशाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.