९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने सरकारी प्रावधान

|

काठमाडौं : सामान्यदेखि जटिल रोगहरुमा उपयोग गर्न सरकारले ९८ प्रकारका औषधी सर्वसाधारणलाई निःशुल्क वितरण गर्दै आएको छ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवाअन्तर्गत विभिन्न रोगको उपचारमा प्रयोग हुने ९८ प्रकारका औषधिहरु निःशुल्क दिइने सरकारी प्रावधान छ।

जसअनुसार आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार आधारभूत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला र प्रादेशिक अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क पाइने व्यवस्था रहेको छ।

तर सरकारले निःशुल्क दिने भनेका औषधीहरु स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पाइँदैन। झाडापखाला लाग्दा दिनुपर्ने 'ओआरएस'टिबीका बिरामीलाई दिईने भिटामिनजस्ता औषधीसमेत एकमात्र सरकारी सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाइँदैन।

अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार हाल अस्पतालमा पारासिटामोललगायत सामान्य औषधी उपलब्ध भए पनि अन्य औषधी नभएको बताए। ‘अहिले हामीसँग पारासिटामोल लगायतका औषधी भए पनि अन्य औषधी छैन‚’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै एक सर्वेक्षणले नै सरकारले निःशुल्क गर्ने भनेका औषधीहरु अत्यन्त न्यून मात्रामा पाइने देखाएको छ। नेपाल हेल्थ फेसिलिटी सर्वेक्षण, २०२१ सर्वेक्षणअनुसार निःशुल्क उपलब्ध गराउने भनेको औषधी जम्मा १.३ प्रतिशत मात्र स्वास्थ्य संस्थामा पाइने देखाएको थियो।

निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि ९८ वटा भए पनि स्वास्थ्य संस्थामा प्रतिनिधिमूलक १८ वटा औषधिको उपलब्धताका आधारमा मन्त्रालयले सन् २०२१ मा उक्त सर्वेक्षण गरेको थियो।

त्यसअघि सन् २०१५ मा गरिएको यही सर्वेक्षणमा अत्यावश्यक औषधिको उपलब्धता स्वास्थ्य संस्थामा ०.८ प्रतिशत मात्र थियो । जुन २०२१ को सर्वेक्षणमा ०.५ प्रतिशतले बढेको पाइएको भए पनि उल्लेखनीय मात्रामा सरकारी स्वास्थ्य संस्थाहरुमा उक्त औषधी पाइने गरेको पाइएको छैन।

यसरी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाउनुपर्ने औषधीहरु नपाइने भए पनि निःशुल्क औषधी जनतालाई दिने भन्दै सरकारले वर्षेनि ठूलै बजेट छुट्याउने गरेको छ।

भर्खरै सकिएको आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क औषधीका लागि ७ सय ५३ स्थानीय तहलाई १ अर्ब ३८ करोड ४५ लाख ६३ हजार र ७ प्रदेशलाई १८ करोड ५० लाख गरी १ अर्ब ५६ करोडभन्दा बढी निकासा गरेको थियो।​ 

चालु ​आर्थिक वर्ष ०८०/८१ मा पनि सरकारले निःशुल्क औषधीका लागि  १ अर्ब ४३ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष भने सरकारले निःशुल्क दिइने औषधी किन्न स्थानीय तहका लागि गत वर्षभन्दा २ करोड ७७ लाख ३७ हजार बजेट रकम बढाएको छ भने प्रदेशका लागि घटाएको छ।

​यी हुन् सरकारले निःशुल्क दिँदै आएको औषधी

सामान्य स्लाइन – रगतको कमी, पखाला, शरीरमा पानीको मात्रा कमी भएको बेला प्रयोग गर्ने

पारासिटामोल – ज्वरो

भिटामिन ए – भिटामिनको कमी हुन नदिने पोषण ट्याब्लेट

भिटामिन बी कम्प्लेक्स – भिटामिनको कमी पोषण ट्याब्लेट

भिटामिन के वान – नवजात शिशुलाई दिने भिटामिन ट्याब्लेट

जिंक सल्फेट– निमोनिया, पखाला, कुपोषण हुन नदिन खाइने

डक्सिसाइक्लिन – स्क्रब टाइफस संक्रमण, श्वासप्रश्वासमा समस्या र महिलाको तल्लो पेट दुख्दा

