|

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि महानगरका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न नपाइने निर्णय गरेको छ।​महानगरपालिकाले पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरु गर्ने र यसलाई क्रमिक रूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको जनाएको छ। 

यो अभियान काठमाडौं महानगर र  बानेश्वर व्यापार संघले ​संयुक्तरूपमा गर्न लागेका हुन्। यसैगरी महानगरले साउन १ गतेदेखि नै एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने निर्णय गरेको छ। तर, यी दुईवटै योजना कार्यान्वयनमा ल्याउन भने चुनौतीपूर्ण छ। तत्कालीन महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि यी दुईवटै योजना ल्याए पनि कार्यान्वयनमा ल्याउन सकेनन्।

काठमाडौं महानगरले २०७४ फागुन ११ गते महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर घोषणा गरेको थियो। महानगरका प्रमुख शाक्यले पत्रकार सम्मेलन गरी मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर लगायत प्राणघातक रोगबाट बचाउन महानगरलाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर घोषणा गरेका थिए।

यो अभियानलाई प्रभावकारी बनाउन सुर्तीजन्य पदार्थको आयात, बिक्रीवितरण, उत्पादन तथा सेवनलाई न्यूनीकरण गर्न अमेरिकी गैरसरकारी संस्था बुलुम्बर्ग फिलानट्रोपिजले एक करोड रुपैयाँ महानगरलाई दिने सम्झौता गरी शुरुवाती चरणमा महानगरपालिकालाई २५ लाख रुपैयाँ दिएको थियो।

तर कामको उपलब्धि नदेखिएपछि फिलानट्रोपिजले बाँकी रकम महानगरपालिकालाई दिएन। महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखाका तत्कालीन निर्देशक नरेन्द्र बज्राचार्यले फिलानट्रोपिज संस्थाले यो योजनामा फलोअप नगरेको भन्दै कार्यान्वयनमा ल्याउन नसकेको स्वीकार गरेका थिए।

प्लाष्टिकजन्य झोला निषेध पनि योजनामै सीमित

त्यसैगरी महानगरपालिका प्रमुख शाक्यले महानगरमा प्लाष्टिकजन्य झोला बिक्री वितरण तथा प्रयोग निषेध गर्ने नीति ल्याएका थिए। २०७६ मा महानगर क्षेत्रमा ३० माइक्रोनभन्दा कम तौलका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउन जनचेतना, प्रचारप्रसार, पत्राचार तथा अनुगमन र कारबाही गर्ने कार्य योजना महानगरको थियो।

महानगरले यसका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन पनि गर्‍याे तर महानगरप्रमुख शाक्यले उनको कार्यकालमा कार्यान्वयनमा ल्याउन सकेनन्। फेरि यता महानगरपालिका प्रमुख शाहले महानगरको आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने बताएका छन्।

एकल प्लाष्टिकलाई निषेध गर्नेसँगै प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरभित्र प्रतिबन्ध लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसो भन्छ महानगरपालिका

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यो योजना जसरी पनि कार्यान्वयनमा ल्याउने दाबी गरे। ‘कार्यान्वयनमै ल्याउन सकिन्छ भनेरै यो योजना, नीति ल्याइएको हो‚ सकिन्छ। चुनौतीपूर्ण रहे पनि कार्यान्वयनमा ल्याउन प्रयास गरिनेछ’‚ उनले भने।

बानेश्वर व्यापार संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि बानेश्वरबाटै शुरु गर्ने तयारी गरिएको छ।

उनले आज मंगलबारदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने बताए।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ। क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ (संशोधित २०७२) काे दफा ४ मा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न नहुने व्यवस्था छ। उक्त ऐनमा सार्वजनिक स्थलमा ऐनविपरीत धुम्रपान गरे तत्काल एक सय रुपैयाँसम्म जरिवाना वा अन्य विभागीय कारबाही हुने व्यवस्था छ। सरकारले अनुगमन र नियमन भने गर्न सकेकाे छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.