इलाम : इलामको साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको छ।
नेपालमा चियाखेती सुरु भएको १६० वर्षपछि इलाममा चियासम्बन्धी पढाइ हुने भएको हो। चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिसिप मोडालिटी) मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताए।
चिया प्रविधि पढाइका लागि दुईबर्से पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ। पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो। पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ।
‘अब कक्षा सञ्चालनको पत्र आउनासाथ कक्षा सुरु गर्ने तयारी गरेका छौँ’, प्रमुख खनालले भने, ‘यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन्। त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास हुनेछ।’
यसै वर्ष एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई यसमा सहभागी गराउने लक्ष्य रहेको खनालको भनाइ छ। २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइएको छ।
‘नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ कतै पनि छैन। गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता छ,’ शिक्षालय प्रमुख खनाल भन्छन्, ‘नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दा त्यो जनशक्ति देशभित्र खुलेका चिया उद्योगमा खपत हुनसक्छ।’
चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ। मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन्।
यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाए पनि सफल भएको थिएन। झापाको मेची बहुमुखी क्याम्पसमा ३ वर्षभन्दा बढी चिया प्रविधि तथा व्यवस्थापन पठनपाठन संचालन हुन सकेन।
सरकारले विस २०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसले चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु गरेको थियो। मुलुकको एकमात्र चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन शुरु भएको चौथो शैक्षिक सत्रदेखि क्याम्पसले विद्यार्थी भर्ना नै लिएन।
विश्वविद्यालयले सहयोग नगरेकै कारण देखाउँदै चिया अध्ययन बन्द भएको थियो। क्याम्पस प्रशासनले पहल गर्न नसक्नु पनि चिया शिक्षा बन्द हुनुको अर्को कारण रहेको तत्कालीन क्याम्पस प्रमुख चिन्तामणि दाहाल बताउँछन्।
क्याम्पसले चिया शिक्षा अध्ययन सुरु गर्ने योजना बनाए पनि विश्वविद्यालयमा चियाको पाठ्यक्रम भने थिएन। तत्कालीन क्याम्पस प्रमुख दाहालकै पहलमा विश्वविद्यालयले चिया शिक्षा अध्ययनको पाठ्यक्रम २०६७ सालमा निर्माण गरेको थियो।
क्याम्पसले चिया शिक्षा साथै चिया अनुसन्धान केन्द्र निर्माणका लागि भनेर १ बिघामा चियासमेत लगाएको थियो भने, थप १ बिघा चिया लगाउने तयारी गरेको दाहाल स्मरण गर्छन्। त्यस विषयको उच्च शिक्षा अध्ययनका लागि नेपालमा कलेजको व्यवस्था गर्न नसक्नुले पनि विद्यार्थीको आकर्षण घटेको थियो।
चिया प्रविधि विषय अध्ययनका लागि बढी रकम लाग्ने र स्नातकोत्तर अध्ययन गर्ने व्यवस्था नेपालमा नहुनाले पनि विद्यार्थी समस्यामा थिए। पढाइ सुरुका वर्षमा विद्यार्थीको आकर्षण बढेको थियो। कक्षा सञ्चालनको वर्षमा २४ जना विद्यार्थीको कोटामा ५५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए।
चिया प्रविधि तथा व्यवस्थापन पढ्नका लागि झापाबाहेकका जिल्लाबाट आउने विद्यार्थीको संख्या अझै धेरै थियो। तीन शैक्षिक सत्र पढाइ भएको चिया शिक्षाबाट क्याम्पसले ३६ जना चिया प्राविधिक उत्पादन भएका थिए।
भारतीय विज्ञको भर
चिया विषयमा अध्ययनको व्यवस्था नहुँदा नेपालका चिया उद्योग र बगानमा भारतबाट चिया प्राविधिक ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको छ। साना लगानीमा चलेका घरेलु उद्योगबाहेकका ठूला कारखानाहरुमा विज्ञको रुपमा भारतीयहरु काम गर्दै आएका छन्। टि टेस्टिङका लागि समेत भारतीयलाई विज्ञको रुपमा प्रयोग गरिँदै आएको छ।
कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आकर्षणसमेत बढ्दो छ। तर कृषि क्षेत्रको यस महत्वपूर्ण विषयका शैक्षिक तथा दक्ष जनशक्ति भने उत्पादन गर्न सकिएको छैन। नेपालमा चिया विषयको पठनपाठन नहुँदा उच्च अध्ययनका लागि अहिले भारत वा तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ।
वर्तमान अवस्थामा नेपालका चिया क्षेत्रका प्राविधिक र विज्ञताको प्रमाणपत्र पाउनेको संख्या न्यून छ। त्यसमा पनि विदेशबाट अध्ययन गरेका आएकाहरुको संख्या बढी देखिन्छ।
चिया विषयमा अध्ययन अध्यापन नहुँदा चिया बगान र कारखानामा चिया प्राविधिक प्रायः भारतीय छन्। सरकारी स्वामित्वको नेपाल चिया विकास निगमदेखि निजी लगानीमा खुलेका उद्योगका प्रबन्धक र प्राविधिक भारतीय रहेका हुन्। नेपाली चिया उद्योगमा अर्थोडक्स चियाको इतिहास बोकेको भारतको दार्जिलिङका बासिन्दाले प्रबन्धकको जिम्मा लिएका छन्।
चियाका बारेमा अध्ययन नभएकै कारण नेपाली चिया गुणस्तरहीन भएको आरोप लाग्दै आएको चिया विशेषज्ञ चन्द्रभुषण सुब्बाको भनाइ छ। चिया प्राविधिक अभाव रहेपछि चिया तथा कफि विकास बोर्डले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा चिया र कफि विषय समावेश गर्न प्रस्ताव अघि बढाएको थियो।
चिया उद्योगका प्रबन्धक, टि-मेकर र चिया बगानमा काम गर्ने प्राविधिक भारतीय हुँदा हरेक वर्ष लाखौँ रुपैयाँ भारत जाने गरेको छ। छिमेकी देश भारत, चीनका साथै बंगलादेश, श्रीलंका, जापान, केन्या, ताइवानलगायत देशले विश्वविद्यालयमातहत नै चिया शिक्षा अध्ययन केन्द्र सञ्चालनमा गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।