रिसपेरिडोन – मानसिक रोगमा प्रयोग गरिने

पिसिभी खोप – निमोनिया

र्‍यानिटिडाइन – ग्यास्ट्रिकको समस्या हुँदा

प्यारिडोक्सिन – टिबीका बिरामीलाई भिटामिन

फ्लुजेटिन – डिप्रेसन

सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आदिमा

एड्रेनालिन – एलर्जी, एनाफाइलाक्सिस (रियाक्सन)

अल्बेन्डाजोल – जुका

एमिट्रिप्टिलिन – एन्जाइटी, डिप्रेसन, न्युरोप्याथिक पेन, माइग्रेनलगायत हुँदा

एमोक्सिसिलिन – घाँटीको संक्रमण, निमोनिया, पिनास

एम्पिसिलिन – घाँटीको संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण र बच्चामा हुने संक्रमणमा

आर्टेसुनेट – कडा मलेरियाले बेहोस हुँदा

एट्रोपिन – अर्गानोफस्फोरस पोइजनिङ

एजिथ्रोमाइसिन – यौनजन्य र घाँटीको संक्रमण, छाला, पिनास, कान पाकेमा, श्वासप्रश्वासमा संक्रमण, स्क्रब टाइफस, हैजा आदि हुँदा

कालामिन लोसन – चिलाउँदा तथा ठेउला आउँदा

क्याल्सियम ग्लुकोनेट – बर्थिङ सेन्टरमा प्रयोग हुने, अचेत भएका बिरामीलाई आकस्मिक रूपमा सेवा गराउने

