‘विष्णुमतीमा पनि सौन्दर्यीकरण गर्दै छौँ’

|

काठमाडौं : बाग्मती किनारको सौन्दर्यीकरण(ब्युटिफिकेशन) गर्न सुरू भएको ७ वर्षपछि बाग्मती किनार साँच्चिकै सुन्दर भएकाे छ। यतिखेर उक्त किनारमा भएको सौन्दर्यीकरणले पर्यटक तथा सर्वसाधारणहरूको मन लोभ्याएको छ।

हरियाली रूख, चिरिच्याट्ट परेको पैदलमार्गमा अहिले टिकटक र तस्वीर खिच्नेहरूको भीड लाग्ने गरेको छ। शान्त वातावरणमा बस्ने र पढ्नेहरूको पनि उत्तिकै लहर छ। बुधबार त्यहाँ भेटिएकी सुशीला महर्जनले त्यहाँको हरियालीले मनै लोभ्याएको बताइन्।

उनी भन्छिन्, ‘पहिला झाडीले कुरूप देखिन्थ्यो, अहिले त हरियाली छ, साह्रै राम्रो देखिएको छ। यस्तो दृश्यले जो कोहीको मन लोभ्याइहाल्छ नी!‚’ उनका अनुसार पछिल्लो समय बस्तीले खाली क्षेत्रहरू पनि मासिँदै गएको छ।

त्यही भएर पनि मानिसहरू त्यस्ता ठाउँहरूमा बस्न रुचाउँछन्। उनले यस्ता पार्क, संरचना निर्माण अन्य ठाउँहरूमा पनि बनाउँदै जानुपर्ने बताइन्।

सोही ठाउँमा भेटिएका नारायणटारका सञ्जय अधिकारीले सधैं बिहान उक्त क्षेत्रमा मर्निङ वाकमा आउने गरेको सुनाए। ‘अहिले यो ठाउँ राम्रो बनाएको छ, म सधैं यहीं बिहान मर्निङ वाक आउँछु, हरियाली छ, बस्ने ठाउँ छन्, मलाई त एकदम आनन्द हुन्छ,’ उनले हाँस्दै थाहाखबरसँग भने।

सौन्दर्यीकरण(ब्युटिफिकेशन) को लागि ०७३ मंसिर १ गते अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र कालिका–रमन–लामा संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताअनुसार ०७५ माघ १८ गतेसम्म सबै काम सम्पन्न गर्नुपर्ने थियो तर उक्त समयमा सकिएन। बीचमा काम नै ठप्प भएको थियो। काम भइरहँदा ०७७ मंसिर/पुसमा स्थानीयले मुआब्जा माग गर्दै निर्माण भइसकेका संरचना नै भत्काए। अन्य संरचना पनि लथालिङ्ग भए।

विकास समितिका अनुसार ०७७ पुसमा म्याद थपमा पनि काम गर्ने वातावरण नमिलेपछि ठेकेदारले ठेक्का रद्द गर्न माग गर्दै बाग्मती सभ्यता एकीकृत विकास समितिलाई पत्र पठाएको थियो।

झारजंगलले संरचना कुरूप बनेपछि अधिकांशले सरकारी काम यस्तै हो अब यो बन्दैन भन्ने अड्कल गर्थे। अन्ततः धेरै समयको अन्तरालपछि उक्त सौन्दर्यीकरण भएको हो। सम्झौताअनुसार बागमतीको सिनामंगलदेखि गोकर्ण ब्यारेकसम्म खोला वरपर १४ किलोमिटरमा सौन्दर्यीकरण गरिएको छ।

ब्युटिफिकेशनको डिजाइनअनुसार खोलाका दुवैतर्फ पर्खाल लगाउने, ११ वटा बाँध निर्माण गर्ने, फुटपाथसहित साइकल ट्रयाक र २ वटा शौचालयलगायत संरचना निर्माण गर्नुपर्नेछ। ती संरचनाहरु निर्माण भइसकेको छ। अहिले एउटा मोटरेबल पुल भने बन्दै छ। 

ढलले निम्तियाे समस्या

बाग्मती करिडोर निकै सुन्दर बने पनि ढलले भने समस्या निम्त्याएकाे छ । ढल सफा र स्वच्छ नभएका कारण दुर्गन्ध फैलिने गरेको छ।

‘अब करिडोर राम्रो बनाए जस्तै ढल पनि स्वच्छ बनाउन पर्‍याे, यसका लागि राज्यले योजना ल्याउनुपर्छ, राज्यले यो ढललाई व्यवस्थित गर्न सके झनै सौन्दर्य थपिने थियो,’ महर्जनले भनिन्।

उक्त खोलामा कञ्चन पानी बगाउने सरकारको योजना नभएको भने होइन। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बेला-बेला बाग्मती सरसरफाई अभियान चलाइरहेको छ। यसमा ठूलो रकम खर्चेको छ राज्यले तर सोचेअनुरूप परिणाम भने अझै देखिएको छैन।

 ‘बाग्मतीमा जस्तै विष्णुमतीमा पनि सौन्दर्यीकरण गर्दै छौँ’

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियाले बागमतीमा जस्तै अर्को नदी विष्णुमतीमा पनि सौन्दर्यीकरण गर्ने योजना रहेको जानकारी दिए।

‘लामो समयपछि बाग्मती ब्युटिफिकेसनको काम भयो, राम्रो बनेकोले धेरै मान्छेहरू उक्त कामको प्रशंसा गरेका छन्। यसैगरी विष्णुमतीमा पनि बनाउने हाम्रो योजना छ,’ उनले भने। उनले नदीलाई ढलरहित पनि बनाउने बताए। ‘हामीले पूजापाठ, कर्मकाण्ड गर्ने संरचना पनि बनाएका छौँ,’ उनले भने।

(याे पनि)




तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.