कार्बामाजिपिन – छारेरोग, न्युरोप्याथिक पेन, माइग्रेनमा

सेट्रिजिन – एलर्जी तथा छालाको समस्या

चारकोल एक्टिभेटेड – विषादी खाएका बिरामीमा प्रयोग

क्लोरहेक्सिडिन – मुख संक्रमण, शिशुको नाभीमा लगाउने मल्हम

क्लोक्विन – मलेरिया, बाथ हुँदा

क्लोट्रिमाजोल – छालाको संक्रमण, योनी संक्रमण तथा फंगल इन्फेक्सन भए

क्लोब बयल – दाँत दुख्दा

क्लोक्सासिलिन – छालाको संक्रमणमा

पिल्स – परिवार नियोजनको साधन

कोट्रिमोक्साजोल – छाला, घाँटी, पिसाब संक्रमण भए

एमडिटी कम्बिप्याक – कुष्ठरोग

डेक्सट्रोज – ग्लुकोज

डाइजेपाम – छारेरोग, ब्याकपेन, निद्रा नलागे, एन्जाइटी आदि हुँदा

डाइक्लोफिन्याक – अत्यधिक दुखाइ, बाथरोग, जोर्नी र ब्याक पेन

एफआइपिभी खोप – पोलीयो विरुद्ध

फ्लुकोनाजोल – योनिमा संक्रमण, छालामा संक्रमण, तल्लो पेट दुखेमा

फोलिक एसिड – गर्भावस्थाका महिलालाई दिइने

जेन्सन भायोलेट – पोलेको, चोटपटक, टाउकोमा संक्रमण

एचपिभी खोप – ह्युमन प्यापिलोमा भाइरस

एचआरजेटई – क्षयरोग

हायोसिन ब्युटोब्रोमाइड – वाकवाकी, दुखाइ, पेट दुखाइ

आइब्रुप्रोफेन – जोर्नी र मांसपेशी दुखाइ

लेभोनरजेस्ट्रेल – परिवार नियोजन, गर्भनिरोधक चक्की

लिग्नोकाइन – दुखाइ कम गर्ने

लिग्नोसाइन विथ एड्रेनालिन – दाँत निकाल्न प्रयोग हुने एनेस्थेसिया

मिजल्स रुबेला खोप – मिजल्स रुबेला

मेड्रग्सिप्रोजेस्ट्रोन – परिवार नियोजन

मेटोक्लोप्रोमाइड – वाकवाकी, बान्ता

मेट्रोनिडाजोल – आउँ तथा मासी हुँदा

मिफेप्रिस्टोन – गर्भपतनमा

मिजोप्रोस्टल – उच्च रक्तस्राव

नियमाइसिन – छालामा संक्रमण भए

ओरल पोलियो खोप – पोलियोविरुद्ध

अक्सिमेटाजोलिन – नाक बन्द हुँदा वा रगत बगेमा

अक्सिटोसिन – रक्तस्राव रोक्न

पेन्टाभ्यालेन्ट खोप – डिप्थेरिया, इन्फ्लुइन्जा बी, टिटानस

पर्मेथ्रिन – लुतोमा

फेनिरमिन – एलर्जिक रिक्याक्सन

फेनोबार्बिटल – छारेरोग

पोभिडिन आयोडिन – छाला तथा घाउ निसंक्रमण, घाउ सफा गर्ने

प्रालिडोक्सिम सोडिएम – पोइजनिङ

प्रिमाक्विन – मलेरिया हुँदा

रिंगर ल्याक्टेट – रक्तस्राव, झाडापखालामा

रोटाभाइरस खोप – रोटाभाइरस खोप

सिल्भर सल्फाडियाजिन – पोलेकोलगायत घाउमा लगाउने मलम

टिटानस डिप्थेरिया – टिटानस विरुद्ध

टिटानस टक्साइड – टिटानस विरुद्ध

टेट्रासाइक्लिन – आँखाको संक्रमण हुँदा प्रयोग गरिने

टिनिडाजोल – आउँ तथा रक्तमासी हुँदा प्रयोग गरिने

सोडियम भाल्पोरेट – छारेरोगमा

जेन्टामाइसिन - नवजात शिशुमा हुने संक्रमण तथा निमोनिया

एन्टासिट - ग्यास्ट्रिक, पेट पोल्दा

फुरोसेमाइड - हर्ट फेलियर, मिर्गौलामा समस्या हुँदा

एम्लोडिपिन - उक्त रक्तचाप

लोसार्टान - उच्च रक्तचाप

निफेडिपिन - उच्च रक्तचाप

बिसिजी खोप - क्षयरोगविरुद्ध

एस्पिरिन - शरीर दुख्दा, टाउको दुख्दा, माइग्रेन

बेन्जाथिन बेन्जाइलपेनिसिलिन - बाथ तथा मुटुरोग भएमा

सेफ्ट्रियाकजोन - कडा इन्फेक्सन हुँदा,  टाइफाइड र निमोनिया

आर्टिमिसिमिन - मलेरियाको समस्या हुँदा

सेफिक्सिम - मिर्गौला, पिसाब, घाँटी र फोक्सोमा संक्रमण हुँदा

सिप्राफ्लोक्सासिन - पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आएको समयमा प्रयोग गरिने

नाइट्रोफ्युरानटिन - पिसाब तथा अन्य संक्रमणमा

डेक्सामेथासोन - दम र एलर्जी जस्ता समस्या देखिदा

आइरन ट्याब्लेट - गर्भवती र रक्तअल्पता भएकालाई प्रयोग गरिने

म्याग्नेसियम सल्फेट - गर्भवती महिलामा उच्च रक्तचाप हुँदा

मेथाइल्डोपा - गर्भावस्थामा हुने रक्तचापको बेलामा प्रयोग गर्ने

ग्लिमिपिराइड - मधुमेहका बिरामी

मेटफर्मिन - मधुमेहका बिरामी

हाइड्रोकर्टिसोन - दम, एलर्जी, आनाफाइलाक्सिस रियाक्सन

साल्बुटामोल - दम

अक्सिजन - दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई

प्रेड्निसोलोन - दम, एलर्जी, बाथ हुँदा

जापानिज इन्सेफ्लाइटिस – बच्चालाई दिने खोप

ओआरएस - झाडापखाला लाग्दा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.